Published On:Friday, November 7, 2014
Posted by dadad
कीर्ते कागजात बनाउने व्यवसायीमाथि अनुसन्धान सुरु
२१ कार्तिक, कञ्चनपुर । जग्गा खरिदमा कीर्ते कागज बनाएको आरोपमा पक्राउ परेका लेखापढी व्यवसायी जमनसिं रावलमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरले जग्गा खरिदका कागजात नियन्त्रणमा लिएपछि प्रहरीले रावललाई हिरासतमा राखेर कीर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक वीरभद्र खडायतले अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएकाले प्रमाण जुटेमा अदालतमा मुद्दा दायर गरिने बताए । बेलौरी नगरपालिकाका बहादुर राना र रतन बडवालले हरगोविन्द थापालाई जग्गा बेच्दा श्रीपुर गाविसको सिफारिस कीर्ते गरेको आरोपमा अख्यितारले रावलबाट कागजात नियन्त्रणमा लिएको हो ।
जग्गाको रजिस्ट्रेसन पास गराउन चाहिने गाविस मूल्याङ्कन सिफारिसलाई रावलले नक्कली बनाएर राजस्व छली गर्न सघाएको आरोप अख्तियारले लगाएको छ । रानाको रु १० लाख मूल्याङ्कन गरिएको जग्गाको रु तीन लाख र बडवालको चार कित्तामध्ये तीन कित्ताको बाटोको मूल्याङ्कन नै नगरिएको कीर्ते सिफारिस बनाएको देखिएको अख्तियारमा उजुरी परेको छ ।



