Published On:Tuesday, December 9, 2014
Posted by dadad
सूचना माग्दा चौबिस घण्टा थुनामा !
२४ मंसिर,पर्सा । पर्सा गम्हरियाका एक युवक सरकारी कार्यालयमा सूचना माग्न जाँदा २४ घन्टा प्रहरी हिरासतमा बस्नु परेको घटना उजागर भएको छ ।
मुलुकमा ७ वर्ष देखि सूचनाको हक सम्बन्धि ऐन २०६४ लागू भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण सर्राफ शुक्रबार निवेदन सहित कृषि कार्यालयमा सूचना माग्न गएका थिए ।
कार्यालयमा सूचना अधिकारीलाई सम्बोधन गरिएको व्यहोरा सहित १० रुपैयाँको टिकट टाँसेर उनले गत आर्थिक वर्ष कार्यालयमा आएको बजेट कुन गाविसमा कति खर्च भएको जानकारी माग गरेको बताए ।
‘सूचना अधिकारी नभेटिएपछि कार्यालय प्रमुख दिनेश राय यादवको कार्यकक्षमा पुगे,’ सर्राफले भने । उनले प्रमुखलाई निवेदन दर्ताका लागि तोक लगाइदिन आग्रह गरे ।
‘सूचना अधिकारीलाई सम्बोधन गरिएको पत्रमा हाकिमले तोक लगाउन नमिल्ने, बजेटबारे थाहा पाएर के गर्छौ लगायतका अनेक बहाना बनाउँदै हाकिमले तोक लगाउन नमानेपछि के कारणले तोक लगाउन नमिल्ने लिखितमा मागेपछि उनी म माथि जंगिए,’ उनले सुनाए ।
केहीबेर अपशब्द प्रयोग गरेपछि बाहिर बस्न भने । केही बेरमा कार्यालयमा आएको प्रहरीको ‘टाइगर’ टोलीले गाली गर्दै जिल्ला प्रहरीको थुनुवा कोठामा पुर्याए ।
‘मोबाइलबाट घरपरिवारमा फोन गर्न खोज्दा अफ गरी पकेटमा हाले,’ ४ दिन अघिको घटना सुनाउँदै सर्राफले भने, ‘सूचना मागेर ठूलै गल्ती पो गरेको छु जस्तो लाग्न थाल्यो ।’ राति करिब १० बजे डीएसपीले आएर मापसे चेकजाँचका लागि पठाउन आदेश दिए ।
‘नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले मापसे सेवन नगरेको जनाएपछि मलाई पुनः थुनुवा कोठामा राखियो,’ उनले भने, ‘भोलिपल्ट २ बजेतिर अभिभावक बोलाएर जिम्मा लगाए ।’
रिहा गर्ने बेलामा प्रहरीले नेपाली कागजमा हस्ताक्षर गर्न आदेश दिएपछि कागजमा के लेखिएको छ भनेर पढ्न खोज्दा अपशब्द प्रयोग गरे ।



