Published On:Wednesday, January 7, 2015
Posted by Unknown

‘दुबईमा आठ हजार नेपाली देह व्यापारमा’


भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईमा रोजगारीको प्रलोभन देखाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ । दलालले उनीहरूलाई भारतको दिल्ली हुँदै दुबई पुर्‍याइएको सिबिआईले जनाएको छ ।


केन्या लैजाने बहानामा उनीहरूलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य पारिएको अनुसन्धानमा पुष्टि भएको सिबिआईका एक उच्च अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘उनीहरूलाई केन्या लैजाने भनेर प्रलोभनमा पारिएको हुन्छ, तर दुबई पुगेपछि अलपत्र पारेर दलालको फन्दामा पुर्‍याइन्छ,’ ती अधिकारीले भारतीय दैनिक टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘एक वर्षको अनुसन्धानले उनीहरूलाई दुबईमै राखेर देहव्यापारमा लगाइएको पुष्टि भएको छ ।’

सन् २०१४ मा ब्युरोले अनुसन्धानका लागि एयर इण्डिया, कतार एयरवेज, अध्यागमन ब्यूरो, विदेशी नागरिक दर्ता कार्यालय र १५ वटा ट्राभल एजेन्सीमार्फत सूचना सङ्कलन गरेको भारतको सिलगुडीबाट प्रकाशित हिमालय दर्पणले बुधवारको अङ्कमा लेखेको छ । दलालहरूले नेपाली युवतीलाई दुबई हुँदै केन्या लैजाने प्रलोभन देखाउने गरेको पाइएको अनुसन्धानमा देखिएको छ ।

‘केन्याको भिसा, होटेल रिजर्भेसन र हवाई टिकट बुकिङसहित उनीहरूलाई दुबई पुऱ्याउने गरिएको छ’, भारतीय अनुसन्धान अधिकारीले टाइम्स अफ इण्डियासँग भनेका छन्, ‘दुबई पुगेपछि होटेल र हवाई टिकट रद्द गरेर उनीहरूलाई दलालको सम्पर्कमा पुऱ्याइन्छ ।’

बेचविखनमा संलग्न गिरोहको सक्रियतामा भारतीय बाटो भएर उनीहरूलाई दुवई लगायतका खाडी मुलकमा पुऱ्याइएको हो । सो गिरोहले २० देखि ३० वर्ष उमेर समूहका नेपाली युवतीहरूलाई विभिन्न बहानामा वेश्यावृत्तिका लागि दुवई पुऱ्याएको हिमालय दर्पणले जनाएको छ ।

 टाइम्स अफ इण्डियाका अनुसार नेपाली महिला तस्करीका लागि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिए पनि उनीहरूले प्रयोग गरेका कागजात आधिकारिक देखिएका छन् । आधिकारिक कागजातका कारण उनीहरूमाथि कारवाही अघि बढाउन नसकिएको सीवीआइका अधिकारीले दावी गरेका छन् । जुलाई २०१४ मा ७६ जना नेपाली युवतीहरू एअर इण्डियाको विमानबाट दुबई हुँदै केन्याको नैरोबी जाँदै गरेको सूचना पाएपछि सीवीआइले अनुसन्धान सुरु गरेको थियो ।

 ‘उनीहरूलाई केन्या नलगी दुवईमै राखेर वेश्यावृत्तिमा लगाउने गरिएको अनुसन्धानबाट पुष्टि भयो’, ती अधिकारीले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् । लामो अनुसन्धानपछि भारतीय केन्द्रीय अनुसन्धान व्युरोले भारतको विदेश मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, विदेशी नागरिक दर्ता कार्यालय र नेपाली अधिकारीहरूलाई समेत इन्टरपोलमार्फत उक्त गिरोहका बारेमा जानकारी दिएको छ ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments for "‘दुबईमा आठ हजार नेपाली देह व्यापारमा’"

Leave a reply

    Popular Posts

    Blog Archive