Published On:Friday, February 6, 2015
Posted by Unknown

यसरी अलपत्र पर्‍यो तोडफोड प्रतिवेदन

२४ माघ, काठमाण्डौ,- संविधानसभा बैठकले माघ ५ गते मध्यरात एमाओवादी गठबन्धनका सभासदद्वारा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन एमाओवादी लगायत विपक्षी दलको प्रतिक्रिया कुर्दा अलपत्र परेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
 
संविधानसभामा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न माघ ७ गते संसदसचिवालयले महासचिव मनोहर प्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले एक साताअघि नै प्रतिवेदन तयार पारेपनि सार्वजनिक गर्न सकेको छैन।
 
स्रोतका अनुसार तोडफोडमा एमाओवादीका ६ र थरूहट तराई पार्टीका एक गरी सात जना सहभागी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
 
तोडफोडमा संलग्न एमाओवादी सभासदमा स्थायी समिति तथा पूर्व शान्ति तथा पुननिर्माण मन्त्री जनार्धन शर्मा, सभासदहरू उमेशकुमार यादव, शिवकुमार मण्डल, अमनलाल मोदी थारू, जानकरीकुमारी साउद रावल र दलजित विक त्रिपाली छन्। थरूहट पार्टीकी सभासद एवम् संसदको विधानसभा समितिकी सभापति गंगा चौधरी(सत्गौवा) समेत सो काण्डमा संलग्न देखिन्छ।
 
संविधानसभाका प्रवक्ता एवं छानबिन समितिका सदस्य मुकुन्द शर्माले माघ ७ गते माइक, टेबुल, कुर्सी, दुईवटा टीभी स्क्रिनलगायत भौतिक सामान तोडफोड हुँदा करिब ३० लाख रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका थिए।
 
एमाओवादी बस्नेपट्टिका ६ लहर कुर्ची, माइक, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरमको पहिलो लहरसमेत तोडफोडमा क्षति भएको थियो। 
 
संसदीय छानबिन समितिले तोडफोडबाट प्रभावित सभाध्यक्ष सुवास नेम्बाङ, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्यादेवी भण्डारीलगायतसँग आवश्यक जानकारी लिएको छ। 
 
विपक्षी दलहरूका अमर्यादित र अशोभनीय रेकर्डिङसमेत तोडफोडमा परेका क्यामेरामा रहेको दाबी स्रोतले गरेको छ। 
 
कसलाई के आरोप? 
जनार्दन शर्मा : घटनाको नेतृत्व लिएको 
जानकी कुमारी साउद (रावल) : क्यामेरा तोडफोड 
उमेश यादव र शिवकुमार मण्डल : सभाध्यक्षमाथि आक्रमण प्रयास 
दलजित विक श्रीपाली : माइक तोडफोड 
अमनलाल मोदी : रोस्ट्रममा आक्रमण 
गंगा चौधरी सत्गौवा : संविधानसभाभित्र खुर्सानी लगेको 

0 comments for "यसरी अलपत्र पर्‍यो तोडफोड प्रतिवेदन"

Leave a reply

    Popular Posts

    Blog Archive