Published On:Monday, February 9, 2015
Posted by Unknown

राष्ट्रिय महिला क्रिकेट : वीरगन्ज र एपिएफ विजयी


२६ माघ, काठमाण्डौ- राजधानीमा सोमबारबाट सुरु भएको राष्ट्रिय महिला क्रिकेटमा वीरगन्ज र नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्। 
 
कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नम्बर २ वीरगन्जले क्षेत्र नम्बर ८ पोखरालाई दुई विकेटले पराजित गर्‍यो। पोखराले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो। पोखराका लागि तृष्णा देवकोटा र ममता पाण्डेले ३०/३० रन बनाएका थिए भने अतिरिक्तबाट पोखराले ३२ रन पाएको थियो। 
 
१ सय ४१ रनको विजयी लक्ष्य वीरगन्जले ३२.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो। वीरगन्जका लागि ममता चौलागाईंले सर्वाधिक २० रन बनाएकी थिइन्। अतिरिक्तबाट पाएको ५३ रन वीरगन्जको जितमा महत्ववपूर्ण बन्यो। वीरगन्जका लागि अविजित ७ रन जोड्नुका साथै तीन विकेटसमेत लिएकी पूजा गिरी प्लेयर अफ द म्याच भइन्। 
 
यसैगरी पुुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा नेपाल एपिएफ क्लबले क्षेत्र नम्बर ४ भैरहवामाथि १ सय ७५ रनको विशाल जित हात पार्‍यो। पहिले ब्याटिङ गरेको एपिएफले मधु थापाको उत्कृष्ट ब्याटिङको मद्दतले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको थियो। प्लेयर अफ द म्याच  थापाले ८५ बल खेल्दै १४ चौका प्रहार गरेकी थिइन्। एपिएफका लागि ऋतु कनौजियाले अविजित ४२ र सीता रानामगरले ३९ रन बनाएकी थिइन्।
 
२ सय ८० रनको चुनौती पछ्याएको भैरहवाले ३०.३ ओभरमा अलआउट हुँदै १ सय ४ रन मात्र बनाउन सक्यो। इन्दु बर्माले ४२, कीर्ति सेनले १५ र मेलिना थापाले १४ रन बनाइन् भने अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 
 
भोलिको खेल 
क्षेत्र नम्बर २ वीरगन्जविरुद्ध नेपाल एपिएफ क्लब – इन्जिनियरिङ कलेजको मैदान, पुल्चोक, बिहान साढे ९ बजे
क्षेत्र नम्बर ४ भैरहवाविरुद्ध क्षेत्र नम्बर ६ बैतडी – त्रिवि मैदान, कीर्तिपुर, बिहान साढे ९ बजे। @setopati
 

0 comments for "राष्ट्रिय महिला क्रिकेट : वीरगन्ज र एपिएफ विजयी"

Leave a reply

    Popular Posts

    Blog Archive