Published On:Wednesday, May 13, 2015
Posted by dadad

‘काठमाडौंमा फेरि भूइँचालो जान्छ कि जाँदैन हजुर ?

कसैले यति बजे भूकम्प आउँछ भन्यो भने नपत्याउनोस् ।


 वैशाख, काठमाडौं । लैनचौर चोकै छेउमा थोत्रे घरभित्र भूकम्प मापन केन्द्रको कार्यालय छ । बुधबार दिउँसो सो कार्यालयमा एकजना मात्रै कर्मचारी देखिन्थे । उनलाई फोन रिसिभ गर्न भ्याई नभ्याई थियो । अधिकांश फोनहरु एकैखाले जिज्ञासाले भरिएका थिए,’ काठमाडौंमा अब फेरि भूइँचालो जान्छ कि जाँदैन हजुर ?’
काठमाडौंमा फेरि भूइँचालो जाने सम्भावना छ कि छैन भन्ने प्रश्न यतिबेला आम राजधानीबासीको चासोको विषय हो । भूकम्प मापन केन्द्रमा यस्ता प्रश्नको ओइरो लाग्ने गरेको ती कर्मचारीले बताए ।
फेरि भूकम्प आउँछ कि आउँदैन भन्ने प्रश्नमा ती कर्मचारीको उत्तर एउटै हुने गरेको छ ‘भूकम्प कतिबेला आउँछ भनेर पूर्वानुमान गर्न सकिने विषय होइन, आउन पनि सक्छ, अहिल्यै नआउन पनि सक्छ, तर तपाईहरु सचेत भएर बस्नुहोला, सम्भावना भए पनि यतिबेलै जान्छ भनेर समय तोक्न सकिँदैन । 
कसैले यति बजे आउँछ भन्यो भने नपत्याउनोस् ।’

भूकम्प नाप्ने ठाउँमै भाग्नुपर्ने स्थिति
भूकम्प मापन केन्द्रको कार्यालय रहेकै भवनमा नेपाल जियोलोजिकल सोसाइटीको कार्यालयसमेत छ । बुधबार दिउँसो सोसाइटीका विज्ञहरु कार्यालययको मूलढोका जोडतोडका साथ ठेलिरहेका थिए । भूकम्पका कारण च्यापिएको ढोकाबाट भाग्न सजिलो होस् भनेर खोल्ने प्रयासमा देखिन्थे कर्मचारीहरु ।
जियोलोजिकल सोसाइटीका कर्मचारीहरु भूकम्पको डरले भवनको मूल गेटकै छेउमा भेला भएर काम गरिरहेका छन् । भवनमा परेको चिरा देखाउँदै एक कर्मचारीले भने-‘भूइँचालो आइहाल्यो भने भाग्न सजिलो होस् भनेर यहीँ बसेका हौं ।’

काठमाडौं या अन्य जिल्लाहरुमा फेरि भूकम्प आउँछ कि आउँदैन भनेर जनताले भूकम्पविद र भूगर्भविद दुबै विधाका विज्ञहरुलाई सोध्ने गरेका छन् । तर, नेपालका भूगर्वविदहरु सामान्य मानिसहरुजस्तै भूइँचालो आइहाल्छ कि भन्ने त्रासमा रुमलिएका देखिन्छन् ।

फेरि भूकम्प आउँछ कि आउँदैन, या कहिले आउँछ भन्ने नेपालका भूकम्पविदहरु नै रनभुल्लमा देखिएका छन् ।
भूकम्प आउने भए पनि भन्न सकिन्न - नापित
जियोलोजिकल सोसाइटीका महासचिव दिनेश नापितका अनुसार कतिबेला भूइँचालो आउँछ भनेर समय तोक्ने अहिलेसम्म विज्ञानको विकास भएको छैन । तर, भूकम्प शून्य सम्भावनाको विषयचाँहि होइन ।’

