Published On:Thursday, February 5, 2015
Posted by Unknown

भागबन्डाका आधारमा १७ जना सहसचिव सचिवमा बढुवा


२३ माघ, काठमाण्डौ,- सरकारले कांग्रेस र एमालेबीच भागबन्डाका आधारमा १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरिष्ठताका आधारमा बढुवा भएका तीन, मधेसी कोटाबाट एक र लेखा परीक्षण सेवाबाट बढुवा भएका एकजनाबाहेक अन्यमा राजनीतिक भागबन्डा गरेको हो।

वरिष्ठताका आधारमा सचिवमा बढुवा भएका तीनजनामा सुरेशप्रकाश आचार्य, शरदराज बिष्ट र गजेन्द्रकुमार ठाकुर छन्।
आचार्य भवन इन्जिनियर हुन्। विविध सेवाअन्तर्गत दरबार सेवाबाट निजामती सेवामा आएका बिष्ट पनि इन्जिनियर हुन्। अर्का ठाकुर पनि खानेपानीका इन्जिनियर हुन्।
यसबाहेक कांग्रेसको सिफारिसमा पाँच र एमालेको सिफारिसमा सातजनाको बढुवा भएको छ। स्रोतका अनुसार कांग्रेसको सिफारिसमा सुनीलबहादुर मल्ल, ईश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा, खुमराज पुंजाली र श्रीधर सापकोटा सचिव बनेका छन्।
सापकोटाबाहेक अन्य चारैजनालाई सरकारले यसअघि नै कामु सचिवको जिम्मेवारी दिएको थियो। सरकारले मल्ललाई सूचना तथा सञ्चार मन्त्रालय, शर्मालाई राष्ट्रिय सतर्कता केन्द्र र पुंजालीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सचिव बनाएको छ।
सापकोटा भने कानुन सेवाबाट बढुवा भएका हुन्। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता थिए। लोकसेवा आयोगले बढुवा सिफारिस गरेपछि उनी अख्तियारबाट सरुवा भएर कानुन मन्त्रालय आएका थिए।




एमाले सिफारिसमा लक्ष्मणप्रसाद मैनाली, रामकुमार आचार्य, राजन खनाल, नवराज भण्डारी, दिनेशकुमार थपलिया, टंकमणि शर्मा र प्रेमकुमार राई बढुवा भए। मैनाली र आचार्य कानुन सेवाका हुन्।
आचार्य नाताले एमाले वरिष्ठ नेता माधव नेपालका साला हुन्। प्रशासन सेवाका खनाल र भण्डारी दुवै अर्थ मन्त्रालयका अनुभवी हुन्।
थपलिया, शर्मा र राईलाई भने यसअघि नै सरकारले कावा सचिव (विशिष्ट श्रेणी) को जिम्मेवारी दिएको थियो।
थपलिया पश्चिमाञ्चल क्षेत्रीय प्रशासक, शर्मा सार्वजनिक खरिद अनुगमन कार्यालय र राई अख्तियारका कावा सचिव थिए। यी तीनैजनालाई उनीहरू कार्यरत कार्यालयमा पदास्थापन गरिएको छ।
मधेसी कोटाबाट विजयकुमार मल्लिक र लेखा परीक्षण सेवाबाट ईश्वरराज श्रेष्ठ बढुवा भएका छन्। श्रेष्ठलाई महालेखा परीक्षकको कार्यालयको सचिवमा पदस्थापन गरिएको छ।
यसअघि कार्यवाहक सचिव बनेका बाहेक अन्य बढुवालाई भने मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको छ।
कावा सचिव भएर बढुवा सिफारिसमा परेका शंकर कोइरालाको भने सचिवमा बढुवा हुन सकेन।
राजीतिक भागबन्डा नमिल्दा उनको बढुवा हुन नसकेको स्रोतको दाबी छ।
यसअघि परराष्ट्र मन्त्रालयमा कावा सचिव बनाइएका शंकर बैरागी र रक्षा मन्त्रालयमा कावा सचिव बनाइएका देवेन्द्र सिटौला भने कनिष्टताका कारण सचिव बढुवाको सिफारिसमा परेका थिएनन्। अन्नपुर्ण पाेस्ट दैनिकमा समाचार छ ।


0 comments for "भागबन्डाका आधारमा १७ जना सहसचिव सचिवमा बढुवा"

Leave a reply

    Popular Posts

    Blog Archive