Published On:Thursday, January 8, 2015
Posted by Unknown
मेरो एउटा स्तन सानो देखिन्छ किन यस्तो भएको होला ?
म २७ वर्षको भएँ । एक वर्षअघि यहाँ (मलेसियामा) असुरक्षित यौनसम्पर्क राखेको थिएँ । शंका लागेर अहिले रगत परीक्षण गराउँदा एचआईभी नेगेटिभ देखियो । तर पनि आलस्यता बढ््ने, दुब्लाउँदै जाने, हातगोडा झमझमाउने भएकाले मलाई डर लागिरहेको छ । यसबारे बताइदिनुभए ढुक्क हुनेथिएँ ।
एक युवक, हालः मलेसिया
प्रवासी युवकजी, यौनसम्पर्क गरेको एक वर्षपछि एचआईभी परीक्षण गराउँदा देखिएन भने तपाईंलाई संक्रमण भएको छैन भन्ने स्पष्ट भयो । खतराको समयावधि यौनसम्पर्क राखेको तीन महिना मात्रै हो, तपाईंको त एक वर्ष भइसकेछ । जहाँसम्म तपाईंका लक्षणहरु छन्, ती सबै कुनै रोगसँग मिल्नेभन्दा पनि मनोगत प्रकृतिका लाग्छन् । यो सबै वास्तविकता भन्दा पनि डर, ग्लानि, शंका–उपशंकाहरुको उपज हो जस्तो लाग्छ । ढुक्क हुने, आफू स्वस्थ छु भन्ने कुरामा विश्वस्त हुने, शंका निवारण गर्ने र अबउप्रान्त यौनसम्पर्क गर्नै पर्ने अवस्था आएमा सुरक्षित उपाय अपनाउने गर्नुस् । अहिलेलाई ढुक्क भएर आफ्नो काम गर्नुस् ।
मेरो मृगौलामा ८ एमएमको पत्थरी भएको परीक्षणबाट थाहा भयो । चिरफार नगरी पनि पत्थरी निकाल्न सकिन्छ भन्ने सुनेको छु । के यो सम्भव छ ? कम खर्चमा उचित उपचार कसरी पाउन सकिएला ?
विजयकुमार थापा, सल्लाघारी, भक्तपुर
विजयजी, तपाईंको मृगौलाको पत्थरको आकार त्यति ठूलो रहेनछ । त्यति सानो पत्थर आफैं पनि निस्कन सक्छ । त्यस्ता कुरा गहिरो ज्ञान भएका सम्बन्धित विशेषज्ञले भन्न सक्छन् । आजकल विज्ञानको विकासले गर्दा उपचारका नयाँ–नयाँ प्रविधि आएका छन् । पत्थरलाई लेजरले बाहिरबाटै फोर्ने, सानो प्वाल पारेर निकाल्ने, पुरानै तरिकाले शल्यक्रिया गरेर निकाल्ने आदि पत्थर निकाल्ने धेरै प्रविधि हुन्छन् । कुन बिरामीलाई किन, कसरी, कुन विधिले उपचार गर्नु श्रेयष्कर हुन्छ भन्ने कुरा मृगौलाको शल्यचिकित्सक बिरामीसँगै बसेर छलफल गरी निक्र्योल गर्ने कुरा हो । उपचारको खर्चबारे भन्नुपर्दा समय, जटिलता, बिरामीको तत्परता, प्रविधिलाई हेरेर तय गरिने कुरा हो । तपाईं भक्तपुरमै भएकाले भक्तपुरमै हालसालै खुलेको मृगौलाको पत्थरीको उपचारसमेत गर्ने मानव अंग प्रत्यारोपरण केन्द्रमा उपचारका लागि जान सक्नुहुन्छ । अथवा वीर अस्पताल, शिक्षण अस्पताल वा मेडिकल कलेजहरुमा जहाँ भए पनि सम्पर्क गरी उपचार गराउने सल्लाह दिइन्छ ।
मेरी श्रीमतीको महिनावारी बन्द भएको ३ वर्ष जति भयो । शायद यही कारणले हो कि उनमा यौनचाहना पटक्कै नभएको महसुस गरेको छु । यौनचाहना बढाउने कुनै उपाय भए बताइदिनुहुन्थ्यो कि ?
