Published On:Tuesday, February 3, 2015
Posted by dadad
‘अपाङ्ग भएर के भो, जे काम पनि गर्न सक्छु’
२० माघ, काठमाडौँ । धरान घर भई हाल बालाजु बस्ने ४० वर्षीया श्रीमान राईले सानैमा दुवै आँखा गुमाए ।
उनी दृृष्टिविहीन भए पनि हातको भरमा धागोबाट गल्बन्दीहरू बुनेर बेच्ने गर्नुहुन्छ । त्यही गल्बन्दी बेचेर नै राईले आफ्ना दुई सन्तान र श्रीमतीको लालन–पालन गरेका छन् ।
“दुवै आँखा नदेख्ने भए पनि बाँच्नै प¥यो, केही न केही काम गर्नु नै प¥यो । दृष्टिविहीन हुँदैमा केही पनि गर्न सकिँदैन भन्नु होइन, म जे काम पनि गर्न सक्छु”–राईले भने ।
त्यसैगरी चितवनका सन्दीप बुढासैनीले पनि आफू १३ वर्षको हुँदा दुवै आँखा गुमाउनुप¥यो । दुवै आँखा नभए पनि सन्दीपले गीत–सङ्गीत सिकेर अहिले विभिन्न साङ्गीतिक कार्यक्रम र दोहोरी साँझहरूमा राम्रो हार्मोनियम बजाउछन् ।
विभिन्न कार्यक्रममा हार्मोनियम बजाएर नै उनले मासिक करिब रु १६ हजार आम्दानी गर्छन् ।
यसरी दृष्टिविहीन हुँदाहुँदै वा अपाङ्गता हुँदाहुँदै विभिन्न काम गरेर स्वावलम्बी बन्ने श्रीमान र सन्दीप उदाहरण मात्र हुन् । पछिल्लो पटक शारीरिक अपाङ्गता हुँदाहुँदै धेरै अपाङ्गता भएका व्यक्तिहरू आत्मनिर्भर हँुदै अधिकारका लागि आवाज उठाउँदै आएका छन् ।
पछिल्लो जनगणनाअनुसार अपाङ्गता भएको जनसङ्ख्या पाँच लाख (१.९४ प्रतिशत) प्रतिशत रहेको छ । त्यसअन्तर्गत शारीरिक अपाङ्गता भएका व्यक्ति ३६.६ प्रतिशत र दृष्टिविहीन १८.५ प्रतिशत रहेको छ । बाँकी श्रवण, मानसिकलगायत अपाङ्गतासम्बन्धी रहेको छ ।


