Published On:Tuesday, January 6, 2015
Posted by dadad

यी हुन् तलब नदिने मिडिया

एबिसीले तलब माग्दा जागिरबाट निकाल्छ, राजधानीमा अध्यक्ष महेन्द्र शेरचनको चिट चाहिन्छ, समाचारपत्रमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले निकटलाई मात्र बाँड्छन्, माउन्टेन टिभीमा साप्ताहिक बिदा बसेको पनि तलब कट्टा हुन्छ

काठमाडौं/ तीन वर्षअघि निकै ठूलो तामझामका साथ सौर्य दैनिक सुरु भयो । सुरुका दुई महिना नियमित तलब पनि बाँड्यो । तर, त्यसपछि पत्रकार र कर्मचारीले तलब पाउन छाडे । 

लगातार दुई वर्षसम्म तलब नदिएपछि पत्रिका नै बन्द भयो । सौर्यमा चिफ रिपोर्टरबाट समाचार सम्पादक भएका खगेन्द्र पन्तले साढे चार लाख माया मारे । 

हरेक पत्रकार र कर्मचारीले अहिले पनि दुई लाखभन्दा बढी रुपैयाँ लिनुपर्नेछ । व्यवस्थापनले झन्डै दुई करोड तलब नदिएरै कर्मचारी र पत्रकारको बिल्लीबाठ बनायो ।
यो एउटा प्रतिनिधि घटना मात्र हो । 

राजधानीमै भएका अधिकांश मिडियाले समयमा तलब दिँदैनन् । विनातलब काम गर्दागर्दै कहिले मिडिया नै बन्द हुने हो कि भन्ने त्रासमा पत्रकार र कर्मचारीले काम गर्नुपर्ने अवस्था छ । नाम चलेका र आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने मिडियाले नै पत्रकारको श्रमशोषण गर्ने गरेका छन् ।


नागरिक दैनिकले समेत चार महिनाको तलब बाँकी राखेको थियो । उसले केही समयअगाडि दुई महिनाको चुक्ता गर्‍यो । अझै पनि दुई महिनाको तलब बाँकी छ । नागरिकबाट निकालिएका ६ जना पत्रकारले भने अझै पैसा पाएका छैनन् । जबकि उनीहरूले अदालतबाट पुनर्बहालीसहित सम्पूर्ण तलब सुविधा पाउनुपर्ने फैसला भएको थियो ।

उता आफूलाई प्रचण्डको विश्वासपात्र ठान्ने र एमाओवादीको दलाली गर्ने शुभशंकर कँडेलले चलाएको एबिसीले पत्रकार र कर्मचारीलाई तलब नदिएको १२ महिना भइसकेको छ । एबिसीले तलब माग्ने कर्मचारीलाई जागिरबाट निकाल्ने गरे

को छ । तलब मागेकै कारण कृष्ण खड्कालाई कँडेलले तीन महिनाअघि जागिरबाट निकालेका थिए ।
एबिसीले लामो समय तलब नदिने र पत्रकारलाई निस्कन बाध्य पार्ने, त्यसपछि फेरि नयाँ नियुक्ति गरेर अर्को एक वर्ष चलाउने नीति नै बनाएको एक पत्रकार बताउँछन् । एबिसीले हरेक वर्ष रिपोर्टरका लागि ठूलो संख्यामा आवेदन खुलाउने गरेको छ ।

उता गोर्खा एफएममा पनि एक पत्रकारले १२ महिनाको तलब पाएका छैनन् । अन्यले आठदेखि १० महिनाको तलब नपाएको बताइएको छ । नेपाल पत्रकार महासंघको अनुगमन टोली गएपछि त्यहाँको शाखासँग व्यवस्थापनले समयमा तलब दिने र पत्रकारलाई स्थायी गर्ने सहमति गरेको थियो । तर, सो सहमति लागू भएको छैन ।

आर्थिक दैनिक, नेपाल समाचारपत्र, नेपाल एफएम, हिमालय टिभी, एभिन्युज, न्युज–२४ र पुलेसो अनलाइनले चार महिनादेखि तलब दिएका छैनन् । माउन्टेन टिभीले त न्यूनतम पारिश्रमिक संयोजकले तोकेको न्यूनतम तलबसम्म पनि दिएको छैन । त्यहाँ साप्ताहिक बिदा बस्ने कर्मचारीको समेत तलब काटिने गरिएको छ । त्यसो त न्यूनतम पारिश्रमिक निर्धारण समिति संयोजक खेम भण्डारीले चलाएको पुलेसोमा नै पत्रकारको बिल्लीबाठ छ । त्यहाँ पनि न्यूनतम पारिश्रमिक दिइएको छैन ।