दिनेश नापित
कतिपय अवस्थामा भूइँचालो आउने सम्भावना आफूहरुले देखे पनि त्यसलाई सार्वजनिक गर्न नसकिने नापितले बताए । ‘भूकम्प आउँछ भनेर वैज्ञानिक छलफलसम्म गर्न सकिन्छ, तर यो सम्वेदनशील विषय भएकाले भूकम्प आउँछ भनेर भनिहाल्न निकै गाह्रो हुन्छ, किनभने यसबाट मानिसहरुमा अनावश्यक त्रास उत्पन्न हुन सक्छ’ उनले  भने, ‘भूकम्पको खतराबारे अप्रत्यक्षरुपमा सचेत गराउनुपर्छ र यसबाट जोगिने उपायहरुबारे जनमानसलाई जानकारी गराउनुपर्छ ।’

काठमाडौंमा भूकम्पको सम्भावना
काठमाडौंमा भूकम्पको सम्भावनाबारे अहिलेसम्म समग्र अध्ययन नै नभएको नापितले बताए । ‘काठमाडौंबारे समग्र अध्ययन भएकै छैन, स्व. माधवराज पाण्डेले केही अध्ययन गरेको देखिन्छ, तर काठमाडौंको अध्ययन भएको छैन ।’

काठमाडौंको भौगर्भिक नक्शा र जमिनमुनिको पानीका विषयमा चाँहि अध्ययन अनुसन्धान भएको उनले बताए ।
अर्का भूगर्भविद डा. बसन्त अधिकारी चाहिँ काठमाडौंको जमीनमा भूकम्पको जोखिम रहेको बताउँछन् । जापानी विशेषज्ञसँग मिलेर गरिएको एक अध्ययनमा काठमाडौं भौगर्भिक हिसाबले भूकम्पको जोखिममा रहेको निश्कर्ष यसअघि नै निकालिएको अधिकारीले बताए ।

जियोलोजिकल सोसाइटीको जर्नलमा उक्त प्रतिवेदन प्रकाशित भइसकेको उनले बताए ।
‘भूकम्प आउने समयबारे पूर्वानुमान गर्न सकिन्न, तर काठमाडौं भूकम्पीय जोखिममा रहेको विश्लेषण यसअघि नै भइसकेको छ,’ अधिकारीले भने, ‘काठमाडौंको जमिनमुनि ३–४ वटा फल्टहरु यसअघि नै देखिइसकेका छन् ।’

विश्लेषक भन्छन्– काठमाण्डौमुनि धाँजा फाटेको छ
वैशाख १२ अर्थात् अप्रिल २५ को भूकम्पले यो क्षेत्रलाई उच्च भूकम्पीय जोखिममा पुर्‍याएको विश्लेषकहरुले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेका गेभिन हाएसका अनुसार वैशाख १२ को भुइँचालोको फल्ट लाइनबाट सञ्चित उर्जा बाहिरिने क्रममा काठमाण्ठौ उपत्यकामुनिको भौगर्भिक क्षेत्रमा समेत धाँजा फाटेको छ ।


काठमाण्डौ उपत्यका मुनिको भौगर्भिक क्षेत्रमा यसअघि कहिल्यै पनि धाँजा नफाटेको र यो क्षेत्र धाँजा प्रतिरोधी रहेकोमा योपटकको भूकम्पले भने त्यसलाई तोड्दै उपत्यकाको जमिनमुनि दरार बनाएको बताइएको छ ।

त्यसैले निकट भविष्यमै यो क्षेत्रमा भूकम्पको खतरा सिर्जना भएको हाएसको दाबी छ ।
साइन्स म्याग्जिनमा मे १ मा साइन्स म्याग्जिनमा प्रकाशित एरिक ह्याण्ड र प्रियंका पुल्लाको संयुक्त विश्लेषणमा नेपालमा ७.८ रेक्टस्केलको भूकम्प जान सक्ने अवश्यंभावी रहेको भूगर्भविदलाई उल्लेख गर्दै जनाएको थियो । विश्लेषकहरुले मंगलबारको भूकम्पलाई सो पूर्वानुमानको पुष्टिका रुपमा लिएका छन् । बीबीसीका विज्ञान सम्वाददाता जोनाथन एमोसले पनि यसबारेमा मंगलबार लेखेका थिए। 
अनलाइन खबरबाट साभार 

    फोटो सुवास अधिकारी

0 comments for "‘काठमाडौंमा फेरि भूइँचालो जान्छ कि जाँदैन हजुर ?"

Leave a reply

    Popular Posts

    Blog Archive