Published On:Sunday, December 7, 2014
Posted by dadad
प्रश्नपत्र बेच्ने गोल्डेनगेट कलेजका निर्देशक आयोगको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा
मन्त्रालयले सञ्चालन गरेको एमबिबिएसअन्तर्गतको छात्रवृत्ति परीक्षाको
प्रश्नपत्र आउट गरेको अभियोगमा गोल्डेन गेट कलेजका निर्देशक र शिक्षक
पक्राउ गरेको छ ।
आयोगका अनुसार आज सञ्चालन गरिएको एमबिबिएसको प्रश्नपत्र खण्ड ‘क’ र ‘ख’को
१०÷१० पाना विभिन्न परीक्षार्थीलाई दिलाइदिन्छु भन्दै रकम उठाएको सूचनाको
आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गोल्डेनगेट इन्टरनेसनल कलेजका
निर्देशक देवीराम पाण्डे र शिक्षक प्रभातकुमार कुशवाहले नौ जना
विद्यार्थीबाट रु १० लाख लिएको खुल्न आएको छ ।
आयोगले उनीहरुले प्रश्नपत्र दिँदै गर्दा रातोपुलबाट रङ्गेहात नै पक्राउ
गरेको हो । यस्तै सोही कार्यमा संलग्न सोही कलेजका शिक्षक खेचरलाल सापकोटा,
मध्यस्तकर्ता महेश्वरप्रसाद यादवसमेत सात जनालाई समेत आयोगले आजै पक्राउ
गरेको छ ।
काठमाडौँका विभिन्न केन्द्रमा आज एमबिबिएसको परीक्षा सञ्चालन
हुनु अगावै प्रश्नपत्र बाहिरिएको थियो । विद्यार्थीसँग रकम लेनदेन भएको
सूचना आएपछि आयोगले विगत केही दिनदेखि नै सुक्ष्म अनुसन्धान गर्दै आएको
थियो ।
चिकित्सा क्षेत्र अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा मन्त्रालयले
छात्रवृत्ति प्रदान गर्ने ध्येयका साथ परीक्षा सञ्चालन गरेको हो । पक्राउ
परेका सबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको आयोगले जनाएको छ । रासस



