Published On:Friday, February 6, 2015
Posted by Unknown
यसरी झांगिएछ कान्छी सभासद् र राजकिशोरको माया
संविधानसभामा कान्छी सभासद् रहेकी सरिता यादव पूर्व सञ्चारमन्त्री राजकिशोर यादवकी श्रीमती हुन् । उमेरले साढे २५ वर्षकी सरिता र राजकिशोर यादववीच १० वर्षअघि विवाह भएको थियो । तर विवाह अगाडि राजकिशोरले अर्कै एक जना केटीलाई मन पराउँथे । पछि मात्र उनले सरितासँग विवाह गरेका थिए । सरिता यादव जो अहिले संविधान निर्माणको जिम्मेवारी बोकेर संविधानसभाभित्र छिन्, उनी र राजकिशोर यादवबीच कसरी भेट भयो? उनीहरूको प्रेम सम्बन्ध बारे राजकिशोर यादवको बयान

प्रेम सबैका लागि अनिवार्य हुन्छ । र, २०५९ तिर पुग्दा मलाई पनि जीवनसाथीको प्रेमको अभाव महसूस हुन थाल्यो । आफ्नो हुनेवाला जीवनसाथी यस्ती भइदिए हुने, उस्ती भइदिए हुने भन्ने जसको पनि चाहना हुन्छ । यसै क्रममा ०५९ सालतिरको कुरा हो, मैले एकजना केटीलाई मनमनै मनपराउन थालें । जीवनमा मैले पहिलो पटक कुनै एउटी केटीलाई मन पराउँदै थिएँ । जतिबेला म आफ्नो सफल भविष्यका लागि काठमाडौंमा भौतारिंदै थिएँ । एकातिर एकदम राम्रो जागिर वा व्यवसाय र अर्कोतिर दुःखसुखमा साथ दिने जीवन संगिनीको खाँचो महसूस हुँदै जाँदा मैले उनलाई मन पराएको हुँ । मैले मन पराएको केटी मेरो आफ्नै अफिसको स्टाफ थिइन् । जतिबेला म सीता एयरको इञ्जिनियर थिएँ । मैले मन पराएको उनी एयर होस्टेज हुन् । अहिले उनको विवाह पनि भइसक्यो नाम चाहिं नभनौं । उनी मेरो मिल्ने स्टाफ पनि भएकाले म उनीलाई निकै माया गर्थें तर भन्न सकेको थिइनँ । एउटा असल साथीको रूपमा चाहिं उनी पनि मलाई माया गर्थिन् तर साँच्चै प्रेम प्रस्ताव राखेको भए के जवाफ पाउँथें मलाई आजसम्म पनि थाहा छैन । लामो हाँसो ‘
कार्यालयमा सँगै रहँदा र सँगै नरहँदा पनि म उनीसँग विवाह भएका सपनाहरू देख्न थाल्थें । त्यसपछि जतिवेला पनि मेरो मनमा म उनीसँग विवाह गर्न पाए हुन्थ्यो, जीवनसाथी बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यतिबेलासम्म म उनलाई यसरी मन पराउन थालिसकेको थिएँ कि अब मेरा लागि अन्य विकल्प नै छैन जस्तो । जतिवेला पनि मेरो मनमा उनी मात्र आउँथिन् । त्यसपछि मैले मेरो एक जना मिल्ने साथीलाई यी सबै कुरा भनें । तर उसले मेरो अपेक्षा विपरीतको सुझाव मलाई दियो । उसले मलाई तिमीहरूको विवाह सम्भव छैन, विवाहका लागि पृष्ठभूमि नै मिल्दैन, उनी काठमाडौंकी केटी, उनीसँग कल्चर देखि प्रोफेसन केही पनि मिल्दैन, अब यस्तो सपना बन्द गरिदेयो भन्यो । ऊ मेरो मिल्ने साथी थियो, मैले नाइँ भन्न सकिनँ र सजिलै हुन्छ पनि भन्न सकिनँ । उसले फेरि भन्यो, यदि तिमीहरू दुईको विवाह भयो भने पनि लामो समयसम्म सम्बन्ध सुमधुर हुन गाह्रो छ । साथीको यो सुझावले भने मलाई निकै झस्क्यायो । केही दिनका लागि मात्र मन पराएर हुँदैन, जीवनसाथीलाई जीवनभरि यस्तै माया गर्न सक्नुपर्छ तर संस्कार, पृष्ठभूमि आदित्यादि कारणले तिमीहरूबीच राम्रो सम्वन्ध नहुन सक्छ भन्नेमा साथीको जोड रह्यो ।
