Published On:Monday, February 2, 2015
Posted by Unknown
नेपाल एक्सप्रेस करण

करण केसीले नामिबियामा पाएको सफलताले नेपाली क्रिकेटमा ठूलो आशा जगाएको छ । एक वर्ष अघिसम्म राष्ट्रिय क्रिकेटमा खासै नदेखिएका करणको इतिहास केलाउने हो भने त्यो अझ रोचक छ । नामिबियामा विश्व क्रिकेट लिग डिभिजन-२ बाट करणले राष्ट्रिय टिममा औपचारिक 'डेब्यु' गरे । ४ महिना अघि डिभिजन-३ का लागि करणलाई पहिलो पटक बन्द प्रशिक्षणमा राखिएको थियो । उनी १८ सदस्यीय टिममा थिए तर अन्तिम टिममा अटाएनन् । लगत्तै श्रीलंका भ्रमणमा उनले राम्रो प्रभाव पारे । करणका लागि उक्त प्रदर्शनले राष्ट्रिय टिमको ढोका खोलिसकेको थियो ।
करणमा क्षमताको कुनै कमी थिएन जुन उनले श्रीलंका भ्रमणमा देखाइसकेका थिए । नामिबियाको विकेट तीव्र बलरलाई सुहाउँदो थियो । करणले अनुकूल परिस्थितिको फाइदा उठाए । प्रशिक्षकहरूको विश्वास अर्को पक्ष थियो, जसले करणलाई पहिलो प्रतियोगितामै सफल खेलाडी बनायो । नेपाली टिमका सहायक प्रशिक्षक विनोद दास थिए । विनोद आफैं नेपालका सफल बलर हुन् । उनको प्रभावमा करण थप परिपक्व भए । प्रशिक्षक पुबुदु दासानायकेले करणमाथि पूरै विश्वास देखाए ।
डिभिजन-२ मा कप्तान पारस खड्कालाई एउटा कारणले निकै प्रभाव पार्यो, त्यो हो करणको बलिङ । 'करण अझै सिकिरहेका छन, उनले पहिलो प्रतियोगितामै यति राम्रो बलिङ गरे, अब यसलाई निरन्तरता दिनसक्नुपर्छ,' पारसले भने । दक्षिण अफ्रिकाको अभ्यास खेलमा करणले ८ विकेट लिएका थिए । त्यही प्रदर्शनबाट प्रभावित भएर प्रशिक्षक दासानायकेले सोमपाल कामीका लागि नयाँ जोडी पाएको बताएका थिए । त्यसमाथि उनले करणको बलिङ सोमपालकै स्तरमा पुगेको दाबी गरेका थिए । डिभिजन-२ मा ९ विकेट लिएका करणका सम्बन्धमा दासानायकेको प्रतिक्रिया प्रतियोगितापछि पनि फरक रहेन । उनले भने, 'सोमपालसँगै करणले निकै उत्कृष्ट प्रदर्शन गरे । मलाई लाग्छ हामीले नयाँ राम्रो जोडी पाएका छौं ।'
- करण औसत १ सय ३० किलोमिटरको स्पिडमा बलिङ गर्छन्, कहिलेकाहीँ १ सय ३५ को हाराहारीमा पनि ।
- दक्षिण अफ्रिकाको अभ्यास खेलमा करणले ८ विकेट लिएका थिए । त्यही प्रदर्शनबाट प्रभावित भएर प्रशिक्षक दासानायकेले सोमपाल कामीका लागि नयाँ जोडी पाएको बताएका थिए ।


