मेरो जिन्दगी

Posted by dadad | Friday, June 5, 2015 | Posted in

कृष्ण आचार्य

शास फेरेको छु,
एक थाल खाएकै छु
तर मलाई लाग्दैन म जिउदो छु ।
उता भत्केको घर बाहीर
बुढा बा आमा अनि
जिवन संगिनी त्यस माथी
उनको साथमा रहेको दुधे बाबु
चिउरा र पाल ले दिन कटाइरहेका छन ।
मलाइ यता लाग्छ दिन के रात के
बोकि झिटि झामटो अनि पारेर कुम्लो
काटेर जहाजको टिकट अनि
हँुइकेर नेपाल जाम भने पनि
उता साहुको दुईलाख ले बच्चा बच्ची पाइ सक्यो
अब त नाती हुन बाँकी छ ।
भएको त्यहि एक हल खेत पनि
पैसा सँग पैँचो दिएको छ
नजाम त भने मन बाँचेर पनि मरिरहेछु
जाम त कसरी जाम,
रित्तो हात के जाम
केहि लिएर जाम त
के लिएर जाम
हातमा ठेला निधारमा पसिना
अनि अधेरो मन अमिलो मन ।
काम गर्ने त्यति डिल छैन मलाई
भत्केको घर हेरेर अनि परिवार सँग बसेर
डाँको छोडेर रुन मन छ
अनि दुख विसाउन मन छ
दुख पर्दा आफन्ताको साथमा नहुदा
दुखको भन्दा पनि धेरै पिडा हुँदो रैछ
उफ्रिउ चिच्चाउ,कराउ रोउ तर
कुवाको भ्यागुतो कुवामानै हुन्छ
विर्सिन सबै कुरा कोल्टे पर्छु
कसम निर्दा पर्दैन । अनि फेरी उठेर विलौना गर्छु
छुक्क मेरो जिन्दगी ।
उता मेरो घर भत्कीएको छ
म यता अरुको घर भम्काइरहेको छु ।
उता मेरो परिवार सबै रोएको छ
म यता अरुको परिवार हराइरहेको छु ।
थुक्क मेरो जिन्दगी
एउटा कुकुर को भन्दा पनि लाचार
अनि एउटा खच्चडको भन्दा पनि दुखी ।

गजल

Posted by dadad | Thursday, June 4, 2015 | Posted in


–अमृता अर्याल
पराईनाता जोड्नुपर्छ बेहुली वन्दैछु भोली
जन्मघर छोड्नुपर्छ वेहुली बन्दैछु भोली ।

उही आई सपनीमा जिस्क्याउँछ घरी–घरी
उसकै घर गोड्नुपर्छ बेहुली बन्दैछु भोली ।

खै कति खुसी साचुँ कति धेरै दुखी हुँला
जन्मथलो तोड्नुपर्छ वेहुली वन्दैछु भोली ।

चिनजानी छैन कोही नयाँ मान्छे नयाँ गाऊँ
सुखहरु फोड्नुपर्छ वेहुली वन्दैछु भोली ।

पराईनाता जोडेपछि निर्णय एक्लो हुन्न अरे
जे गर्दा नि सोद्नुपर्छ वेहुली बन्दैछु भोली ।।

छन्दबादी र दधि स्मृतिले मनाए छन्द दिवस २०७२

Posted by my storry | Tuesday, April 21, 2015 | Posted in

कमल पौडेल कपिलवस्तु ,
नव वर्ष २०७२ सालको सुरुवात संगै छन्द दिवसको अवसर पारी  दर्जनौं साहित्यिक स्रष्टाहरुलाई छन्दवादी समाज नेपाल र दधि स्मृति साहित्य समाज कपिलवस्तुले यहि बैशाख ८ गते सम्मान गरेको छ । छन्द महोत्सब राष्ट्रिय स्रष्टा सम्मान आदिकवि भानुभक्त आचार्य सप्तऋषिहरुको मूर्ति अनावरण, कृति बिमोचन तथा छन्द विज्ञान अवधारण पत्र लोकार्पण नाम दिइएको कार्यक्रम कपिलवस्तु जिल्ला बाणगंगा न.पा.१४ कपिल आरोग्य धाम चौवाहमा सम्पन्न भयो ।
प्रमुख अतिथि पूर्व शिक्षामन्त्रि तथा प्रगतिवादी कवि मोदनाथ प्रश्रितको विहान १० बजे आगमन संगै मनकामना संस्कृत विद्यापीठका वटुकहरु द्धारा बिधिवत स्वस्तिवाचन संगै पानसमा दियो बालेर सुरुभएको कार्यक्रममा सुरुमै कवि सूर्य प्रसाद भूसालको कविताले स्वागत मन्तब्य हुँदा साहित्यिक रसपान सुरुमै भएको अनुभूति दर्शकले पाएका थिए । दर्जनौं कवि कवयत्रिहरुका छन्दोबद्ध कविताले नाचुनाचु मानेका दर्शकले रुपन्देहीका कवि रुद्र ज्ञवालीको कविता सुन्दा मन थाम्न सकेनन । बढ्दो आधुनिक युगले मान्छेलाई ब्यस्त बनाइराखेको अवस्थामा पनि कविता श्रवण गर्न आउनेको उत्साह देख्दा लाग्थ्यो साँच्चै कपिलवस्तु छन्दमय बनेको छ भन्ने आभास भइराखेको थियो । कार्यक्रमको बीच भागमा प्रकट हुनुभएका सम्मानित स्रष्टा कविवर भरतराज पिडितले सुनाएका हृदयस्पर्सी कविताले मान्छेलाई आध्यात्मिकता र बैराग्यको बाटोतीर धकेलेको आभास दिलाइराखेको थियो । लगत्तै युवा गजलकार के. बी धुँवालेको गजल गायन कला पनि छन्द महोत्सकको एउटा कडि बन्न पुग्यो ।  देशैभरी धार्मिक सहिष्णुताको खडेरी परेको यो धरातलमा मुस्लिम कवि मूमिनको शिव भगवान प्रति लक्षित गरी बनाइएको कविता अहिलेको अवस्थालाई कतै समेट्न खोजेको अनुभुत हुदै थिो । 
छन्दवादी समाजका संस्थापक अध्यक्ष तथा संरक्षक युवा कवि कविराज पौडेलको छन्द विज्ञान अधारणा पत्र लोकार्पण पछि अवधारणपत्र माथि टिप्पणि गर्न गएका संस्कृतका विद्वान संस्कृतिबिद कवि विष्णुराज आत्रेय लाटोसाथीले छन्दलाई वेदकालिन समय देखि अहिले सम्म अविछिन्न बचाउदै आएको देश नेपालमात्र भएको र अरु देशमा छन्दमा लेख्ने परम्परा लुब्धप्राय भएको सुन्दा साँच्चै नेपाल भूमि छन्द बाङ्मयलाई बचाउन साधनारत रहेको कुरा ज्ञात भयो । 
वैशाख ७ गते ४ बजेबाटै कविता अन्ताक्षरी र रचनाबाचन बाट सुरु भएको कार्यक्रममा छन्दवादी समाज नेपालबाट ७ जना स्रष्टा र दधि स्मृति साहित्य समाज कलिवस्तुबाट १५ शीर्षकमा छन्दमा कलमा चलाउने तथा साहित्यका अरु विधालाइ समेत श्री बृद्धि गर्ने कवि साहित्यकारहरु रुद्र ज्ञवाली रुपन्देही छन्द सारथी साहित्य सम्मान २०७२ डा. शिव पौडेल रुपन्देही राष्ट्रिय साहित्य सम्मान २०७२ कविराज पौडेल रुपन्देही छन्द महारथी साहित्य सम्मान २०७२ हरीराज शर्भा हरास कपिलवस्तु छन्द उन्नायक साहित्य सम्मान २०७२ भरतराज पिडित पौडेल नवलपरासी छन्द अभियन्ता साहित्य सम्मान २०७२ आत्माराम आचार्य कपिलवस्तु छन्द प्रतिभा साहित्य सम्मान २०७२ पुनाराम गिरी कपिलवस्तु काब्य साधक साहित्य सम्मान २०७२ कुमोद पाण्डे अर्घाखाँचि छन्द प्रोत्साहन बाल प्राची साहित्य सम्मान तथा पुरस्कार २०७२ आदि संगै साहित्यको प्रवर्धनमा कटिबद्ध साहित्यिक संस्थाहरु युगिन साहित्य समाज रुपन्देही साहित्य प्रर्वधन सम्मान २०७२ पोखराथोका साहित्य समाज पाल्पा साहित्य प्रर्वधन सम्मान २०७२ शिवगढी साहित्य संगम कपिलवस्तु साहित्य प्रर्वधन सम्मान २०७२ र साहित्य तथा बर्तमान अवस्थामा गजल तथा मुक्तकमा नयाँ प्रयोगका थालनी गरेका नव स्रटा तथा कपिलवस्तुका गजलकार समीर सायरलाई पनि साहित्य प्रोत्साहन पुरस्कार र लेखनाथ धिमिरेलाई संस्थालाई योगदान पुर्याए बापत पुरस्कार प्रदान गरियो ।
दर्जनौ छन्द कविता श्रवण गर्दै गर्दा बिच बिचमा आउने गजल मुक्तकले कार्यक्रमको तौल अतुलनीय बनेको थिायो सधै छन्द हुँदा अरु विधाको रसास्वादन गर्न नपाएका स्रोता दर्शकले रोमाञ्चित तरीकाले साहित्यकको मधुपान गरेको हुनुपर्छ भन्ने महसुस भएको थियो । कार्यक्रममा प्रमुख अतिथिीको उद्बोधन दिदै प्रगतिबादी कवि मोदनाथ प्रश्रितले यो छन्द महोत्सब तथा स्रक्ष्टा सम्मान कार्यक्रम देशकै नमुना तथा राष्ट्रिय कार्यक्रम भएको र यसले कपिलवस्तुलाई साहित्यिक भूमि हो भन्ने कुराको पनि पुनः पुष्टि भएको समेत जानकारी गराउनु भयो । 
कार्यक्रम दुई खण्डमा बिभाजन गरि चलाइएको मा पहिलो खण्ड कार्यक्रम छन्दवादीका अध्यक्ष ऋषिकेशव भारद्धाजको अध्यक्षता र कृष्ण डूम्रेको संचालनमा सम्पन्न भएको थियो भने दोस्रो खण्ड दधि स्मृति साहित्य समाजका बालक बबुरो कमल पौडेलले सञ्चालन गर्नुभएको थियो ।

