Published On:Tuesday, May 12, 2015
Posted by dadad
भूकम्पको म्याग्निचुय्ड र शक्ति भिन्न कुरा हुन्
यही वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले पुर्याएको धनजनको क्षतिका थप विवरण आइरहेको बेला वैशाख २९ मा फेरि अर्को ६.८ रेक्टर स्केलको पराकम्पन आएको छ।
भकम्पका कारण प्राचीन सम्पदाहरू नष्ट भए। हजारौंको संख्यामा मानिसको मृत्यु हुनु यो विपत्तिको सबैभन्दा त्रासदीपूर्ण पक्ष रह्यो। राहतका काममा सरकार प्रति नैराश्यता देखिए पनि उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक र आमनागरिकले पुर्याएको योगदान को भने उच्च मुल्याङ्कन गर्नैपर्छ।
त्यस्तै सहयोगका लागि हात बढाउने विदेशी राष्ट्र, संघ -संस्था तथा ब्यक्तिहरू पनि प्रसंशाका पात्र छन्।
अहिलेसम्म प्रकाशित विवरण अनुसार कारिब ४ लाख घरहरू आंशिक र पूर्ण रूपमा क्षतिग्रस्त भए। अब पुन:निर्माण चुनौतिपूर्ण छ। तर अहिलेलाई जनजीवन र खासगरी यो भूकम्पबाट खासै प्रभावित नभएकाहरुको जनजीवन सामान्य हुन जरूरी छ।
यसमा लगातार आइरहेका पराकम्पन ठूलै तगारो भएको महशुष हुन्छ।
वैशाख २९ गते मध्यान्ह १२:५० बजे पनि सिन्धुपाल्चोक र दोलखा केन्द्र भई ६.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस्तै आजै ६.२ र अर्को ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सम्ममा चार रेक्टर स्केलभन्दा माथिका झन्डै २०० वटा भूकम्प गएका थिए।
पहिलो भूकम्प ठूलो magnitude को आएको हुनाले स-साना धक्का महिनौसम्म जान सक्छन्। एक किसिमले यो राम्रै पनि हो किनकि यसले ठूलो भूकम्प जानका लागि शक्ती सन्चय हुन दिँदैन।
तर यी पराकम्पनले पनि हामीलाई डराउन छोडेको छैन जुन यति ठूलो त्रासदी पछि स्वभाविक पनि हो। भूकम्पको magnitude मापन गर्ने स्केल logarithmic हुन्छ। यो magnitude स्केलले खासमा सेइस्मोग्राम (Seismogram) मा भूकिम्पीय तरङ्गको amplitude मापन गर्दछ। स्केलको logarithmic प्रकृतिका कारण ४ रेक्टर स्केल भन्दा ७ रेक्टर स्केल वास्तवमा कती ठूलो हुन्छ भनेर झट्ट भन्न सकिँदैन।
यो चार किलोग्राम चामलमा ३ किलोग्राम थपेर ७ किलोग्राम बनाए जस्तो सिधा हुँदैन। यो जानकारी नभएर पनि यो त्रासको अवस्था रहन गएको हो जस्तो लाग्छ। त्यस्तै भूकम्पको magnitude र क्षति पुर्याउन सक्ने शक्ती (Energy) पनि अलग अलग कुरा हुन्।
त्यसैले भूकम्प मापन बारे जानकारी नहुने पाठकहरुलाई लक्ष्य गरी यस बारे केही तुलनात्मक उदाहरण हरु राखेको छु।
पहिलो पटक गएको ७.८ रेक्टर स्केलको भूकम्पमा ४.५ रेक्टर स्केलको पाराकम्पन भन्दा सेइस्मोग्राम (Seismogram) मा १९९५ गुना ठूलो हुन्छ र यसको शक्ती (क्षति पुर्याउन सक्ने क्षमता) ८९१२५ गुना बढी हुन्छ।
त्यस्तै पाराकम्पन मध्येको ठूलो ६.९ रेक्टर स्केलको भूकम्प ४.५ रेक्टर स्केलको को भन्दा सेइस्मोग्राम मा २५१ गुना ठूलो हुन्छ र यस्को शक्ति (क्षति पुर्याउन सक्ने क्षमता) ३९८१ गुना बढी हुन्छ।
७.८ रेक्टर स्केल र ४.५ रेक्टर स्केलमा ३.५ को मात्र magnitude मा फरक भए पनि तिनीहरूको क्षति पुर्याउने शक्तीमा भने हजारौं गुणाको फरक हुन्छ। त्यसैले ७.८ र ६.९ रेक्टर स्केलको भूकम्पले क्षति नपुगेका घरहरूमा ४.५ रेक्टर स्केलले क्षति पुर्याउने सम्भावना रहँदैन भन्न सकिन्छ। कति रेक्टरको आयो मात्रै भन्नुभन्दा त्यसको शक्तिबारे पनि सोचियो भने आफ्नो दैनिकी सामान्य बनाउन र यो त्रासदीबाट निस्कन केही सहज होला। @setopati


