Published On:Friday, February 6, 2015
Posted by Tekman Shakya
तरकारी उत्पादनमा राउटे समुदाय
२३ माघ, भीमदत्तनगर । कुनै समय जङ्गलका राजा मानिने राउटे समुदाय वनमै रमाउँथे । उनीहरू गिठा, भ्याकुर, कन्दमूलको भरमा बस्दथे । अहिले जङ्गलमा गिठा, भ्याकुर र कन्दमूलजस्ता खानेकुराहरू सर्वसुलभ छैनन् ।
राउटेले गुना, बाँदर लगायतका जङ्गली जनावरको सिकार गर्दथे । काठका भाँडाकुँडा बनाई बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए ।
उनीहरूलाई रोजीरोजीका लागि रुख काट्न कुनै छेकवार थिएन् । तर, अहिले समय फेरिएको छ । राउटे समुदायलाई हिजोको जस्तै रुख काट्न छुट छैन् । न त वन्यजन्तुको सिकार गर्न नै छुट छ । त्यसैले राउटेलाई जीविकोपार्जन गर्न धौ धौ पर्न थालेको छ ।
जीविकोपार्जन गर्न मुश्किल भएपछि डडेल्धुराको भित्रीमधेस तथा कञ्चनपुरको चुरे क्षेत्रमा वसोवास गर्दै आएका राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षीत हुन थालेका छन् । डडेल्धुराको शिर्ष र आलिताल तथा कञ्चनपुरको खल्ला–मसेट्टीमा वस्दै आएको राउटे समुदायले धमाधम तरकारी उत्पादन गर्न थालेका छन् । मध्यपश्चिमको पहाडी भेगबाट राउटे समुदायले डडेल्धुराको भित्रिमधेस बसाइँसराइ गरेका हुन् ।
भित्रीमधेस क्षेत्रमा बसोवास गर्दै आएका करिब ६१ परिवार राउटे समुदाय तरकारी उत्पादनमा जुटेका छन् ।
गिठा, भ्याकुर र कन्दमूलका भरमा जीविका चलाउँदै आएका राउटेहरू अहिले तरकारी उत्पादन गरी उपभोग गर्नुका साथै बिक्री वितरण गरी राम्रो आय आर्जन गर्न थालेका छन् । कृषि प्रणालीमा सक्रिय भएपछि अचेल राउटको चुलोमा तरकारी पाक्न थालेको छ ।
शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक जीवनशैलीमा समेत ठुलै रूपान्तरण हुँदै गएको छ । वर्तमान जीवनपद्धतिलाई अँगाल्ने क्रममा राउटेहरू समुदाय तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । राउटेहरू आफ्नै उपभोगका लागि समेत तरकारी उत्पादन गरिरहेको बताउँछन् । “भविष्यमा तरकारीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच बनाइरहेका छौँ” – राउटे समुदायका युवा हरिसिंह राउतले बताए ।
डडेल्धुरामा हालको परशुराम नगरपालिका वडा नं ४ मा राउटेका २५ परिवार र वडा नं १२ आमपानीमा ३६ परिवार परम्परागत खेतीका साथै तरकारी खेतीमा समर्पित रहेका छन् । उनिहरू करेसाबारीमा आलु, गोलभेँडा, काउली, प्याज, मुला, धनियाँ, रायो र केराउजस्ता तरकारी बाली उत्पादन गर्दै आएका छन् ।
जङ्गलमा तरुल, गिठा खन्ने, खोलामा माछा मार्ने, जङ्गली जनावर मारेर खाने राउटे जातिका महिला तथा पुरुषलाई तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र डडेल्धुराले तालिम समेत दिँदै आएको छ ।
तरकारीको बीउ, उपकरण, सिँचाइका लागि पाइप र पोखरी निर्माण, किटनाषक औषधि समेत तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्रले उपलब्ध गराउँदै आएको छ । तालिम पाउन थालेपछि राउटे जाती खुसी मात्र भएका छैनन् उनीहरूले स्वस्थ रहनका लागि ताजा तरकारी आवश्यक भएको कुरा पनि थाहा पाएका छन् ।
राउटे समुदाय नेपालको प्राचीन सभ्यता बोकेको एउटा जाति हो । फिरन्ते जीवन बिताउँदै आएका उनीहरू जङ्गलमै बस्ने र त्यहीका रुख काटेर काठका सामग्री बनाएर गाउँमा लगी अन्नसँग साटेर जीविका चलाउने गर्छन् ।
जङ्गलमै बसेर काठका सामग्री बनाई बाँदर, गुना जस्ता जङ्गली जनावरको सिकार गर्ने राउटे समुदायको उनीहरूको रहनसहनमा पछिल्लो समय परिवर्तन हुँदै आएको छ । सुदूरपश्चिममा डडेल्धुराबाहेक कञ्चनपुरमा पनि राउटे समुदायको बसोवास छ ।