नाम गोप्य, चापागाउँ, ललितपुर
नाम गोप्य राख्ने श्रीमान्जी, महिनावारी बन्द किन भयो भन्ने कुरा थाहा लागेमा धेरै कुरा स्पष्ट हुने थियो । तपाईंले आफ्नो र श्रीमतीको उमेर भन्नुभएन । उमेरकै कारणले महिनावारी बन्द भएको खण्डमा यौनचाहना घटेर जानु स्वाभाविक नै हो । उमेर नभई महिनावारी बन्द भएमा पनि निराशा र चिन्ताले त्यस्तो हुन सक्छ । तपाईंले शंका–उपशंका नगरी सबै कुरालाई आत्मसात् गर्नुस्, मनन गर्नुस्, सल्लाह गर्नुस् र सकारात्मक चिन्तनमा अघि बढ्नुस् । पूरा विवरण थाहा नपाई यसै भन्न नसकिने भएकाले सबै कुरा स्पष्ट हुनका लागि एकपटक फुर्सद मिलाएध र स्त्रीरोग विशेषज्ञलाई देखाउन सल्लाह दिइन्छ ।
म १८ वर्षकी भएँ । नजानिदो पारामा मेरो एउटा स्तन सानो देखिन्छ । अहिलेसम्म त मेरी दिदीलाई बाहेक अरुलाई थाहा पनि छैन । किन यस्तो भएको होला ? पछि यसले ठूलै समस्या निम्त्याउँछ कि भन्ने चिन्ता लागेको छ ? दिदीकै सल्लाहमा यो पत्र लेख्दै छु । सल्लाह पाऊँ ।
एक युवती, भक्तपुर
चिन्तित बनेकी युवती, प्रकृतिले नै कहिलेकाहीँ एउटा स्तन सानो वा ठूलो भएको हुन सक्छ । हाम्रो दाहिने खुट्टा पनि अलि ठूलो हुन्छ भन्ने भनाइ छ । तर त्यो थाहा पाइने गरी हुँदैन । फेरि तपाईंको कौतुहलता तथा भ्रमले पनि त्यस्तो महसुस भएको हुन सक्छ । उमेरले पनि पूर्णरूपमा तपाईंको स्तन विकास भैसक्ने बेला भएको छैन । बढ्ने क्रममा सानो–ठूलोजस्तो लागेको हुन पनि सक्छ । मेरो विचारमा यो ठूलो समस्याजस्तो लाग्दैन । नजानिदो पारामा भनेकाले केही त होला पनि । त्यसैले एक पटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुभएमा समस्याको निराकरण होला । यसै विषयलाई लिएर ठूलो चिन्ता लिनुचाहिँ पर्दैन ।
म ३१ वर्षीय पुरुष हुँ । म हाल एक आईएनजीओमा कार्यरत छु । सानैदेखि मेरो हात काँप्ने गथ्र्यो । अहिले मेरा लागि यो ठूलै समस्या भएको छ । कुनै कार्यक्रममा उपस्थित भएर मासमा बोल्दा वा लेख्दा एक्कासि मुटु ढक्क हुन्छ अनि हात मात्रै नभएर कहिले त शरीर नै काँप्न थाल्छ । यसले गर्दा मलाई अति नै हीनताबोध भएको छ । मैले गर्ने कामहरु प्रभावित भएका छन् । अहिलेसम्म कुनै डाक्टरसँग परामर्श गरेको छैन । समाधानको उपाय भए आभारी हुनेथिएँ ।
अर्जुन, ठेगाना गोप्य
अर्जुनजी, तपाईंको समस्या शारीरिकभन्दा पनि मनोवैज्ञानिक वा मानसिक तहको जस्तो लाग्छ । यस्तो समस्या खासगरी सानोमा हुर्कंदै गर्दा पर्ने मानसिक चोट वा झट्काले गर्दा विकास हुन्छ भन्ने विस्वास गरिन्छ । त्यस्तै कतिपयमा कुनै कारण नै नभए पनि डराउने, हीनताबोध हुने, हिम्मत नहुने, समस्यासँग जुध्न डर लाग्ने, समूहमा डर लाग्ने, आफूमा गल्ती होला कि भन्ने आभास भैरहने पनि हुन्छ । बच्चा अवस्थामै डर देखाउने, तर्साउने, हप्काउने–दप्काउने गरेर हुर्केको मान्छेमा कालान्तरमा डराउने, आत्मविश्वास नहुने, हिम्मत नआउने, मुटु काँप्ने, शरीर नै काँप्नेजस्ता लक्षण देखिन सक्छन् । तपाईंले भनेका लक्षणहरुको गहन मनन गर्दा तपाईंको समस्यालाई ‘सामाजिक डर ९क्यअष्ब िउजयदष्ब० भन्ने गरिन्छ । यसको उपचार भनेकै आत्मबल बढाउने, ढाढस दिने, आफूमा कुनै कमी नभएको भन्ने कुरामा ढुक्क हुने, योग–ध्यान गर्ने, नियमित व्यायाम गर्ने, सादा खाना खाने, सागसब्जी