साथीको त्यस्तो सल्लाहले मलाई निकै गम्भीर बनायो र यो सम्बन्ध वा मभित्र आएको भावनालाई विभिन्न पाटोबाट केलाउँदै थिएँ, एक्कासी मलाई घरबाट बोलाइयो र म घरतिर लागें । म त्यतिबेला एक प्रकारको फ्रस्टेसनमा थिएँ । किनकि म मैले चाहेजस्तो जिन्दगी पाइरहेको थिइनँ । म जागिरमा पनि सन्तुष्ट थिइनँ र जे भइरहेको थियो त्यसमा झनै सन्तुष्ट थिइनँ । मेरो अर्धचेतन मनले मलाई सामान्य जीवनस्तरमा रमाउनै दिएन । एकातिर प्रेम चक्कर र अर्कातिर भविष्यको चिन्ता । म हरेक समय के गर्दा चर्चामा पुग्न सकिन्छ भन्ने सोचिरहेको हुन्थें । त्यतिबेला सँगै पढेका मेरा साथीहरू दिल्लीमा कम्तीमा पनि महिनाको २ लाख भारु कमाइरहेका थिए । तर म सकिरहेको थिइनँ । म धेरै पैसा कमाउन चाहन्थें । किनकि मलाई अरूले भन्दा बढी केही गर्न मन थियो । यसरी २०६० देखि २०६३ सम्मको मेरो जीवनमा निकै उतारचढाव आयो ।
घर गएपछि परिवारमा मेरो विवाहको कुरा चल्यो । विवाह मैले मन पराएकी केटीसँग हुँदै थिएन । किनकि मैले उनलाई मन मात्र पराएँ तर मन पराउँछु भनेर भन्न सकिनँ । मेरो बारेमा सरिता (अहिलेकी श्रीमती) को घरबाट मेरो बारेमा कुरा आयो । त्यसपछि बुबा र केही आफन्तहरू गएर केटी हेर्नुभयो । उहाँहरूलाई केटी मन परेपछि विवाह गर्ने कुराकानी गर्नुभएछ । हाम्रो यादव परिवारमा केटाले भन्दा पनि केटाको बाबु वा आफन्तले केटी हेर्ने र उनीहरूले मन पराएपछि मात्र विवाह गर्ने प्रचलन थियो । तर मैले म आफैंले केटी हेरेर उनीसँग कुरा गरेपछि मात्र विवाहको निष्कर्षमा पुग्ने प्रस्ताव राखें । म मेरो हुनेवाला श्रीमतीसँग मेरो चाहना, बुझाइ वा विचारका बारेमा कुराकानी गर्न चाहन्थें । त्यसपछि म र मेरो भरत शर्मा भन्ने साथीलाई लिएर केटी हेर्न र उनीसँग कुरा गर्न सरिताको घर गएँ ।
सरिता र म छुट्टै एउटा कोठामा बसेर कुरा गर्न थाल्यौं । उक्त भेटमा मैले मेरो परिचय लुकाएको थिएँ । मैले म राजकिशोरको साथी भएको र उसले यस्ता कुरा गरेर आउनु भनेकाले आएको भनी ढाँटें र कुराकानी गरें । कुरा गर्दै जाँदा उसको सादा जीवन, बोलीबचन, हँसाइ जस्ता सबै कुराले मलाई प्रभावित बनायो र लगभग आधा घण्टाको कुराकानीमै उनी मेरो मनभित्र बसिसकेकी थिइन् । मलाई यो केटी ठीक छ भन्ने निष्कर्षमा पुगें । त्यसपछि मात्र मैले आफू नै राजकिशोर यादव भएको बताएँ ।
मैले आफ्नो परिचय खुलाएपछि उनी झनै खुलिन् । उनले श्रीमान्बाट साथीको व्यवहार, आफ्नो फिलिङ बुझोस्, मलाई माया चाहिएको हो, माया दिन सक्नुपर्छ जस्ता कुरा गरिन् । त्यसपछि हाम्रो परम्परागत रूपमा विवाह सम्पन्न भयो । यसरी शुरु भएको हाम्रो सम्बन्ध अहिले पनि निकै सुमधुर छ । उनी र मबीच १५ वर्षको उमेर भिन्नता छ तर उमेरका कारण हामीमा कहिल्यै पनि मतभिन्नता आएको छैन । उनी निकै परिपक्व र इमान्दार महिला हुन् । यसैकारण पनि हाम्रो सम्बन्ध यति सुमधुर रहेको मेरो बुझाइ छ ।
विवाह भएको दुई वर्षपछि हाम्रो जेठो छोरो जन्मियो, ऊ अहिले २ कक्षामा पढ्छ । कान्छो छोरा युकेजीमा पढ्दैछ र छोरीलाई अहिले प्लेग्रुपमा राखेको छु । विवाह भएको १० वर्ष भइसक्यो हामीबीच एक दिन पनि भनाभन भएको छैन । उनी साढे २६ वर्ष भइन् तर निकै परिपक्व छिन् । हामी यति खुसी भएर बस्न चाहन्छौं कि कहिलेकाहीं विवाह नभएको गर्लफ्रेण्ड ब्वाइफ्रेण्डको जस्तो सम्बन्ध बनाउने र जिस्कने पनि गर्छौं । यो हाम्रो एकअर्कामा खुशी साटासाट गर्ने एउटा तरिका हो । फुर्सदको समयमा पनि हामी घरमै रमाइला कुराकानी गरेर विताउँछौं ।@ratopati online