राष्ट्रिय नाट्य महोत्सव–२०७२ सुरु

Posted by my storry | Sunday, April 19, 2015 | Posted in

काठमाडौँ, ६ वैशाख । 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ ‘राष्ट्रिय नाट्य महोत्सव–२०७२’ सुरु भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा मङ्गलबारसम्म चल्ने महोत्सवको उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज एक समारोहबीच उद्घाटन गर्नुभयो । 
महोत्सवमा विभिन्न भाषा, जातिका सात नाटक प्रदर्शन हुने र दर्शकले निःशुल्क नाटक हेर्न पाउने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवअन्तर्गत आजको उद्घाटन समारोहमा नारायणी कला मन्दिर, चितवनको प्रस्तुति ‘सकस’ प्रदर्शन गरियो भने दोस्रो नाटक झोराहाट नाट्य समूह मोरङको ‘धुपेनको धुइयाँ’ प्रदर्शन गरियो ।
सोमबार चेतना नाट्य समूह, इलामको ‘पाथिभरा देवीको उत्पत्ति’, तरङ्ग साँस्कृतिक परिषद् हेटौँडाको ‘मान्छे बन्ने रहर’, र सुम्निमा थिएटर एकेडेमी, ललितपुरको ‘सुम्निमा’ तथा मङ्गलबार आरोहण विराटनगरको ‘आब कोना चलब’ र मिथिला नाट्यकला परिषद् जनकपुरको ‘छुताहा घैल’ प्रदर्शन गरिनेछ ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री गौतमले आफूपनि नाटक, चलचित्र र सङ्गीतको सौखिन भएको बताउँदै महोत्सव सफलताको कामना गर्नुभयो । आफू नाटक, चलचित्र हेर्दा घटनाअनुसार हाँस्ने र रुने गरेको खुलासा गर्दै उहाँले आफू कोमल मनको व्यक्ति भएको बताउनुभयो ।
 गीतकारका रुपमा केही गीत लेखेपनि सो कार्यलाई निरन्तरता दिँदै साधनामा लागिरहन नसकेकाप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । 
प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठले महोत्सवले नाट्यकर्र्मीलाई राष्ट्रिय नाटकको मूल प्रवाहमा प्रवाहित हुन र नाट्यकर्ममा गाम्भीर्यतापूर्वक लाग्न हौशला र पे्ररणा दिने आशा व्यक्त गर्नुभयो । रासस

नओभाएका आँखाहरु

Posted by my storry | Wednesday, April 15, 2015 | Posted in

वैशाख, २०७२,काठमाडौं
प्रसिद्ध कथाकार तथा प्राज्ञ माया ठकुरीले बेल कुमारी घिमिरेद्वारा लिखित नओभाएका आँखाहरु उपन्या
सको हालै विमोचन गर्नुभयो । 
नेपाली साहित्यमा वैदेशिक रोजगार र महिला हिंसाको कथाले यो उपन्यासमा स्थान पाएको उहाँले चर्चा गर्नुभयो ।
समारोहमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष साहित्यकार राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्की, समालोचक उत्तम सापकोटा लगायतले विमोचित उपन्यासबारे बोल्नुभएको थियो । 
साथै उपन्यासकार घिमिरेले आफ्नो लेखकीय मन्तव्यमा आफ्ना भोगाइलाई इमान्दारितापूर्वक प्रस्तुत गरेको बताउनुभयो ।
देश दर्शन नेपालद्वारा आयोजित उक्त समारोहमा संस्थाका अध्यक्ष शम्भु सुस्केराको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा हालै प्रकाशित संस्थाको क्यालेण्डर वितरण पनि गरिएको थियो ।

''नेपाल आमालाई पाल्ने सन्तान जन्माईदेउ ।।। ''

