Published On:Tuesday, January 6, 2015
Posted by Tekman Shakya
एसएलसीमा सात विषय लागेका पनि ‘प्लस टु’का विद्यार्थी !
२३ पुस,काठमाण्डु। एसएलसीको नक्कली प्रमाणपत्र बनाएर प्लस टु पढिरहेका नक्कली विद्यार्थीको ठूलो समूह फेला परेको छ ।
एसएलसीमा सात विषयसम्म लागेका विद्यार्थीले अर्काको सिम्बोल नम्बर चोरेर नक्कली प्रमाणपत्र बनाई प्लस टु भर्ना भएको पाइएको हो ।
उच्च माध्यमिक विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन छानबिन गर्ने क्रममा नक्कली विद्यार्थीको समूह फेला परेको हो । उच्च माध्यमिक शिक्षा परिषद्को हेटौंडा कार्यालयले छानबिनका लागि पठाएका १ सय ५८ विद्यार्थीका प्रमाणपत्रमध्ये ४४ जनाको मात्र सक्कली भएको पाइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले पनि परिषद्को हेटौंडा कार्यालयले पठाएका १ सय ५८ प्रमाणपत्रमध्ये १ सय १४ जनाको नक्कली भएको पत्ता लागेको जानकारी दिए ।
नियन्त्रक द्वारेले कतिपय विद्यार्थीले नक्कली प्रमाणपत्रको फोटोकपी लिएर हराएको भन्दै ‘कपी अफ ओरिजिनल’ माग्न आउने गरेको पनि बताए । केही समयअघि पनिकाले ‘कपी अफ ओरिजिनल’ माग्न आउने नक्कली प्रमाणपत्रधारीलाई पक्राउसमेत गरेको थियो ।
‘नक्कली सटिफिर्केट विकृति धेरै बढेको छ,’ परीक्षा नियन्त्रक द्वारेले भने, ‘विकृतिलाई प्रहरी प्रशासनले रोक्नुपर्छ ।’ उनका अनुसार कतिपयले एउटा जिल्लाको सिम्बोल नम्बर र कोड नम्बर राखेर अर्को जिल्लाको नाममा प्रमाणपत्र बनाएका छन् ।
कतिपयले अघिका परीक्षा नियन्त्रकको नाममा पछिल्लो मितिमा र पछिल्लो मितिका परीक्षा नियन्त्रकको नाम अघिको मितिमा समेत राखेका छन् । अधिकांश नक्कली प्रमाणपत्रमा ०६८ को एसएलसीे उल्लेख छ ।
नयाँ पत्रिका दैनिकबाट



