Published On:Tuesday, January 13, 2015
Posted by Unknown

माधव नेपालले अड्डी कसेपछि लालबाबु सभासद बने


२९ पुस, काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसको कोटाबाट मात्र सभासद मनोनित हुन नदिने अडान लिएपछि दुबै पार्टीले साना दलका लागि छुट्याएको कोटाबाट एक-एक सभासद मनोनित गरेका छन् ।
कांग्रेसले मन्त्रिपरिषदको निर्णयबाट आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई सभासद मनोनित गरेको थाहा पाएपछि नेता नेपालले एमालेको कोटाबाट प्राध्यापक लालबाबु यादवको नाम प्रस्ताव गरेका थिए ।

कुमालको मात्र सपथ ग्रहण तोकिएकोमा नेपालले सभामुखकै कार्यकक्षमा गएर प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेका थिए ।
साना दलबाट साझा नाम आउन नसकेको र उनीहरुले मधेसी र अल्पसंख्यकको प्रतिनिधित्व हुनुपर्ने भनेकाले कांग्रेसबाट कुमाल र एमालेबाट यादवलाई मनोनयन गरिएको स्रोतले जनाएको छ ।
यादवलाई सभासद मनोनित नगरी कुमालको सपथ ग्रहण हुन नसक्ने भएपछि हतार(हतार मन्त्रिपरिषद कार्यालयबाट यादवलाई पनि सभासदमा मनोनित गरिएको पत्र बनाएर सभामुखको कार्यालयमा पठाइएको थियो ।
त्यसपछिमात्र दुबै सभासदलाई सभामुख सुवास नेम्वाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । सपथ ग्रहणमा एमाले बरिष्ठ नेता नेपाल, कांग्रेस सहमहामन्त्री पूर्णवहादुर खड्कालगायत दुबै पार्टीका नेताहरु सहभागी थिए ।
कुमाल ०६२ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा उम्मेदवार भई अनेरास्ववियुका नवराज थपलियासँग पराजित भएका थिए ।
यादव त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक हुन् । उनले हिमाल,पहाड र तराई जोडिएका प्रदेश बनाउनुपर्ने र मधेस एक प्रदेश बनाउन नहुने पक्षमा खुलेर लेख्दै र बोल्दै आएका थिए ।
पहिचानसहितको संघीयता भने पनि आदिवासी जनजाति आन्दोलन विभाजित भइरहेका बेला महासंघ अध्यक्ष कुमाललाई सभासद मनोनित गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अहिले महासंघले अलग्गै आन्दोलन गरिरहेको छ भने पद्मरत्न तुलाधर नेतृत्वको अर्को जनजाति आन्दोलन चलिरहेको छ । जनजाति महासंघका महासचिव पेम्बा भोटे यसअघि नै एमाले कोटाबाट संविधानसभा सदस्यमा मनोनित भइसकेका छन् ।
जनजाति महासंघ सडक आन्दोलनमा छ । तर, महासंघका अध्यक्ष र महासचिव दुबै सत्तापक्षका सभासद बनेका छन् ।
दुई सभासद अझै रिक्त
अब संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित हुने २६ मध्ये दुई सभासदमात्र पूर्ति हुन बाँकी छ । ती दुई कोटा मधेशी मोर्चाका लागि छुट्याएको हो ।@onlinekhabar

0 comments for "माधव नेपालले अड्डी कसेपछि लालबाबु सभासद बने"

Leave a reply

    Popular Posts

    Blog Archive