Posted by Unknown | Friday, April 10, 2015 | Posted in

भगवती लामा
नुवाकोट रातमाटे










नयाँ वर्ष तिमी आउन त आयौँ नेपाल आमालाई के लिएर आयौँ ? रोएको रोयै छिन् नेपाल आमा आशु पुछ्न शुकोमल हात ल्यायौँ कि पीडामा पीडा थप्ने शैतानको रुप ल्यायौँ ? नेपाल आमा हासेको हेर्ने रहर छ मलाई तर म सधै उहाँको नयन भिजेको देख्छु ''भन्छिन् नेपाल आमा मेरो सन्तानले मेरो अस्तित्व मेटाउन खोज्दैछन् '' त्यसैले नयाँ वर्ष शैतानको रुप त्याग गरी शुकोमल हातले आशु पुछिदेउ नेपाल आमाको ।। म पनि तिम्री चेली हुँ भन्दै नेपाल आमालार्ए कति सम्झाए तर उहाँ सन्तानकै कारणले गर्दा मन दुखेको कुरा गर्नुहुन्छ मैले हुर्काएको छोराहरुले छोरीको अस्मिता लुट्यो भन्नु हुन्छ नेपाल आमाको छात्तिमा टेकेर बन्द हड्तालको आवाज उठाउने सन्तानप्रति क्रोध छ उहाँको त्यसैले नयाँ वर्ष दुखेको मनमा मलाम लगाईदेउ तिम्ले नेपाल आमाको ।। हत्या र हिंसा बढेको कुरा सिमा मिचिएको कुरा युवा विदेश पलायन भएको कुरा नेपाल आमा सुन्न चाहानुहुन्न एउटै कोखबाट जन्मिएको सन्तान कोही महलमा रम्ने कोही झुपडीमा रुने देख्न चाहानु हरन्न नेपाल आमा त्यसैले अन्धो बनेकी छु भन्नुहुन्छ यदि सक्छौँ भने नयाँ वर्ष आँखा खोलिदेउ नेपाल आमाको ।।। नेपाल आमाको आशिर्बाद लिएर सत्तामा गएर भत्ता खानेहरुले सहकार्य गर्न जानेनन् नेपालको संविधान लेख्न सकेनन् मात्र अल्झिए मात्र कुर्सिमा चन्द्र शूर्य अंकित झण्डा उखाल्ने देशद्रोहीको बिगबिगिले गर्दा देशमा विक्रिति र विसङ्गतिले जरो गाढेको छ आफ्नै स्वार्थमा रम्ने स्वार्थीका कारण देश तहसनहस बनेको छ ''मलाई बचाउने कोही छैन '' भन्छिन् नेपाल आमा त्यसैले नयाँ वर्ष ''नेपाल आमालाई पाल्ने सन्तान जन्माईदेउ ।।।''

गन्धर्वको सारङ्गी नै ‘खेती र जागिर’

Posted by dadad | Friday, April 3, 2015 | Posted in ,

बागलुङ । ‘राम्दीपारि भिर, के दिनमा जन्मेछु जिन्दगीलाई भिर’, पदमबहादुर गन्धर्व यसरी मानिसका निराशा मात्रै सारङ्गीमा रेट्नुहुन्न, समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सङ्गीतबद्ध गर्नुहुन्छ ।
सारङ्गीमा जनजीवनका दुःख, पीडा र संवेदना रेटेरै गन्धर्वको जीवन आखिरीतिर पुगेको छ ।

उनासी वर्षका उमेरमा पनि गन्धर्वको सारङ्गी–प्रेम कत्ति घटेको छैन । चौध वर्षदेखि नै सारङ्गी रेट्दै गाउँघर चाहर्ने गन्धर्वको ‘कला–यात्रा’ ले ६५ वर्ष पार गरेको छ । बुबालाई सारङ्गीवादनको गुरु मान्ने गन्धर्व अहिले बागलुङ नगरपालिका–५ सिम्लेमा बस्नुहुन्छ । उहाँको जन्मथलो भने अमलाचौर–५ मा हो । पुर्खौंदेखिको कलागत पेसा जोगाउँदै सारङ्गी संरक्षणमा उहाँले देखाएको प्रेम र लगाब स्तुत्य छ । 

“मेरो जन्मगाउँमा यसरी सारङ्गी बजाउँदै हिँड्ने एक दुई जना मात्र छन्, सबै विदेश लागे, नयाँलाई यसको वास्ता छैन”, गन्धर्वले भन्नुभयो, “मेरो भाइ मने गन्धर्व पनि हिँड्छ, म पनि अब सक्ने बेलासम्म लाग्छु, उमेर पनि भो हिँड्न धौ धौ छ ।” गन्धर्व सारङ्गी बजाउँदै भारत तथा स्वदेशका पश्चिममा रोल्पा, रुकुम, म्याग्दीदेखि कैयन जिल्लामा पुग्नुभएको छ । 

“धेरै गाउँ ठाउँ पुगियो, भारत पनि गएँ तर काठमाडौँ देखेको छैन” गन्धर्वले भन्नुभयो । पहिले जसले राम्रो सारङ्गी बजाउँछ उसैलाई छोरी दिने चलन रहेको उहाँले स्मरण गर्नुभयो । उहाँ र परिवारको जीवन धान्ने आधार नै सारङ्गी हो । परिवार सुकुम्बासीका नाममा पाएको सानो झुपडीमा जीवन गुजारिरहेको छ, उहाँ सारङ्गी रेट्दै गाउँ सहर पुगिरहनुभएको छ । उहाँ बसोवास गर्ने क्षेत्रका बासिन्दाले अन्नबाली सहयोग दिँदै आएका छन् । 

“लाहुरे आएको घर, सन्तान जन्मेको घर जाँदा त एकै जनाले हजार पनि दिनुहुन्छ, पैसा पनि हुन्छ, अन्नपातको जोहो हुन्छ, यसैले घरबार चलेको छ” गन्धर्वले भन्नुभयो, “मेरो त खेती पनि जागिर पनि यही सारङ्गी हो ।” ढल्किँदो उमेरमा पनि कोखिलामा सारङ्गी बोकेर उहाँ हिँडिरहनुहुन्छ । बुबा गोपे गन्धर्व नै पदमबहादुरका सारङ्गीका गुरु हुनुहुन्थ्यो । “मेरो गुरु भनेको नै मेरा बुबा हो, बाजे पुर्खाकै पालादेखि सारङ्गी रेट्ने र गीत गाउने संस्कार थियो”, पदमबहादुरले भन्नुभयो । 

प्रसिद्ध गायक झलकमान गन्धर्वसँग पनि उहाँले सङ्गत गर्नुभयो । पछिल्लो पुस्ता भने यस्तो संस्कृतिदेखि बिमुख भइरहेको देख्दा उहाँको चित्त दुखेको छ । नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता पनि छ । मानवचोला, जीवन जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गरिएका गीत पदमबहादुरसँग धेरै छन् । 

‘अछामे राजाको फेटा बानेको बामतिर
  कहिले सुदिन फर्केला खै गरिबको गामतिर’ 

