Published On:Wednesday, November 12, 2014
Posted by dadad
बाँदर आतंकले बारी बाँझै
२६ कार्तिक, रामेछाप । रामेछापको बेतालीका होमप्रसाद घिमिरेको बारी बाँझै बसेको ३ बर्ष भयो । बाँदरले हैरान पारेपछि बेताली २ का होमप्रसाद मात्र होइन उनका छिमेकीले समेत केहि बर्षदेखी बारी बाँझै राखेका छन् ।
३ बालि हुने बारीमा अन्न लगाउन नपाएका बेतालीका किसानहरु बाँदर देखि दिक्क भएका छन् । बारीमा अन्न लगाउन नपाएपछि किसानहरुमा निराशा छाएको छ । रामेछाप जिल्लाका विभिन्न ४ भन्दा बढी गाउँ विकास समितिमा अहिले बाँदर आतङ्क मच्चिएको छ ।
बाँदरले हैरान पारेपछि नियन्त्रणको प्रयास गरेका गाउँलेहरुको नियन्त्रण प्रयास असंभव भएपछि उनिहरु अहिले प्रशासनसंग गुहार माग्न आइपुगेका छन् । बाँदरका कारण हैरान भएका बेताली २ का अर्का किसान तुलसी प्रसाद घिमिरेको २० रोपनी बारी अहिले बाँझै छ ।
दुइ बाली पकाएर अहिले तेश्रो बाली लगाउने बेला भएको बताउँने घिमिरे बाँदरकै कारण गाउँ छाड्नु पर्ने अबस्था आएको बताउँछन् । फागुनमा मकै छर्न नपाएका सोहि स्थानका किसान पुण्डरी घिमिरे अहिले आलु लगाउने बेलामा पनि बाँदरकै कारण बारी बाँझै राख्ने परेको बताउँछन् । फागुनमा मकै छरेपछि असारमा कोदो रोपेर अहिले आलु लगाउने यहाँका धेरै किसानको बारी बाँझै रहेको स्थानीय कृष्ण प्रसाद घिमिरेले बताए ।
घर भित्र पकाएर राखेको भातको भाँडा समेत बाँदरले बोकेर हिड्न थालेपछि गाउँमा बाँदर आतङ्क मच्चिएको हो । आतंक मच्चिएपछि किसानहरुले स्थानीय प्रशासनसंग बाँदरको नियन्त्रणका लागि उजुरी गरेका छन् । बाँदरले जिल्लाको बेताली, नामाडि, फर्पु र खिम्ती लगायतका गाउँ विकास समितिका किसानहरुलाई हैरानी दिएका छन् ।
गाउँमा सयौंको संख्यामा आएका बाँदरले खेत बारीको अन्न मात्र होइन, घर भित्र पकाएर राखेको भातको भाँडा समेत बोकेर हिड्न थालेपछि बाँदरको नियन्त्रणका लागि गाउँलेहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दिएका छन् । बाँदरले मानिसहरुलाई पनि आक्रमण गर्ने गरेका छन् ।
बाँदरको आतंक मच्चिएपछि गाउँलेहरुले स्थानीय स्तरमा नियन्त्रण गर्न असंभव भएकाले प्रशासनमा उजुरी दिनु परेकोे बेतालीबाट जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराउन आएका विनोद फुँयालले बताए । गाउँ विकास समितिको बजेटबाट बाँदर नियन्त्रणका लागि गरिएको प्रयास पनि असफल भएको गाउँलेहरु बताउँछन् ।


