Published On:Thursday, January 1, 2015
Posted by Unknown
बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने
बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ। आजको कान्तिपुरमा छापिएको खबर अनुसार करिब १५ वर्षदेखि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेताको रूपमा रहेको हंशराज हुलासचन्द्र गोल्छा समूहले देशमै उत्पादन गर्न लागेको हो।
गोल्छा समूहले वार्षिक १८ हजार मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग विभागमा गत असोज ८ गते हुलास अटोक्राफ्ट प्रालि दर्ता गरेको छ। विभागको वेबसाइटमा उपलब्ध विवरण अनुसार २४ करोड रूपैयाँ लगानी गरिने उक्त उद्योग नवलपरासीको रामग्राममा रहनेछ। बर्सेनि १२५ सीसीका १० हजार वटा बाइक उत्पादन गर्ने लक्ष्य राखेको छ। तर बजाजले कुन कुन मोडल उत्पादन गर्ने भन्ने खुलाइएको छैन। देशमै उत्पादन हुने भएकाले केही सस्तो हुने अनुमान गरिएपनि यसबारे कम्पनीले आधिकारिक रूपमा प्रस्ट पारेको छैन।
मुलुकमा गतवर्ष मात्रै १ लाख ७५ हजार ३ सय मोटरसाइकल बिक्री भए। त्यसमा बजाज कम्पनीका मोटरसाइकल संख्या करिब ५० हजार थियो।
मुलुकमा निजी क्षेत्रबाट सबैभन्दा धेरै (१६ हजार जना) लाई रोजगार दिने गोल्छा अर्गनाइजेनले बिराटनगरमा मोटर उत्पादन गर्दै आएको छ । गोल्छाद्वारा उत्पादित मुस्ताङ म्याक्स गाडी पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चढेपछि निक्कै चर्चा भएको थियो । जुट, खाद्यान्न र इलेक्ट्रोनिक्स उत्पादनमा पनि गोल्छा अर्गनाइजेसन संलग्न छ ।
मोटरसाकइल उत्पादनका लागि दर्ता भएको उद्योगका प्रवर्द्धकमा शेखर गोल्छा छन् । उनी उद्योगबाणिज्य महासंघका उपाध्यक्ष हुन । गोल्छा अर्गनाइजेसन करिब १५ बर्षदेखि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेताका रुपमा छ । मोटरसाइकल उद्योगमा ६६ जनाले काम पाउने विभागको तथ्यांकमा उल्लेख भए पनि काम शुरु हुने वित्तिकै ३ सयले प्रत्यक्ष रोजगारी पाउने कम्पनी स्रोतले बतायो । नेपालमा लोकप्रिय बाइकहरुमध्ये बजाजका पल्सर र डिस्कभर पनि हुन् ।
यसअघि नेपालमै कस्मिक र लिफानले मोटरसाइकल उत्पादन थालेका थिए । ती हिजोआज बजारमा छैनन् ।