यो गीत उहाँले वर्षौंदेखि गाउँदै आउनुभएको छ । गरिबका सुदिन नफर्केसम्म सायद यो गीत उहाँ गाइरहनुहुनेछ । घटनाविशेषलाई लिएर कथानक बनाउने र त्यसलाई सारङ्गीमा लयबद्ध गर्न गन्धर्व खप्पिस हुनुहुन्छ । युद्धसम्बन्धी र वीरगाथालाई भने ‘कर्खा’ भनिन्छ । 

गाउँघरमा ‘गाइने’ देखिन छाडेका बेला पदमबहादुरको उत्साह मरेको छैन । चारै छोरी विवाह गरेर गए, दुवै छोरा भारत पलायन भए । गन्धर्व ७६ वर्षीया श्रीमती फुलमतीसँग जीवनको आखिरीकाल बिताइरहनुभएको छ । ठट्यौली शैलीमा पदमबहादुरले गाउनुभयो, ‘स्वर मीठो कम्पनीको अक्षर राम्रो दामको कोहीको बोली मायालाग्दो कोहीको बिनाकामको ।’ रासस

अष्ट्रेलियामा साहित्यिक प्रष्ठिान गठन,

Posted by my storry | Tuesday, March 31, 2015 | Posted in , ,

कहिल्यै, गएपनि मेटिदैन राष्ट्र, स्वाभिमान, सहयोग र राष्ट्रीयता,नेपाली शान, मान र सम्मानमा भाषा, कला संस्कृति र साहित्य,


कला साहित्य र भाषाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सन २००८ मा अष्ट्रेलियामा स्थापना गरिएको नेपाल कला संस्कृति तथा साहित्यिक प्रतिष्ठान अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ । 
सुजता केसिको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र मल्ल र भिमसेन गुरुङ रहनु भएको छ । 
२ वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको महासचिवमा मुक्तिराम पोख्रेल, सहसचिवमा रुद्र गिरि, कोषाध्यक्षमा प्रकृृति भट्टराई रहनुभएको छ । 
यस्तै सदस्यहरुमा दिलु केसि, विप्लव चापागाई, केदार बरुवाल क्षेत्री, स्विकृती भट्टराई , जिना केसि, सृजना शर्मा, नानुका लिम्वुराई, सजल नयन,
राजेश्वर घिमिरे रहनुभएको छ । 

साहित्यिक प्रतिष्ठानको ५ जना संरक्षक रहनुभएको छ । जसमा जानकी पौडेल, विदुर ढुङ्गेल, भूवन थापा, रविन्द्र शर्मा  र चर्तुभूज खरेल रहनुभएको छ । 
यस्तै प्रतिष्ठानको सल्लाहकारमा इन्द्र वन, कुमार गिरी, महेन्द्र लम्साल, केदार पोख्रेल र राजेश केसि रहनुभएको छ । 

मुक्तक

Posted by Unknown | Wednesday, February 11, 2015 | Posted in

प्रदीप पोखरेल, धादिङ
हिजो देखी मलाइ एउटा काली मन पर्या छ,
बिना सिन्दुरको सिउदो खाली मन पर्या छ,
बानी त सबै ठिकै हो अली बढी बोल्छे,
तै पनी मलाइ त्यै चोथाली मन पर्या छ,


अन्तर्राष्ट्रिय कला महोत्सव सुरु

Posted by Tekman Shakya | Monday, February 2, 2015 | Posted in ,

काठमाडौं । ‘पाँचौ अन्तर्राष्ट्रिय कला महोत्सव’ सोमबारदेखि नेपाल कला परिषद्मा सुरु भएको छ ।

नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलको पहलमा करिब २० वर्षअघि स्थापित न्यु आर्ट सर्कल,  पचास वर्षभन्दा बढी समयअघि स्थापित ‘नेपाल कला परिषद्’ र भारतको ‘एसएमडी फाउन्डेसन’ को आयोजनामा भएको सो महोत्सव यही माघ २२ गतेसम्म जारी रहने छ । महोत्सवमा नेपाल, भुटान, भारत, श्रीलङ्का, पाकीस्तान, केन्द्रीय अमेरिकी राष्ट्र होन्डुरस  र युरोपेली राष्ट्र टर्कीका ३५ कलाकारले सिर्जना गरेका करिब १०० चित्र राखिएका छन् । भारत, श्रीलङ्का, मालदिभ्स र भुटान हुँदै काठमाडौँमा यो महोत्सव सुरु भएको हो ।

नेपालका तर्फबाट भने आर्ट सर्कलका शङ्करनाथ रिमाल, शान्तकुमार राई, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजु, रत्नकाजी शाक्य र टार्जन साङ्पाङ तथा नेपालको प्रतिष्ठित र ‘स्किब’ समूहका शशिविक्रम शाह, कृष्ण मानन्धर र वत्सगोपाल वैद्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरका चित्र राखिएका छन् ।

महोत्सवमा मूर्त अमूर्त रुपमा हिन्दू धर्म, सामान्य महिला, प्रकृतिको सौन्दर्य, दैनिक जनजीवन, ब्रह्माण्डीय संसार, जलवायु परिवर्तनले ल्याउन सक्ने विस्फोट आदि विषयवस्तुका चित्र राखिएका छन् ।
कला परिषद्का महासचिव तथा न्यु आर्ट सर्कलका अध्यक्ष शङ्करनाथ रिमालले  नेपाली कलाको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न तथा अन्तर्राष्ट्रिय कलाबारे बुझ्न यस्ता महोत्सव  भइरहनुपर्ने बताउँदै नेपालका  प्रत्येक ढुङ्गा र इँटामा पाइने कला अध्ययन अनुसन्धान गर्न  विश्वका कलाकारलाई आह्वान गरे ।

गजल- "यात्री"

Posted by dadad | Friday, January 23, 2015 | Posted in


पहाडको पोल्टोमा हासेको मेरो गाम छ ,
खोज्दै जानु ए परेबि नेपाल यसको नाम छ ।

कुहिरोको आँचल भित्र लुकामारि गर्छिन उनि ,
घन्ट शँख अन्दाज गर्नु छेउछाउमै धाम छ ।

पहेलोँ फाट नझुक्कनु नि सुनखानि ठानेर ,
अग्ला अग्ला टाकुरामा हिउको सेता डाम छ ।

परदेशि को सम्झना फुकाईदिनु झट्टै ,
रमाउलिन आमा .चिनो चिठि अनि खाम छ ।।


- भोला तिमल्सिना "यात्री"

मुक्तक दोहोरी

Posted by Unknown | Wednesday, January 21, 2015 | Posted in























नुवाकोटकी मुक्तक मन भगवती लामा र  पुरन बियोगको मुक्तक दोहोरी यसरी सुरु हुन्छ 

पुरन बियोग
सबैको कुरा यहाँ खास गर्नु पर्छ
कसैबाट केहि पाउने आश गर्नु पर्छ
भगवती जि तपाई हामी सबै मिलेर
मुक्तकको अब बिकास गर्नु पर्छ

भगवती लामा
मुक्तकमा कुन बिषय राख्ने सोचेर भन्नु होला
धेरैले के चाहान्छन यहाँ रोजेर भन्नु होला
चिने जानेका मुक्तकिला मनहरुलाई पनि
लौन ? के गर्ने होला भनि सोधेर भन्नु होला

