Published On:Monday, February 9, 2015
Posted by Unknown
अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलको तयारी गर्न व्यवस्थापिका–संसद्, विकास समितिको निर्देशन
२६ माघ, काठमाण्डौ- व्यवस्थापिका–संसद्, विकास समितिको सोमबारको बैठकले क्रिकेटको विकास तथा
मूलपानीलगायत क्षेत्रमा निर्माण हुन लागेका खेल मैदानलाई
अन्तर्राष्ट्रियस्तरको बनाउने निर्माणका कार्यलाई तदारुकता साथ अघि बढाउन
सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ।
युवा तथा खेलकुद र अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल
क्रिकेट सङ्घका पदाधिकारीको उपस्थिति रहेको बैठकले नेपालको क्रिकेट खेलमा
डिभिजन दुईबाट डिभिजन एकमा स्तरोन्नति भएको र निकट भविष्यमा नेपालमा
अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्नुपर्ने भएकाले त्यसका लागि खेल
मैदान तयारी हालतमा राख्नुपर्नेबारे छलफल भएको थियो।
समितिले सो कार्यका सम्बन्धमा सहजताका साथ बजेट निकासा गराउन र प्राप्त
बजेटअनुसार खर्च गर्ने क्षमता विकास गरी मर्मतनिर्माणका कार्यमा तदारुकता
ल्याउन ती मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले क्रिकेट खेलको विकासका लागि
राजधानीलगायत नेपालका अन्य महत्वपूर्ण स्थानमा सुविधायुक्त खेल मैदान विकास
गर्नका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न खेलकुद मन्त्रालयलाई
निर्देश गरे।
निकट भविष्यमा सञ्चालन गर्नुपर्ने क्रिकेटको अन्तर्राष्ट्रिय खेल
प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदान, दशरथ रङ्गशाला, कीर्तिपुर
खेलमैदान र पुल्चोक इन्जिनियरिङ क्याम्पस खेल मैदानमध्ये छोटो समयमै विकास,
मर्मत सुधार गर्न सकिने खेल मैदान चयन गरी आवश्यक निर्माण कार्यमा शीघ्रता
ल्याउन समितिले निर्देश दिएको छ। रासस


