Published On:Sunday, February 8, 2015
Posted by dadad
सदस्यता विवादले जाजरकोट काँग्रेसमा फुट
२५ माघ, जाजरकोट । क्रियाशील सदस्यता वितरणको विवादले जाजरकोट काँग्रेसमा फुट देखिएको छ ।
सदस्यता वितरणमा एकपक्षीय भएर काम गरेको भन्दै पूर्व सभापति झलकनाथ वाग्ले, सनतकुमार कार्की तथा सभासद् राजीवविक्रम शाहलगायतका नेताहरुले असन्तुष्टि जनाएपछि विवाद चुलिएको हो ।
पार्टीको विधानअनुसार सदस्यता वितरण नगरेर सभापति दीपकजङ्ग शाह र उनी पक्षका नेताहरुले एकपक्षीय रुपमा सदस्यता फाराम भराउने गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । बाह्रौँ महाधिवेशनका बेला पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भएर विभाजित भएका काँग्रेसी नेताहरु अहिले भने व्यक्तिगत समूह बनाएर विभाजित भएका छन् ।
क्रियाशील सदस्यता वितरणमा सभापति दीपकजङ्ग शाहले विधान विपरीत काम गरेको भन्दै असन्तुष्टहरुले केन्द्रीय कार्यसमितिमा समेत उजुरी दिएको बताएका छन् ।
क्रियाशील सदस्यता आफ्ना पक्षकालाई मात्र भराउने, पार्टीमा लामो समय त्याग र बलिदान गरेकालाई पूर्वाग्रहका आधारमा फाराम भर्न नदिने र एकलौटी ढङ्गले पार्टी चलाउने काम गरेकाले शाहका विरुद्धमा केन्द्रमा उजुरी दिनुपरेको काँग्रेस खलङ्गा गाउँ कार्यसमितिका सभापति रामजङ्ग शाहले बताए ।