पुरन बियोग
दुबै मिलि साहित्यमा खुशी छरौला
मर्नु परे बरु दुबै जना संगै मरौला
ढुक्क हुनु भगबती जि म अबश्य साथ दिन्छु
कहिले देश कहिले मायाका कुरा गरौला

भगवती लामा
रोई रहेको देशको कुरा के गराई भो र
चिन्या छैन पिरतीमा के हेराई भो र
जे पर्ला मुक्तक लेखिन्छ लेख्न चाँहि
तर पुरन जि संगै के मराई भो र

पुरन बियोग
देश रोएनी हामी केहि गर्न सक्छौ
सबैको ओठमा हाँसो खुशी छर्न सक्छौ
के भर भाग्यको खेल न हो भगवती जि
संग संगै बाँच्न अनि संगै मर्न सक्छौ

भगवती लामा
जे गरे पनि देश बिगार्ने राक्षस मार्न सक्दैनौ
फर्कि न आऊ भनि सात समुन्द्र तार्न सक्दैनौ
हो बरु पिरतीको बाटो खनेर हिडौ एकैसाथ
जित होला संधै भरि कहिल्यै हार्न सक्दैनौ

पुरन बियोग
त्यो बस्तीमा गएर बाँच्नु छ हामी
संधै संगै रहेर बाँच्नु छ हामी
हुन्छ चोखो माया पिरती गाँसेर
हाँसी खुशी भएर बाँच्नु छ हामी

भगवती लामा
जहाँ पनि पिरतीको खोइरो खन्ने भेटिन्छन नि
हुंदा आफ्नो नहुंदा पराई बन्ने भेटिन्छन नि
आफ्नो गाँऊबाट निक्कलिएर बसाई सर्दा
ठुलो भाग खान गाको भन्ने भेटिन्छन नि

पुरन बियोग
म संग जे छ त्यही तिमीलाई दिँउला
तिर्खा लाग्दा पानी संग संगै पिउला
अरुले यहाँ जे गर्छन गर्न देऊ भगवती
तिमी र म संधै हाँसी खुशी जिउला

भगवती लामा
अरुको नजरबाट गिरेर बाँच्ने कसरी
बैमानीको संज्ञा भिरेर बाँच्ने कसरी
भन्नु हुन्छ हजुर माया हो सबथोक
ईष्टसँगको सम्बन्ध चिरेर बाँच्ने कसरी

पुरन बियोग
ईष्टसंगको सम्बन्ध गाँस्न सक्छौ हामी
रुने छैनौ संधै भरि हाँस्न सक्छौ हामी
आत्मबिश्वासका साथ अगी बढौ भगवती
संधै भरि खुशी भएर बाँच्न सक्छौ हामी

भगवती लामा
खोजेको जस्तो माया पाएकी छु आज मैले

बिश्वासले चोखो माया लाएकी छु आज मैले

हो अब पुरन जि धेरै सोच बिचार गरेर नै
न छोड्ने गरि हात समाएकी छु आज मैले
पुरन बियोग
हो तिमी संगै चोखो माया लाउने छु भगवती
तिम्रै साथमा हाँस्दै खेल्दै रमाउने छु भगवती
मेरै भरमा परेर अब बाटो हेरी बस्नु
तिमीलाई लिन छिट्टै आउने छु भगवती
भगवती लामा
बाटो हेर्दा हेर्दै दिन बिताउने सुरमा छु
तिम्रै तस्बिर हेरेर रात सिद्वाउने सुरमा छु
साँच्चै भन्दै छु शिरमा हात राखेर मैले
जुनि भर लाई माया टिकाउने सुरमा छु
पुरन बियोग
होनी है हतार गर्नु किन
केवल सक्छु माया दिन
म त तयार छु भगवती
भन कहिले आंऊ म लिन
भगवती लामा
साथ समुन्द्र पारीबाट आउनु गाह्रो पर्ला
काम दिने हाकिम मनाउन गाह्रो पर्ला
यही माघमा लिन आउनु मैले भन्दा खेरी
परिवार संग बसी रमाउन गाह्रो पर्ला
पुरन बियोग
तिम्रै यादमा अब गित गाउने छु
अनि सबैको मन मुटूमा छाउने छु
ढुक्क भएर बस्नु है मेरी भगवती
तिमीलाई लिन यही माघमा आउने छु
भगवती लामा
यस्तै भनि धेरै माघ खेर गाको छ नी
मन्दिरमा कसम खान अबेर भाको छ नी
उमेर बढ्या कान्छी छोरी राखिह्यो भनी
बाबालाई गाँऊ बाट दबाब आको छ नी
पुरन बियोग
अब तिमीलाई म रुन दिने छैन सानु
आँशुले आँखाहरु धुन दिने छैन सानु
जसरी नि तिमीलाई अंङ्गाल्ने छु म
बाबा आमालाई दबाब हुन दिने छैन सानु
भगवती लामा
प्रेमिल यि कुराले ढुक्क बनि बस्छु अब
अंगालोमा कसिने दिन गनी बस्छु अब
मेरो सामु गिद्दे नजर आँखा बनाउने लाई
गिज्याएर मस्किदै मनि बस्छु अब
पुरन बियोग
मेरो दिलको छेऊमा गएर बस्नु है
मन मुटूको नजिक रहेर बस्नु है
यो जुनिमा तिमी र म संगै जिउने हो
मेरै भरमा परि ढुक्क भएर भएर बस्नु है
भगवती लामा
तिम्रै घरको बाटो हिड्न मन लाछ
आमा बाबा दिदी बहिनी चिन्न मन लाछ
हाम्रो प्रेम कहानी सुनाएर सबै सबै
अब बिहेको कुरा आफै छिन्न लाछ
पुरन बियोग
बिहेको कुरा छिट्टै छिन्न पाउने छेऊ
मेरा सबै खुशी हरु किन्न पाउने छेऊ
तिमी केबल मलाई साथ देऊ भगबती
दिदी बहिनी बाबा आमा चिन्न पाउने छेऊ


संविधान निर्माणका लागि युवाहरुको सिर्जनात्मक दवाव

Posted by Tekman Shakya | | Posted in ,

काठमाडौं, । समयमैं संविधानका लागि राजनीतिक दलहरुलाई सकारात्मकरुपले रचनात्मकल दवाव दिँदै आएको नागरिक समूहले संविधान निर्माणका लागि रचनात्मक दवाव दिने उद्देश्यसहित राष्ट्रकवि माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कविता वाचन तथा यो देशमा म एउटा मानिस खोजिरहेछु नामक भिडियो सार्वजनिक गरेको छ ।

शिर्ष दलहरुलाई संविधान जारी गर्न तथा संविधान सभाको विदाई गरि युवा पुस्तामा नेतृत्व पुस्तान्तरणको अभियान चलाउन दवाव दिँदै आएको नागरिक समुहले माघ ८ को समय गुज्रिरहँदा रचनात्मक दवाव स्वरुप कार्यक्रम गरेको हो ।

