Published On:Friday, January 23, 2015
Posted by Unknown
संविधान नबनेको भन्दै नायिकाको बुबाद्वारा आत्महत्या
झापा,–आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले झुन्डिएर आत्महत्या गरेको प्रहरी चौकी गोलधापका इन्चार्ज केदार कार्कीले बताए ।
नेपाली काँग्रेस र नेकपा (एमाले) ले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग बिहीबार दिउँसो बाजी राखेको र संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने इन्चार्ज कार्कीको भनाइ छ । आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको कार्कीले बताए ।
संविधान निर्माणका लागि सहमति जुटाउन संविधानसभा भवनमा बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा सभासद्ले गरेको नाराबाजी टेलिभिजनमा हेर्दै बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट बाहिरिएको बताइएको छ । शौच गर्ने बहानामा घरबाट बाहिर निस्किएका उनी घरनजिकै रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी इन्चार्ज कार्कीले जानकारी दिए ।
उनको मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक उप्रेती नायिका युना उप्रेतीका बुबा हुन् । राप्रपा नेपाल पार्टीसँग आबद्ध रहेका उप्रेतीले आत्मदाह गरेसँगै सिङ्गो गोलधाप गाविस नै अहिले शोकमा डुबेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका प्रेम घिमिरेले बताए । एक छोरा र तीन छोरीका बुबा उप्रेती छोरा केशव वैदेशिक रोजगारीको सिलसिलामा विदेसिएपछि श्रीमती पुष्पा र बुहारीका साथ बस्दै आएका थिए । नायिका उप्रेती अहिले अमेरिका बस्दै आएकी छिन् भने उनका अन्य दुई छोरी बिमला र गोमा रहेका छन् । रासस