र फलफूल धेरै खाने आदि हुन् । त्यस्तै सकारात्मक सोचसम्बन्धी किताब पढ्ने, सिनेमा हेर्ने, एक्लै नबस्ने, साथी वा समूहमा समय गुजार्ने, अलि–अलि गरेर हिम्मत बढाउने, समस्यामा हात हाल्नेजस्ता तरिका पनि अवलम्बन गर्नुपर्ने हुन्छ । यसले पनि नभएमा मनोवैज्ञानिक एवम् औषधि उपचारतिर लाग्नुपर्छ । यसका लागि सम्बन्धित चिकित्सकसँग भेट्ने, परामर्श गर्ने, आवश्यक औषधि लिने गर्नुपर्ने हुन्छ । सकेसम्म आफ्नो उपचार आफैं गर्नुस् । हिम्मत नहार्नुस् र मानसिक, शारीरिक एवम् सामाजिकरुपमा स्वस्थ छु भन्ने महसुस गर्नुस् ।
म ४४ वर्षको भएँ भने मेरी श्रीमती ३१ वर्षकी भइन् । हामी दुवैको एउटै स्वास्थ्य समस्या छ । चिल्लो–पिरो खाएपछि मलद्वार चिलाउने गर्छ । यही समस्याले गर्दा चिल्लो–पिरो त कम गरौंला तर सधैँका लागि ठीक हुने उपचार भए बताइदिनुहुन अनुरोध गर्दछौं ।
गुरुङ दम्पती, हालः पोर्चुगल
गुरुङ दम्पती, मलद्वार चिलाउने कारण धेरै हुन्छन् । तपाईंहरुको हकमा चिल्लो–पिरो खाएमा भन्नुभयो, फेरि कम पनि गरौंला भन्नुभयो । त्यसैले चिल्लो–पिरो कम गर्नुस्, समस्या पनि कम भएर जाला । चुर्ना पर्यो भने पनि मलद्वार सकसकाएर चिलाउने गर्छ । चुर्नाले गुदद्वार क्षेत्रमै फूल पार्ने भएकाले चिलाउँछ । कन्याउँदा मान्छे आफैंले फेरि संक्रमण गराउने चक्र निरन्तर चलाउन पुग्छ र निराकरण हुँदैन । फेरि दुवै जनाको सामूहिक समस्या भएकोले एक–अर्कोमा सर्ने र सार्ने भैरहन्छ । यो साधारण जुका हो, तर हैरान पार्ने हुँदा यसको निराकरणतर्फ लागिहाल्नुपर्छ । दुवै जनाले तीन–तीन चक्की जुकाको लागि खाइने अल्बेन्डाजोल भन्ने ४०० मिग्राको चक्की किनेर दुई दिन बिराई खानुस् । सात–आठ दिनसम्म व्यक्तिगत स्वास्थ्यमा ध्यान दिँदै नियमित हात धुने, सहवास नगर्ने, चिलाएमा हात गुदद्वारतिर नलग्नेजस्ता साधारण कुरा ख्याल गर्नुस् । यदि चुर्नाको समस्या रहेछ भने निर्मूल भइहाल्छ ।
मेरो बुबा र हजुरबुबालाई डायबिटिज भएको थियो । म ३५ वर्षको भइसकें । तर अहिलेसम्मचाहिँ मलाई डायबिटिजको लक्षण छैन । पछि डायबिटिज होला कि भन्ने डर लागेको छ । सम्भावना कत्तिको छ र बच्नका लागि के गर्नुपर्ला ?
सागरप्रसाद पराजुली, शंखमूल, बानेश्वर, काठमाडौं
सागर
सागरजी, तपाईंका बुबाआमामध्ये एक जनालाई चिनीरोग थियो भने तपाईंलाई पनि सो रोग हुने सम्भावना २५ प्रतिशत हुन्छ । त्यस्तै धेरै मोटा, ४० वर्ष उमेर नाघेका, निष्क्रिय जीवनशैली हुनेहरु चिनीरोग लाग्ने सम्भावना उच्च भएका व्यक्तिहरु मानिन्छन् । त्यसैले अहिलेदेखि नै जे–जति सकिन्छ वा सम्भव छ त्यति कुरामा ध्यान पुर्याउनुस् । आत्तिने र डराउने नगर्नुस् । चिनीरोग लाग्ने सम्भावना अधिक भएकाले अलि बढी जिम्मेवार भई शरीरको तौल ठिक्क राख्नुस् । नियमित व्यायाम गर्ने गर्नुस् । मादक पदार्थ पिउने, धूमपान गर्नेजस्ता खराब लतबाट बच्नुस् । सन्तुलित तथा रेसादार र कम ऊर्जायुक्त खाना खाने गर्नुस् । रिस, आवेग वा तनावलाई सकेसम्म कम गर्नुस् । अनि समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह लिने गर्नुस् । यी कुराहरुमा ध्यान दिनुभयो भने तपाईंलाई चिनीरोग नहोला, या त ढिलो होला, या सहज वा कम खतरायुक्त होला । यो कुरा अध्ययनले देखाएर प्रमाणित भइसकेको छ ।