यता हिमालय टिभीले पत्रकार महासंघको अनुगमन टोलीसँग केही दिनमा नै तलब दिने सहमति गरेको छ । सहमतिअनुसार तलब नदिए तुरुन्त आन्दोलन गर्न पत्रकारहरू संगठित भएको एक पत्रकारले बताए ।

समाचारपत्रमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले आफ्ना नजिककालाई मात्र तलब दिने गरेका छन् । उनी निकटस्त र चाटुकारको मात्र तलब वृद्धि गर्ने गर्छन् । अन्य केही दैनिकले पनि यस्तै गर्ने गरेका छन् । क्षमताको कदर पनि नहुने र तलब पनि समयमा नपाउने त्यहाँ कार्यरत पत्रकारको गुनासो छ ।

राजधानी, हिमालय टाइम्स, तराई टिभी, चक्रपथ अनलाइन र मिर्मिरे एफएमले तीन महिनाको तलब दिएका छैनन् । राजधानीमा तलब लिनका लागि अध्यक्ष महेन्द्र शेरचनको चिट लिएर लेखाशाखा जानुपर्छ । चिट नपाउनेले तलब पनि नपाउने नियम छ । चक्रपथ अनलाइनले स्थापनकालदेखि नै तलब दिएको छैन । सगरमाथा टिभीले दुई महिनादेखि तलब दिएको छैन ।

यसका बाबजुद पनि केही मिडियाले नियमित तलब दिने गरेका छन् । कान्तिपुर, अन्नपुर्ण पोष्ट, हिमालयन टाइम्स, नयाँ पत्रिका, कारोबार, मेरो एफएम, सिआइएन र मैत्री एफएमले समयमा नै तलब दिने गरेका छन् ।
बेथितिको हद:
हरेक मिडियाभित्र पत्रकारको शोषण हुने गरेको छ । पत्रकार महासंघको अनुगमन टोलीका एक सदस्यका अनुसार कान्तिपुर एफएफ र कान्तिपुर टेलिभिजनमा कतिपयले अहिलेसम्म पनि न्यूनतम पारिश्रमिक पाएका छैनन् । माउन्टेन टिभीमा साप्ताहिक बिदा बसेको पनि तलबबाट रकम काटिने गरेको छ ।
‘मिडियाभित्र अमानवीय र पशुवत व्यवहार हुन्छ,’ एक मिडियामा काम गर्ने पत्रकारले भनिन् । 

उता रेडियो सगरमाथामा आठ वर्षदेखिका स्थायीलाई एकाएक करारको चिठी थमाइएको थियो । तर, पत्रकार महासंघको पहलमा फेरि स्थायी नियुक्तिको पत्र दिइएको छ । कारोबार दैनिकले दुई वर्षअघि सबैलाई स्थायी नियुक्ति दिएको थियो, तर अहिले एकाएक सबैलाई करारनामाको पत्र दिएको छ ।
महासंघ पदाधिकारी मालिककै पक्षमा

गत महिना लमजुङको घलेगाउँमा नेपाल पत्रकार महासंघको आवासीय बैठक बसेको थियो । सो बैठकमा तलब र पत्रकारको सुविधाको अनुगमन गर्ने कुरा उठेको थियो । तर, पत्रका महासंघ नेतृत्व नै अनुगमनको विरुद्धमा देखिएको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार सचिव ध्रुव लम्सालबाहेक सबै पदाधिकारीले मालिकको दलाली गर्ने गरेका छन् ।

बैठकमा सचिव लम्साल, केन्द्रीय सदस्य रोशन पुरी, दीपेन्द्र कुँवर, गणेश लम्साललगायतले अनुगमनको पक्षमा डटेर आवाज उठाएपछि नेतृत्व लतारिएको थियो । तर, अनुगमन टोली बनाए पनि त्यसलाई अध्यक्ष महेन्द्र विष्टले साथ नदिएको स्रोतको भनाइ छ । विष्ट कार्यरत इमेज एफएममा नै पत्रकारलाई समस्या भएकाले उनी अनुगमनको विपक्षमा देखिएका हुन् ।

विष्ट कार्यरत इमेज च्यानल र रेडियोमा न्यूनतम पारिश्रमिक सबै पत्रकारले पाएका छैनन् । इमेज न्युज एफएममा त पत्रकारलाई अमानवीय व्यवहार गर्ने गरेको महासंघ अनुगमन टोलीसँग कृति भट्टराईले गुनासो पोखेकी थिइन् । त्यहाँ साप्ताहिक बिदा बसेको पैसा काटिनेछ भने थप बिदा बस्नुपरे जागिर नै छोड्नुपर्ने अवस्था छ ।
@enepalipost

0 comments for "यी हुन् तलब नदिने मिडिया"

Leave a reply

    Popular Posts

    Blog Archive