Published On:Tuesday, January 13, 2015
Posted by Unknown
प्रक्रिया अगाडि बढाउनुपर्छ : कांग्रेस
पौष ३०, काठमाण्डौ- कांग्रेसले विवादित विषयमा सहमति नहुने भन्दै प्रक्रियाबाट संविधान निर्माण गर्नुपर्ने निर्णय गरेको छ । सहमतिका आधारमा विवादित विषय टुंग्याउन पहल गरे पनि विपक्षी दलहरू तयार नभएको कांग्रेसको आरोप छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानसभा पुगेको सहमति र असहमतिको प्रतिवेदन संविधानसभाबाट मस्यौदा समितिमा पठाएर प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो । निर्धारित समयमै संविधान ल्याउन प्रक्रिया अघि बढे पनि सहमतिको प्रयास नछोड्ने निर्णय पनि कांग्रेसको छ ।
‘हामीले निरन्तर सहमतिका लागि पहल गरेका छौँ । एमाओवादी र मधेसी मोर्चा तयार भएनन् । सहमति नभएपछि सहमति र असहमतिको प्रतिवेदन संविधानसभामा पुगेको छ । अब संविधानसभाबाट प्रक्रिया अघि बढ्छ । संविधानसभामा पुगेको प्रतिवेदन अब मस्यौदा समितिमा जानुपर्छ,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘हामी कहिले पनि सहमतिलाई तोड्दैनौँ । प्रक्रियासँगै विवादित विषयमा सहमति खोज्ने प्रयास जारी रहन्छ ।’
केन्द्रीय समिति बैठक आज
कांग्रेसले संविधानसभाका अन्तर्वस्तुमा थप सुझाब र छलफल गर्न बुधबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी दिने र सदस्यहरूको सुझाब सुन्ने वनमन्त्री महेश आचार्यले जानकारी दिए ।
विपक्षी दल संविधानसभामा उपस्थिति नहुनु ‘गम्भीर त्रुटि’
कांग्रेस पदाधिकारी बैठकले मंगलबारको संविधानसभा बैठकमा एमाओवादीसहितका दल अनुपस्थित हुनुलाई गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘संविधानसभा मुद्दाको उठान गर्ने दल नै उपस्थित नहुनु गम्भीर भएको हाम्रो ठहर छ,’ कांग्रेस सहमहामन्त्री खड्काले भने, ‘यो माओवादीको गम्भीर त्रुटि हो ।’
यसैगरी, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई संविधानसभा बैठकमा अनुपस्थित हुनुलाई कांग्रेसले दुर्भाग्यपूर्ण भनेको छ । खड्काले भने, ‘संवाद समितिको सभापति भनेको सभामुखजस्तै हो । उहाँ आफैँले प्रतिवेदन बुझाएपछि संविधानसभा बैठकमा पनि उपस्थित हुनुपथ्र्यो । तर, सभापतिको भूमिका होइन, पार्टी नेताको जिम्मेवारी निभाउनुभयो । बैठकमा अनुपस्थित भएर उहाँ पदीय कर्तव्य पालनामा च्युत हुनुभयो भन्ने हाम्रो निष्कर्ष छ ।’
बन्द फिर्ता लिन आग्रह
सहमति, सहकार्य र एकताका आधारमा मुलुकका सबै समस्या समाधान हुने भन्दै कांग्रेसले आमहडतालजस्ता आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई आग्रह गरेको छ । सहमति खोज्दै लोकतान्त्रिक पद्धति र प्रक्रियाअनुसार अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा बन्द–आमहडताल फिर्ता लिन आग्रह गरिएको छ ।