कार्यक्रमका राष्ट्रकवि माधव प्रसाद घिमिरेले देश अब युवाहरुको काँधमा रहेको बताउँदै मुलुकमा योग्य र सक्षम व्यक्तिको खाँचो रहेको औंल्याए । राष्ट्रकविले भने—‘देशलाई फुटाउने होईन, जोड्ने नेताको खाँचो छ, स्वाभिमानसहित गर्व गर्ने नेपालीहरुलाई एकतामा बाँध्ने नेताको आवश्यकता छ ।’

एक वर्षको दौरानमा देशव्यापी दवाव, धर्ना, शिर्ष दलका शिर्ष तथा युवा नेता, राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतलाई समयमैं संविधान जारी गरि मुलुकलाई आर्थिक समृद्धिमा लैजानका दवाव दिँदै आएको नागरिक समुहले अस्थिर राजनीतिबाट जोकोहीले फाईदा लिने हुँदा संविधान जारी गर्न बिलम्ब गर्न नहुने बताउँदै सकारात्मक दवावमूलक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा समुहका संयोजक निगम हुमागाईंले देशलाई बन्धक बनाउन नहुने तर्क गर्दै अब जनता आफैं सचेत भैसकेको र देशकोबारे निर्णय लिन सक्ने बताउँदै दलहरुले अब जनतालाई झुक्याउन नसक्ने दावी गरे ।

भिडियो सार्वजनिक कार्यक्रममा भिडियोका निर्देशक एवं नागरिक समुहका अभियन्ता प्रेम बानियाँले देश संक्रमणबाट गुज्रिरहेको तथा मुलुक गम्भिर भड्खालोमा फस्न सक्ने भएकाले समयमैं दलहरुलाई दवाव दिनु पर्ने बताए । उनले देश गम्भिर अवस्थामा रहेकोले राजनैतिक निकास दिन जरुरी भएको बताए ।

कार्यक्रममा कवि तथा व्यंग्यकार लक्ष्मण गाम्नागे, विमल नेपाल, प्रा. वामदेव शर्मा, बहादुर पाइजा मगर, प्रा.डा. यादव प्रसाद ढुंगाना लगायतले कविता बाचन गरेका थिए भने डिजिटल पत्रिकाको अनलाईन संस्करणको शुभारम्भ गरिएको थियो ।

लघुकथाः विश्वास

Posted by Unknown | Friday, January 16, 2015 | Posted in

एकदेव अधिकारी

घरायसी कामधन्दामा व्यस्त सरला फोनको घण्टी सुनेर फोनतिर लम्कन्छे।
“हजुर सरला म्याडम बोल्नुभएको होइन?” उताबाट आवाज आउँछ।
“हजुर बोल्दैछु।” सरला जवाफ दिन्छे।
“म विद्यासागर कलेजबाट प्रिन्सीपल बोल्दैछु। हजुरको बाबु बिनयको विषयमा केही कुरा गर्नु थियो हजुर यसो विद्यालयतिर आउनुहोला न है?”
शैक्षिक भ्रमणको लागि भनेर दुइदिन अगाडि निस्केको छोरोको बारेमा विद्यालयबाट त्यसरी फोन आउँदा उसको मनमा चस्को पस्यो। कुनै अनिष्टको आशङ्काले उसको मनमा घर गर्यो। फोन राख्नासाथ, हतार-हतार विद्यालय तर्फ लागि ऊ।
“के भयो सर बाबुलाई।” अत्तालिँदै प्राचार्य कक्षमा पस्नासाथ उसले सोधी।
“कृपया नआत्तिनुहोला। मलाई जहाँसम्म लाग्छ, तपाईँको बाबुलाई केही भएको छैन। भ्रमणको लागि भनेर बाबुले घरबाट कति पैसा लगेको थियो?”
अचानक आएको यो प्रश्नले उसलाई झस्कायो। यसतर्फ उसको ध्यान नै गएको थिएन। भ्रमण जानु अघि उसले विद्यालयको फिसमेत भनेर पैसा केही दिन अघिदेखि नै माग्दै थियो। उसको बाबुसँग दुबईमा फोन गरेर उसले पचासहजार मगाएर बिनयकै हात पठाएकी थिई। भ्रमणको लागि भ्रमण शुल्कका साथै विद्यालयको फि चुक्ता गर्नु उसलाई अचम्म त लाग्दैथियो तैपनि उसका बाबु बिदेशिएदेखि बजारको किनमेल देखि घरका कामधन्दामा पनि बेलाबेलामा सघाउने बिनयमाथि उसको पुरापुर विश्वास थियो।
उसले प्राचार्यलाई उसले ल्याएको रकमको जानकारी दिई। त्यसपछि केहीबेरको मौनतालाई भङ्ग गर्दै प्राचार्यले भन्न थाले।
“हेर्नुस, हामीले हजुरलाई अगाडि पनि रमिलासँग बाबुको हेलमेलको बारेमा पटक-पटक जानकारी गराएका थियौँ तर हजुर त्यो कुरा मान्न तयार हुनुभएन। छोरोमाथि हदैभन्दा बढी विश्वास छ भन्नुहुन्थ्यो। हिजो रातिदेखि दुवैजना इटहरीको लजबाट भागेर बेपत्ता भएका छन्....
प्राचार्यले त्यसोभन्दा भन्दै उसको आँखा अगाडि अन्धकार छायो। टेबुलको सहारा लिन खोज्दा खोज्दै कतिखेर भुँइँमा टाउको बजारियो पत्तै पाइन।

सोह्र बर्षे तन्नेरीको जातै रमाइलो

Posted by Unknown | | Posted in

मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही 




सोह्र बर्षे तन्नेरीको जातै रमाइलो
उत्ताउलो जवानीको मातै रमाईलो

अपरिचित अन्जान भन्नै नपर्ने भो
गरिने चिनजानको शुरुवातै रमाईलो

स्पर्शको चाहनाले नजिक हुदै गर्दा
छिल्लिएर गरिने त्यो बातै रमाईलो

लुकामारी खेल्ने त निहुँ मात्र रैछ
दुबै जना हराउँदाको साथै रमाईलो

मायाप्रीति भन्ने कुरा उमेरमै रैछ
छट्पटीमा काटेका ती रातै रमाईलो

आदिकवि भानुभक्त आचार्यको लघु जीवनी

Posted by Unknown | Tuesday, January 13, 2015 | Posted in

 नरेन्द्रराज प्रसाई

विश्वका 'पैंतीस प्रसिद्ध पुरुष' नामक ग्रन्थमा प्रा.राजनारायण प्रधानले लेखेका छन् 'भानुभक्त पढेर हाम्रो शिक्षा आरम्भ हुन्छ, उनलाई हेला गरेर समाप्त हुन्छ ।'

नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्य जन्मेको १९९ वर्षलाग्दैछ । यस फेरोमा नेपाली भाषाले आफ्नो गच्छेको नेटो चढी सकेको छ । त्यतिमात्र होइन, आजसम्म हामी एकअर्कामा जति मिल्न सक्यौं त्यो देन भानुभक्तकै पनि हो ।

