Published On:Tuesday, February 10, 2015
Posted by dadad
दार्चुलामा दुई हजार तीन सय अपाङ्ग बालबालिका
२८ माघ, दार्चुला । दार्चुलामा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या दुई हजार ३ सय रहेको छ । जिल्ला बालकल्याण समिति दार्चुलाले प्रकाशन गरेको बालबालिकाको स्थिति नामक प्रतिवेदनले २ हजार भन्दा बढि बालबालिका अपाङग रहेको तथ्याङ्क देखाएको हो ।
तीमध्ये अपाङ्गता भएका बालिकाको सङ्ख्या एक हजार १ सय ८४ तथा बालकको सङ्ख्या एक हजार १ सय १६ रहेको छ । विभिन्न शारीरिक अपाङ्गता, दृष्टिविहीन, मानसिक अपाङ्गता भएका २४ बालिका तथा २८ बालक गरी ५२ जनालाई यस वर्ष अपाङ्गता परिचयपत्र वितरण गरिएको जिल्ला बालकल्याण अधिकृत मनोरथ जोशीले बताए ।
उनका अनुसार मध्यमखाले अपाङ्गता भएका अर्थात् पहेँलो रङ्गको परिचयपत्र २९ जना बालबालिकाले प्राप्त गरेका छन् । पूर्ण अशक्त नौ जना, अति अशक्त नौ जना र सामान्य अपाङ्गता भएका पाँच जनाले यो वर्ष परिचयपत्र लिइसकेको जोशीको भनाइ थियो ।
यसैगरी प्रतिवेदनले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाको सङ्ख्या ९०९ जना रहेको देखाएको छ ।


