Published On:Wednesday, January 7, 2015
Posted by Unknown
चार दिन मजदुरी तीन दिन विद्यालय
२४ पुस, विराटनगर बाल्यकालमै बाबु बेपत्ता भए । आमाले दोस्रो बिहे गरिन् । चार सन्तानमा १९ वर्षका यामबहादुर परियार जेठा हुन् । अरू तीन बहिनी छन् । बस्नलाई गतिलो घर छैन न त खेती गर्न जग्गा नै छ । तर पनि चारैजना विद्यालय जान्छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यामबहादुर र उनका बहिनीहरू खेमकुमारी (१६), मनीषा (१४) र अञ्जली (१२) हप्तामा तीन दिन मात्र स्कुल जान्छन् । बाँकी चार दिन उनीहरू अरूको घरमा मजदुरी गर्न जान्छन् । त्यही पैसाले घरखर्च र पढाइखर्च पुर्याएका छन् । बाबुआमाले पनि छाडेपछि यामबहादुर तीन बहिनीका अभिभावक भएका छन् ।
यामबहादुर स्थानीय गोइगाढास्थित त्रिभुवन माविमा कक्षा १० मा पढ्छन् । उनका बहिनीहरू खेमकुमारी कक्षा १० मा, मनीषा र अञ्जली कक्षा ६ मा पढ्छन् । उनीहरू मूलबाटो किनारमा बनाएको बाँस र परालको भुइँतले दुईकोठे छाप्रोमा बस्छन् । तर, त्यहाँ असुरक्षित भएकाले बहिनीहरूलाई यामबहादुरले छिमेकी हस्तमाया बस्नेतको टाँडे घरमा सुत्न पठाउने गरेका छन् ।
स्थानीय महिला समाजसेवी हस्तमायाले नै उनीहरूलाई बाबुआमाले छाडेर हिँडेपछि सकेको सहयोग गर्दै आएकी छिन् । गाउँमै बालीघरे सिलाइ पेसा गर्दै आएका उनीहरूका बाबु रत्न परियार सात वर्ष पहिला बेपत्ता भए । बाबु बेपत्ता भएलगत्तै धन कमाउन भनेर विदेश पुगेर फर्केकी आमा बच्चुले दोस्रो बिहे गरिन् ।
बाबुआमाले नै छाडेपछि उनीहरूको विजोग भएको थियो । भर्खर स्कुल जान थालेका उनीहरूको बीचमा पढाइ पनि छुटयो । तर, यामबहादुरले मजदुरी गरेर बहिनीहरूलाई पढाए । पछि आफूले पनि पढ्न थालेका हुन् ।
शिक्षक हरि तिवारीले पनि चरम गरिबीले यामबहादुर र उनका बहिनीहरूको पढ्ने चाहनालाई रोक्न नसकेको बताए । यसै वर्ष एसएलसी परीक्षा दिने याम र उनकी ठूली बहिनी खेमकुमरीलाई आफूहरू निस्शुल्क ट्युसन पढाउन तयार भए पनि खानाखर्च जुटाउने समस्याले गर्दा उनीहरूले पढ्ने समय निकाल्न नसकेको बताए ।
उनीहरूको गरिबीको दुर्दशा देखेर विद्यालयले उनीहरूलाई चमेनागृह चलाउन दिएको थियो । केही वर्ष यामबहादुरले स्कुलमा चमेनागृह पनि चलाए । तर, तल्लो जातिको भनेर शिक्षकबाहेक अन्यले खाजा नखाएपछि चलाउन छाडे ।
पढिसकेपछि गाउँमै शिक्षक बनेर बहिनीहरूलाई बिहे गरेर पठाउने यामबहादुरको धोको छ । यामबहादुरका बहिनीहरू पनि पढेर शिक्षक बन्न चाहन्छन् । पढाइमा सफल विद्यार्थी रहेका उनीहरूलाई गरिबीले पनि पढ्न रोक्न नसकेकोमा आफूहरू दंग परेको गोइगाढास्थित त्रिभुवन माविका शिक्षक डिपी ढुंगेल बताउँछन् ।