१९४८ सालको कुरा हो, भानुभक्तलाई मोतीरामले सर्वप्रथम आदिकवि लेखे । त्यही लहरोमा लहरिंदै त्यसको ५० वर्षछि श्री ३ जुद्धशमशेरको 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम प्रमाङ्गी भएपछि नेपाली जनजीवनले भानुभक्तलाई आदिकवि भन्न थाले ।

भानुभक्तकी नातिनी विष्णुमायादेवीले नै १८७१ साल असार २९ गते भानुभक्त जन्मेको बेहोरा जनमाझ पेस गरिन् । अनि पण्डित नरनाथ आचार्यले पनि त्यसै बमोजिमको जन्मकुण्डली निकाले । बालकृष्ण समले चाहिं भानुभक्तकी पत्नीको नाउँ रेवती भएको खुलसा गरे ।

भानुभक्तकालीन युगमा जनजीवनमा नेपालीभाषाको त्यति मान्यता थिएन । त्यतिखेर संस्कृतभाषाकै वर्चस्व थियो । संस्कृतका ज्ञाता हुँदाहुँदै पनि भानुभक्तले चाहिं प्रायः नेपालीभाषामा नै आफ्नो साहित्य लेखे । उनी मान्छेसँग बोल्दा पनि कवितामै बोल्थे ।

भानुभक्तले सानो उमेरमा धेरै कुरा जाने । सानैदेखि भानुभक्त उनका बाजे श्रीकृष्ण आचार्यसँगै नारिएर हिंड्थे । श्रीकृष्ण खेतीपाती गर्नेदेखि समाजसेवा, धर्मकर्म गर्नेसम्म र शास्त्रीय परम्रम्पराका कुरा गर्न समेत सिपालु थिए । त्यस्तो परिवेशमा हर्कंदै भानुभक्तको जीवनचर्या पनि एउटा स्रष्टाको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजषिर् ठाँटको जस्तै बन्न थाल्यो ।

श्रीकृष्ण आचार्यका छोरा धनञ्जय पनि विद्वान थिए । उनी सरकारी जागिरे थिए र उनको पद खरदार थियो । जागिर खाएपछि उनले छोरो पनि पाए । त्यतिखेर तनहुँ रम्घाको चुँदीबेसीमा धर्मावतीदेवीको कोखबाट भानुभक्त जन्मेका थिए ।

भानुभक्त सानैदेखि बौद्धिक चेतका धनी थिए । उनी लेखेर पनि थाक्तैन थिए ।त्यस जुगमा यिनले जति गरे धेरै गरे । तर पछि यिनलाई चम्काउने काम मोतीरामले नै गरे ।

३७ वर्षढल्केपछि भानुभक्तले सरकारी जागिर पाए । जागिरे भएपछि उनका हाकिमले उनको खेदो गर्न थाले र दुई वर्षमा नै उनको जागिर खोसिदिए । त्यतिले मात्र नपुगेर ती हाकिमले उनलाई रकम हिनामिना गर्ने भ्रष्टाचारी भनेरै पोलिदिए । त्यसपछि उनलाई कुमारीचोकको खोरमा थुनियो । तर त्यो कैद
उनका लागि वरदान बन्यो । उनले त्यहाँ रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरे । त्यतिबेला उनी त्यहाँ पाँच महिना थुनिएका थिए ।

भानुभक्तकृत रामायण नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य बन्यो । उनको रामायण अनुवाद भएर पनि यस कृतिलाई उनले मौलिक रूपमा प्रस्तुत गरे ।

भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू पनि नेपालीभाषामा नै लेखे । साथै उनका फुटकर कविताहरूको हाँगाविगा पनि प्रशस्तै पलायो ।

भानुभक्त आचार्यलाई कालज्वरले मरणासन्न पार्यो । तर त्यस घडी उनी फाटफुट तङ्ग्रिएको अवस्थामा पनि लेख्थे । खास गरेर उनले आफ्ना हितैसी धर्मदत्त सुब्बाको आग्रहमा रामायणको उत्तर काण्डको 'रामगीता'को पनि नेपालीभाषामा अनुवाद गरे । सकिनसकी पनि उनले आफ्नो जीवनको अन्त्यमा आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाएरै छाडे । अनि त्यस कृतिको आविष्कार भएपछि उनले आफ्ना भौतिक आँखा चिम्लेका थिए । त्यो समय थियो- १९२५ साल ।

