Published On:Thursday, November 6, 2014
Posted by dadad
सत्तापक्ष र प्रतिपक्षबीचको अंकगणितिय खेल बढि भयोः प्रचण्ड
२० कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको आडमा प्रक्रियामा गएर संविधान जारी गर्छु भन्दै सत्तारुढ दलहरुले अडान राख्नु गलत भएको टिप्पणी गरेका छन् ।
सत्तापक्ष र प्रतिपक्षबीचको अंकगणितिय खेल धेरै भएकै कारण सहमतीय वातावरण निर्माण हुन नसकेको भन्दै उनले सहमति र सहकार्य नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
विभिन्न राजनीतिक दल निकट १३ विद्यार्थी संगठनहरुको बिहीबार ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले संविधान निर्माणका लागि विगतमा भएका १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई ध्यान दिनुपर्ने बताए । पहिचानमा आधारित संघिय संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै उनले सत्तारुढ दलहरु यस विषयमा लचक बन्नुपर्ने बताए ।
विद्यार्थीहरुको पछिल्लो दबाबमुलक कार्यक्रमले भने संविधान निर्माणमा सकारात्मक असर परेको भन्दै अध्यक्ष प्रचण्डले आगामी दिनहरुमा पनि यस्तै दबाबको आवश्यकता औंल्याए । विद्यार्थीहरुले राखेका माग अनुरुप नै यातायातको मुल्य घटाउने विषयमा दलहरुबीच छलफल हुने र त्यस विषयमा आफु गम्भिर रहेको उनको भनाई छ ।
शैक्षिक माफियाहरुलाई कारबाहीको दायरामा कुनैपनि हालतमा ल्याउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले शैक्षिक क्षेत्रमा भैरहेका व्यतिथिहरुलाई न्युनिकरण गर्न पनि सबै जिम्मेवार पक्ष गम्भिर हुनुपर्ने बताएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले नेपाली माटोलाई बताए ।
ध्यानाकर्षणपत्रमा तोकिएको समयमै संबिधान जारि गर्नु पर्ने, अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य घटिरहेको अवस्थामा यातायातको मुल्य बढाउन नहुने, प्रत्येक दिन जसो भैरहेको सवारि दुर्घटना न्युनिकरणको लागि बिशेष कार्ययोजना ल्याउनु पर्ने, शैक्षिक क्षेत्रमा भएको अस्तब्यस्तताप्रति राज्यले सुधारको पहल गर्नु पर्ने लगातए माग समावेश रहेको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जनाए । तोकिएको समयमा नै संविधान निमार्ण गर्न दबाब स्वरुप ज्ञापनपत्र बुझाउने कार्यलाई निरन्तरता दिइएको विद्यार्थी संगठनहरुले बताएका छन् ।



