Published On:Monday, January 12, 2015
Posted by Unknown
जातीय संघीयता डलरमा खरिद भएको विप्लव माओवादीको निश्कर्ष
काठमाडौ । विभिन्न चिरामा विभाजित माओवादी पार्टीहरुले जातीय संघीयताको पक्षमा अडान लिइरहँदा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भने जातीय पहिचानसहितको संघीयताको विपक्षमा उभिएको छ । शनिवार सम्पन्न माओवादी राष्ट्रिय सम्मेलनले वर्गीय मुद्दा नै प्रधान हुनुपर्ने भन्दै जातीय मुद्दालाई प्रधान बनाउन नसकिने निष्कर्ष निकालेको हो ।
सम्मेलनमा सहभागी कतिपयले पार्टीले पहिचानसहितको संघीयताका विषयमा प्रष्ट धारणा ल्याउन माग गरेपछि चन्दले जातीय नारालाई अहिले कतिपय दलले गलत र अतिवादी सोंचका साथ उठाइएको बताए ।
‘कम्युनिष्टहरुको मूल मद्दा वर्गीय हो, वर्गीय मुद्दा हल भएपछि जातीय उत्पीडन लगायतका यावत समस्याहरुको समाधान स्वतः हुँदै जान्छ,’दाङ्को तुल्सीपुरमा शनिबार सम्पन्न राष्ट्रिय भेलामा कार्यकर्तालाई आश्वास्त पार्दै चन्दले भने, ‘अहिले संसदवादी (संविधानसभामा रहेका सवै दल) दलहरुबीचमा चलिरहेको संघीयताको बहस गुदी नभएको बोक्रा मात्रै हो, यसमा हामी अल्झिरहनुको अर्थ छैन ।’ उनले पहिचानका नाममा सरकारी तथा गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरुले डलरमा खरिद गरेर जातीय मुद्दा उचालेको टिप्पणी पनि गरे ।