महाकवि देवकोटाबारे केही जानकारी

Posted by Unknown | | Posted in

नरेन्द्रराज प्रसाई
* * * * * * * * *
• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार
काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
• तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद
देवकोटा साइँला छोरा थिए ।
• देवकोटाका सात जना दिदीहरू थिए ।
• देवकोटाले दस वर्ष नपुगी कविता लेखेका थिए । त्यति बेला आफ्नी जेठी
भाउजू सोमकुमारीको व्यथामा डुबेर 'म त अभागी पो भएँ' शिर्षकमा उनले कविता
लेखे ।
• देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट
एक्कैचोटि दसौँ कक्षा पढेका थिए ।
• देवकोटाले १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढेका थिए ।
• देवकोटाले आइएस्सी पढ्दा लेखेको 'वसन्तषोडसी' शीर्षकको कविता 'लक्ष्मी,
टीसी कलेज, नेपाल'का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो ।
• देवकोटाले प्राइवेट परीक्षार्थीका रुपमा पटना विश्वविद्यालयबाट बीए पढे
र त्यहीबाटै बीएल पनि पास गरे ।
• देवकोटाले लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र
त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
• सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो ।
• देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
• देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत गाउँथे,
हार्मोनियम र तबला पनि बजाउँथे ।
• देवकोटालाई २००४ सालमा वनारसबाट प्रकाशित हुने "उदय"मा  ईश्वर बरालले
"महाकवि"को उपाधि लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालियो ।
त्यसभन्दाअघि उनलई युगकवि भनिन्थ्यो ।
• देवकोटा महाकविमा प्रसिद्ध भएपछि सिद्धिचरण श्रेष्ठले देवकोटासँग
"युगकवि"को उपाधि मागेर २०१२ सालमा आफ्नो नाउँअघि युगकवि लेखे; अनि उनी
पनि युगकविमा नै चर्चित भए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा प्रोफेसरको जागिर पाए । बीए पास भएर
प्रोफेसर हुने उनी प्रथम नेपाली थिए ।
• देवकोटा गरीव थिएनन् तर अति अव्यवहारिक थिए । हातमा पैसा परेपछि कसरी
फुर्मास् गर्ने भन्ने सोचमा उनी केन्द्रित हुन्थे । अनि जताबाट भए पनि
उनी पैसा मास्नेतिरै उन्मुख हुन्थे र भोलिपल्टदेखि भोकै पनि सुत्थे ।
यसको मुख्य कारण के हो भने- मनदेवीले धर्मका नाउँमा पैसा उडाउन थालेपछि
देवकोटाले पनि घरमा पैसा ल्याउन चाहँदैन थिए ।
• देवकोटालाई १९९५ साल पुस २० गतेदेखि १५५ दिन राँचीको पागलखानामा राखिएको थियो ।
•  पागलखानाको उपचारका क्रममा देवकोटालाई डा.बर्कले हिलले भनेका थिए,
'देवकोटाजस्तो मान्छे नेपालमा जन्मनु भौगोलिक गल्ती हो ।'
• देवकोटाले २०१० सालमा रूमानिया जाँदा सिरक, डस्ना र सिरानी नेपालबाटै
लगेका थिए । उनी जहाजबाट ओर्लेपछि आफ्नो बेडिङ आफै बोकेर हिड्थे ।
त्यतिबेलाको त्यो दृश्य धेरैलाई रमिता भएको थियो ।
• देवकोटा २०१० सालमा चीन गए । त्यसबेला अध्यक्ष माओ त्सेतुङसँग उनले हात
मिलाएका थिए ।
• देवकोटाले चीनबाट फर्केपछि चीन र माओको धेरै व्याख्या गरे । त्यसबारे
उनले दुईटा कविता पनि लेखे । त्यसपछि उनलाई कम्युनिष्टको आरोप लगाएर
काङ्ग्रेसले धेरै दुक्ख दिन थाले । तर उनलाई राजा महेन्द्र र गणेशमान
सिंहले काखी चेपेका थिए । गणेशमान सिहंले त देवकोटाको खुट्टा नै ढोग्थे ।
• देवकोटा भारतका तीन महान कवि प्रसाद, पन्त र निराला बराबरी एउटै सिङ्गो
कवि थिए ।
• देवकोटाले महापण्डित राहुल साङ्कृत्यानका कारणले 'पागल' लेखे र त्यस
कविताको प्रथम पाठक जनकलाल शर्मा थिए । पागल कविता वाचनकै क्रममा
देवकोटाले झन्नै जनकलाल शर्मालाई कुटेका थिए ।
• देवकोटालाई पागल सम्झेर मदन पुरस्कार (मदन पुरस्कारलाई म बक्सिस्
भन्छु) दिइएन । खास कुरा के थियो भने रानी जगदम्बाले देवकोटालाई
पुरस्कारका साथै थप नगद र जिन्सी दिन्छिन् भन्ने डरले उनलाई जगदम्बाको
आँखाबाट ओझेल पारिएको थियो ।
• देवकोटा अति नै लोकप्रिय भएपछि मदन पुरस्कार गुठीका अध्यक्ष (रानी
जगदम्बाका तत्कालीन निजीसचिव) कमल दीक्षितले देवकोटाको स्तुति गरेर २०६६
सालमा "गुरूभेटी" भन्ने किताप लेखे- "२००४ सालमा वनारसमा देवकोटाले भिख
माग्दा मैले पनि एक रूपियाँ चन्दा दिएको थिएँ" भन्ने उक्त कितापको मुल
मन्त्र देखियो । त्यसै सन्दर्भमा मैले (नरेन्द्रराज प्रसाईले) त्यस
बेहोराको कठोर आलोचना गरेर दीक्षितकै सम्पादनमा मदन पुरस्कार गुठीबाट
प्रकाशित "नेपाली" त्रैमासिक २०६६ सालमा एउटा लेख छपाएको थिएँ ।

• देवकोटा आफ्नो निर्णयमा हिड्दैन थिए; जसले जे भन्यो उनी त्यसकै पछि लाग्थे ।
• देवकोटालाई २००४ साल साउन ३ गते झुक्याएर बनारस पुर्यार्इएको थियो ।
•  देवकोटा २००९ साल वैशाख १ गते राजा त्रिभुवनबाट सांसद भए । त्यसपछि
पनि राजा महेन्द्रले उनलाई माननीय सांसदमा मनोनीत गरेका थिए ।
• २०१३ सालमा भारतमा सम्पन्न अफ्रोएशियाली लेखक सम्मेलनमा भाग लिने
देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको केहीले अपमान गरे तापनि
सबैभन्दा धेरै मान उनैको गरिएको थियो । "धर्मयुग"जस्तो सुप्रसिद्ध र
विशिष्ट हिन्दी पत्रिकाले समेत देवकोटाको फोटो आवरणमा राखेर जय मनाएको
थियो ।
• २०१५ सालमा अफ्रोएशियाली सम्मेलन सोभियतसङ्घको तासकन्दमा भएको थियो र
त्यहाँ जाने पनि देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको भाषण संसार
प्रसिद्ध भयो ।
• देवकोटापछि अफ्रोएशियाली सम्मेलमा भाग लिने प्रथम नारी स्रष्टा
डा.वानीरा गिरी थिइन् ।
• देवकोटाले नै नेपाली भाषालाई सर्वप्रथम अङ्ग्रेजी साहित्यका माध्यमले
अन्तर्राष्ट्रिय जगतमा पुर्याएका थिए । उनी नेपाली, अङ्ग्रेजी, नेवारी
लगायत चौध भाषा बुझ्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदामा
छापिएको थियो ।
• देवकोटा २०१४ साल साउन ११ गतेदेखि ११० दिनसम्म मन्त्री भएका थिए ।
त्यसैबेला नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने
व्यवस्था मिलाएका थिए ।
• देवकोटाले मन्त्री भएका बेला उनका समकक्षी मन्त्री जनरल भूपालमानसिंह
कार्कीको समेत साथ पाएर त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा पाँच
हजार रोपनी जग्गा अधिकरण गरेका थिए ।
• देवकोटा मन्त्री भएका दिन उनलाई निवासबाट मन्त्रालय पुर्याउने काम
सत्यमोहन जोशीले गरेका थिए ।
• देवकोटा केटी प्रिय थिए । उनले केहीसँग मन जोडे र केहीसँग तन पनि जोडे
। उनले सोभियत रूस, भारतको पटना र दार्जिलिङ अनि काठमाडौंका केही केटीसँग
माया साटासाट गरेका थिए ।
• देवकोटाका ८४ वटा किताप छापिए; उनका ४५ किताप छाप्न अझै बाँकी छन् ।
• देवकोटाले 'मुनामदन' खण्डकाव्य ८ घन्टामा लेखेका थिए ।
• देवकोटाले १० दिनमा "सुलोचना" महाकाव्य लेखे । उनले भने "सुलोचना"
लेख्न मलाई ६० घन्टा लागेको थियो ।
• देवकोटाले खण्डकाव्य र काव्य ३६ वटा, महाकाव्य ६ वटा, कवितासङ्ग्रह २१
वटा र नाटक, निबन्ध प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखे । साथै
उनले केही किताप अनुवाद पनि गरे ।
• देवकोटा एउटा खसीको टाउको खाएर एकै रातमा एउटा खण्डकाव्य लेख्न सक्थे ।
• देवकोटाकै स्नेहले सोभियत रूसकी डा.आगानीनाले महाविद्यावारिधि गरेकी थिइँन् ।
• देवकोटाले 'उद्धेश्य के लिनु ? उडी छुनु चन्द्र एक' लेखे । त्यो लेख्ता
धेरैले देवकोटा पागलै हुन् भनेका थिए; तर उनी स्वर्गीय हुनु पाँच
घण्टाअघि उनकी प्रिय स्रष्टा डा.आगानीनाकै देश अर्थात् रूसको यानले
चन्द्रमामा खुट्टा टेकेको थियो ।
•  देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा
क्यान्सरका कारणले दिवङ्गत भए ।
* * *

    Popular Posts