Published On:Saturday, December 13, 2014
Posted by dadad

बाँकेको नेपाली गाउँ जहाँ नेपाली रुपैयाँ चल्दैन

२७ मङ्सिर,बाँके । बाँके जिल्लाको पूर्व(दक्षिण) पर्ने भारतीय सीमा नजिकैका नेपाली गाउँ नरैनापुरमा अहिले पनि नेपाली रुपैयाँ चलनचल्तीमा निकै कम छ। 

यी गाउँमा जुनसुकै कारोबार भारतीय रुपैयाँबाटै हुन्छ। अझ रमाइलो पक्ष के छ भने, यहाँ नेपाली एक हजार नोटको मूल्य ९ सय ६० मात्रै हो। 

यही कारण भारतीय रुपैयाँमै सबै कारोबार हुन्छ। जिल्लाकै विकट मानिने उक्त क्षेत्र नेपाली भूमि भए पनि नेरु निकै कम चल्ने गरेको छ। 

नेरुलाई कम मूल्यांकन गरी कारोबार गरिंदै आएकाले स्थानीय व्यवसायी र सर्वसाधारण भारु नै खोज्छन्।

नेपाली रुपैयाँ यहाँका बासिन्दाले लिनै मान्दैनन्। मुलुकभर १ सय ६० नेरुको सय रुपैयाँ भारु मानिन्छ। नरैनापुर क्षेत्रमा भने नेपाली रुपैयाँको अवमूल्यन हुने गरेको छ। पुस्तौंदेखि यहाँ नेपाली रुपैयाँ कम चल्ने गरेको स्थानीयबासी बताउँछन्।

विकट मानिने गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्षमणपुर, कटकुइया गाविसमा भारु बढी चल्ने गरेको छ। ती सबै गाविस सीमावर्ती भारतीय गाउँ नजिकका हुन्। 

यातायात र सडक अभावका कारण यहाँका बासिन्दा सीमावर्ती भारतीय जमुना, मल्हिपुर, लक्ष्मणपुर, भिन्गा, बघौडा, बन्गई बजारमा निर्भर हुनुपर्छ। त्यसैले पनि भारुको बढी कारोबार हुने गर्छ।

नेरु नचल्ने भएकाले त्यस क्षेत्रका सरकारी कर्मचारीले केही सामान किन्नुपर्दा एक हजारको नोटलाई ४० रुपैयाँ कममा दिनुपरेको बताए। 

इलाका प्रशासन कार्यालयका प्रमुख गणेशबहादुर शाहीले यहाँ भारुमै सबै कारोबार हुने गरेको बताए। नेपालगन्ज अति टाढा र सबै कारोबार भारतमै हुने अनि सटही काउन्टर अभावमा समस्या हुने गरेको उनी बताउँछन्।

तर, नेपाली रुपैयाँ कम मूल्यमा मूल्यांकन गरी कारोबार गर्दा स्थानीयले कुनै अनौठो मान्दैनन्। पुर्खौंदेखि नेरुलाई कम मानेर कारोबार हुँदै आएको उनीहरूको भनाइ छ। नेपालमै नेपाली रुपैयाँ नचल्दा बाहिरबाट यहाँ पुग्ने जोकोही व्यक्ति आश्चर्यमा पर्छन्।

0 comments for "बाँकेको नेपाली गाउँ जहाँ नेपाली रुपैयाँ चल्दैन"

Leave a reply

    Popular Posts

    Blog Archive