Published On:Thursday, May 14, 2015
Posted by dadad

भूकम्पपीडितका लागि पाँच सय अस्थायी घर निर्मित

३१ वैशाख, काठमाडौँ । एकीकृत नेकपा (माओवादी) काठमाडाँले भूकम्पपीडितका लागि हालसम्म ५०० अस्थायी घर निर्माण गरेको छ । 

भूकम्पका कारण भत्किएका घरकै संरचना प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको पार्टीले जनाएको छ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा पहिलो चरणमा ५०-५० जनाको स्वयंसेवक टोली परिचालन गरिएको भए पनि बुधबारदेखि भने सय जनाको टोली हरेक निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । 

एमाओवादी काठमाडौँका जिल्ला अध्यक्ष हिमाल शर्माले वर्षाऋतु सुरु हुन लागेका कारण पाल तथा त्रिपालले समस्याको समाधान नहुने भएकाले तत्काल अस्थायी बसोबासका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी दिनुभयो । 

एमाओवादीले चन्द्रागिरि, शङ्खरापुर नगरपालिकालगायत स्थानमा भने अस्थायी घरटहरा निर्माण गर्ने कामलाई विशेष प्राथमिकतामा राखेको छ । अस्थायी घर तथा टहरा निर्माणका क्रममा स्थानीयवासीले हालसम्म पनि सरकारले प्रदान गरेको राहत नपाएको र राहत वितरणमा चरम राजनीतीकरण गरिएको गुनासो गरेको जानकारी दिनुभयो । 

वाणभञ्ज्याङ, नाङ्लेभारे, दणिणकालीलगायत स्थानमा भने हालसम्म कुनै पनि सरकारी राहत नपुगेको र स्थानीयवासी खुला आकाशमा रात कटाउन बाध्य भएको जिकिर गर्दै उहाँले ती स्थानमा पार्टीका तर्फबाट केही राहत प्रदान गरिएको भए पनि पुग्दो नभएको बताउनुभयो । भूकम्प प्रभावित नभएका स्थानबाट काठमाडौँलगायत जिल्लामा शुक्रबारदेखि नै थप १० हजार जनशक्ति परिचालन गरिने उहाँले जानकारी दिनुभयो । 

यस्तै एमाओवादीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पनि ३०-३० जनाको स्वयंसेवक टोली निर्माण गरेर अस्थायी आवास बनाउने कामलाई तीव्रता दिएको छ । क्रान्तिकारीका अध्यक्ष रमेश मल्लका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रमा आफ्ना सङ्गठनको स्वयंसेवक टोली पुगेर राहत वितरण गरिएको र अस्थायी आवास निर्माण गरिएको छ । रासस 

0 comments for "भूकम्पपीडितका लागि पाँच सय अस्थायी घर निर्मित"

Leave a reply

    Popular Posts

    Blog Archive