Published On:Thursday, February 12, 2015
Posted by Tekman Shakya

भ्यालेन्टाईनका लागि ४० लाख रुपैयाँको रातो गुलाफ

२९ माघ, ललितपुर । आउँदो प्रणय दिवसका लागि करिब ४० लाख रुपैयाँको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ ।  ‘फ्लोरीकल्चर एसोसिएसन’ का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो ।

गत वर्ष यो दिवसमा एक लाख ५० हजार वटा गुलाफ खपत भएको थियो । अध्यक्ष गैरेका अनुसार गत वर्षको तुलनामा फूलको आयात कम भए पनि मूल्य भने बढेको छ ।  आयात गर्दा प्रति फूलको गत वर्षकोभन्दा १० रुपैयाँ मूल्य बढी तिरेको व्यवसायीले बताएकाछन् । उपभोक्ताले प्रति फूलको रु १०० सम्म तिर्नुपर्छ । 

अघिल्लो वर्ष प्रति फूलको मूल्य रु ७० थियो । भित्र्याइएको रातो गुलाफ ९५ प्रतिशत राजधानीमै खपत हुन्छ । पाँच प्रतिशत मात्र बाहिरिने एसोसिएसनले जनाएको छ । 

एसोसिएसनका अनुसार हरेक वर्ष यो फूलको माग बढे पनि नेपालमा उत्पादन कम छ । राजधानी तथा नुवाकोट, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा रातो गुलाफ उत्पादन हुन्छ । दिनप्रतिदिन प्रणय दिवसको महत्वसँगै रातो गुलाफको माग र मूल्य पनि बढ्दै गएको छ ।

हरेक वर्ष प्रणय दिवस फेब्रुअरी १४ तारिखमा मनाइन्छ । मायाको प्रतीकका रूपमा यो फूल उपहारका रूपमा आदानप्रदान गर्ने गरिन्छ । रासस 

0 comments for "भ्यालेन्टाईनका लागि ४० लाख रुपैयाँको रातो गुलाफ "

Leave a reply

    Popular Posts

    Blog Archive