Published On:Wednesday, May 13, 2015
Posted by dadad
शक्तिशाली पराकम्पनपछि राजधानी छाड्नेको लर्को, फर्किन लागेकाहरुको यात्रा स्थगित
३१ वैशाख, काठमाडौ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि राजधानी बाहिरिएका सर्वसाधारण आफ्नो काममा फर्किन सुरु गरेको मंगलवारको शक्तिशाली पराकम्पनले हजारौं सर्वसाधारण राजधानीबाट बाहिरिन थालेका छन् ।
विभिन्न जिल्लामा घर भई विभिन्न पेशा ब्यवसाय गरेर राजधानीमा बसोबास गर्ने मध्ये करिब दश लाख सर्वसाधारणले राजधानी छाडेको अनुमान गरिएको गोरखापत्रमा खबर छ । बुधबार मात्रै ६० हजारले राजधानी छाडेका छन् ।
पुनः भूकम्पको खतरा र महामारी फैलिने सम्भावना भएको भन्दै तीन हप्ताअघि गाउँ गएकी सर्लाही राजघाट-२ की उषा थापा आइतबार मात्र राजधानी फर्किइन्, तर मंगलवारको पराकम्पनका कारण उनको परिवार पुनः गाउँ फर्किने भएको छ ।
‘केटाकेटीको स्कुल लाग्छ भनेर आएको तर फेरि ठूलो भूकम्पले होसै उडाएको र अझै ठूलो भूकम्प जाने हल्ला चलिरहेकोले गाउँ फर्किन चाहेको उषाले बताइन् ।
झापाबाट मंगलवार राजधानी फर्किन बुधबारको टिकट काटेका तीर्थ भण्डारीको यात्रा मंगलवारको भूकम्पले रोकिएको छ । उदयपुरको बोक्सेबाट राजधानी आउन तयारी गरेकी विमला कार्की (प्रसाईँ) पनि मंगलवारको भूकम्पपछि तत्काल राजधानी नफिर्किने सोँचमा छिन् ।
यस्तै, अन्नपूर्ण पोष्टले भूकम्पपछि अहिलेसम्म १२ लाखले उपत्यका छाडेको खबर छापेको छ । वैशाख १२ गतेदेखि ३० गतेसम्म १२ लाख ५२ हजार ७ सय ५२ जनाले उपत्यका छाडेका छन् । प्रत्येक दिन ४० हजार बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जयबहादुर चन्दले बताए ।


