Published On:Friday, May 1, 2015
Posted by dadad

सर्वोच्च अदालतले अस्थायी संरचना तयार गरी काम सुरु गर्ने

काठमाडौँ, १९ वैशाख । विनाशकारी भूकम्पका कारण सर्वोच्च अदालतको भवन चिराचिरा परी कार्यसम्पादन गर्न नमिल्ने भएकाले नयाँ अस्थायी संरचना तयार गरेर काम गर्ने भएको छ ।

सिंहदरबारस्थित नेपाल आर्मीको क्यावलरी (घोडा बाध्ने तबेला) लाई जतिसक्दो चाडो खाली गरी सो स्थानमा सर्वोच्च अदालतको अस्थायी संरचना बनाएर इजलास बनाई मुद्दा र सुनुवाइको काम सुरु गर्ने विषयमा शुक्रबार छलफल भएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, अर्थमन्त्री रामशरण महत, सहरी विकास मन्त्री डा नारायण खड्का, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, मुख्य सचिव लीलामणि पौड्यालबीच भएको छलफलपछि तत्काल अस्थायी संरचना बनाएर काम सुचारु गर्ने विषयमा सहमति भएको हो ।

सर्वोच्चको मुख्य भवनमा तीन चिरा परेको हुनाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर यही वैशाख २५ गतेसम्म प्रशासनिक कामकारबाही गरे पनि मुद्दा र सुनुवाइको काम गर्न स्थगित भएको सह प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

सुरुमा अस्थायी संरचना तयार गरी काम सुरु गर्ने र पछि स्थायीरुपमा भवन बनाउका लागि बजेट र वातावरण मिलाउन सरकारले पूर्ण सहयोग गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

आइतबारदेखि उपत्यकाका अदालत र जिल्ला अदालतहरु नियमितरुपमा सञ्चालनमा आउने छन् । रासस

0 comments for "सर्वोच्च अदालतले अस्थायी संरचना तयार गरी काम सुरु गर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive