Published On:Thursday, May 14, 2015
Posted by dadad

ऐतिहासिक गोरखा दरबार ध्वस्त


गोरखाबजार, ३१ वैशाख । यही वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले तत्कालीन राजा राम शाहको पालामा बनेको ऐतिहासिक गोरखा दरबार ध्वस्त भएको छ । 

चार सय वर्ष पुरानो गोरखा दरबार, गोरखनाथ गुफा र कालिकाको मन्दिर भूकम्पले ध्वस्त बनाएको हो । गोरखा दरबारमा राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरुले राज्य गरेको इतिहास छ ।ख“जीर्ण भइसकेको दरबार भूकम्प र त्यसपछिका झट्काले ध्वस्त बनायो”, दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले भन्नुभयो, “जगदेखि नै दरबारको पुनःनिर्माण गर्नुपर्छ, दरबारको अवस्थाबारे पुरातत्व विभागका इन्जिनियरले अध्ययन गरेर फर्केका छन् ।” 

“पुरातत्व विभागले तत्कालै गोरखनाथ गुफा बनाउन निर्देशन दिएको छ”, भट्टराईले भन्नुभयो, “रकम निकासा भएको छैन, काम सुरु गर्न पाइएन, दरबार ध्वस्त भएर संरचना अलपत्र छ, यस्तो धरापमा भक्तजनलाई कसरी पूजाअर्चनाका लागि अनुमति दिने ?” मन्दिर क्षेत्र धराप भएकाले भक्तजनलाई पूजा अर्चनाका लागि रोक लगाइएको भट्टराईको भनाइ छ । 

भूकम्पको झट्काले गोरखा दरबार क्षेत्रभित्र रहेको पशुपति मन्दिर, गुहेश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाईँपाटी र बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी पूर्णरुपमा ध्वस्त भएको छ । साथै उपल्लोकोटमा रहेको वज्र भैरवको मन्दिर, कोटकालीको मन्दिर र तल्लो कोटकालीको मन्दिर भत्केर ध्वस्त भएको दरबारका पुजारीले जनाएका छन् । 

दरबारअन्तर्गत रहेको बिरिमकाली मन्दिर, आरुघाटको भीमसेन मन्दिर, पदेलीथोकको भीमसेन मन्दिर, बोर्लाङको भीमसेन थापाको पालाको सत्तल, मण्डलीथान मन्दिरलगायत ऐतिहासिक महत्वका मन्दिर तथा संरचना ध्वस्त भएपछि भक्तजनले पूजाअर्चना गर्न पाएका छैनन् । “जोखिम मोलेर कतिन्जेल पूजाअर्चना गर्ने ?”, गोरखनाथ गुफाका मुख्य पुजारी प्रदीपनाथ योगीले भन्नुभयो, “मन्दिर पुनःनिर्माणका बेला पनि दैनिक पूजा रोकिँदैन ।” दरबार, गुफाको पुनःस्थापना र मर्मत गर्दा पूजा गरिँदै आएको स्थान परिवर्तन गरेर भए पनि दैनिक पूजा गर्न पुजारीले तयारी गरेका छन् । 

मन्दिर प्रवेश गर्ने मूलढोकामा सूचना टाँसेर पूजाअर्चनाका लागि रोक लगाइएको छ । भूकम्पपछि मन्दिर तीन इन्च तल भासिएको छ । दरबार क्षेत्र वरपर रहेका ढुङ्गाका पर्खाल भत्केको छ । गोरखा दरबारको आँगन भासिएको छ । डाँडाको टुप्पोमा रहेको दरबारका चट्टान पनि चोइटिएको छ । दरबार, मन्दिर, गुफालगायत शक्ति पीठको पुनःनिर्माण तत्कालै सुरु गर्न पुजारीले सरकारसँग माग गरेका छन् । रासस


0 comments for "ऐतिहासिक गोरखा दरबार ध्वस्त"

Leave a reply

    Popular Posts

    Blog Archive