Published On:Sunday, January 11, 2015
Posted by Unknown
टाढाबाट बग्दै, बग्दै आएर मिसिएका मोतिलाल र मिथिला
गफिँदा कतिबेला कफी आइसकेको थियो, कसैलाई याद भएन। अनि मिथिला आफैंले भनिन् ‘लौ कफी त चिसो भइसके छ त।’
कफी फिल्मको मध्यान्हजस्तो भयो। हामीले पनि मध्यान्हपछि विषय फेर्ने निर्णय गर्यौं।
कफीको पहिलो चुस्कीसँगै प्रश्न सोधियो ‘अहिले दिन कसरी बितिराछ त।’
‘अलि बढी जिम्मेवारी थपिएको जस्तो भा’छ’ वैवाहिक जीवनलाई उनले आफैं खोलिन् ‘त्यो जीवन जिउनु र केही पारिवारिक जिम्मेवारीमा बस्नु अलि फरक हुँदो रै’छ।’
जिन्दगीको ५०औँ वर्षमा मिथिलाले ‘वैवाहिक’ जीवन भोग्दैछिन्। तर, पनि उस्तै सरल र सिधा।
५० वर्षकी बेहुलीका बेहुला? ७५ टेक्दै गरेका मोतीलाल बोहरा। नेपाल प्रहरीका आइजीपी हुन्, बोहरा।
जीवनको यो उत्तराद्र्धमा विवाह किन त?
सोफामा अलि सजिलिदैँ मिथिलाले भनिन् ‘जुन बेला सबैले छोड्न थाल्छन्, शरीरले साथ दिन छोड्छ, आफ्नो पेशा छोड्ने बेला हुन्छ, जिन्दगीको साथी यही बेला चाहिन्छ।’
आर्मी अनि पुलिस क्लबमा कार्यक्रम गर्दा बोहरा र मिथिलाबीच धेरैपटक भेट भएको थियो।
सुदूर पश्चिमको अछाम जिल्लामा जन्मिएर भारतमा औपचारिक शिक्षा लिएका बोहरा २०२४ सालमा बझाङ जिल्लाबाट प्रहरीमा जागिरे भएका हुन्।
त्यो बेला उनी असइ थिए। एक वर्षमै उनी प्रहरी निरिक्षकमा बढुवा भए।
त्यसपछि उनी बढुवा हुँदै नेपाल प्रहरीको सबैभन्दा उच्च पद, प्रहरी महानिरिक्षक(आइजिपी)सम्म भए।
तीन छोरीसहित पाँच सन्तानका बाबु भइसकेका बोहराका जेठा छोरा गजेन्द्र बोहरा तत्कालिन युवाराज दीपेन्द्रका एडिसी थिए।
२०६९ फागुन ५ गते उनकी पत्नी कलाको मृत्यु भयो। त्यसपछि वानेश्वरको त्यो भव्य ‘बोहरावास’ बंगलामा उनी एक्लो भए।
यिनै बोहरासँग मिथिलाले गएको असारमा बिहे गरिन्।
बिहेमा केही धुमधाम भएन। केही आफन्त बोलाएर सामान्य बिहे गरिन्। धेरैलाई थाहा पनि भएन।
‘यहाँसम्म कि न मैले कुनै गहना लगाएँ, न रहर नै थियो’ बिहेको त्यो पल उनले सम्झिन्‘बिहे भन्दा पनि हामीले जीवनको उत्तराद्र्धमा साथी रोजेका हौँ।’
धेरै अन्र्तवार्तामा उनलाई सोधिने एउटा प्रश्न जहिल्यै सबले दोहोर्याउँथे ‘बिहे कहिले गर्नुहुन्छ?’
र, उनी पनि त्यही जवाफ दोहोर्याउँथिन् ‘बिहे नगर्नु त्यस्तो कुनै कथा छैन, गरिनँ, सक्किगो।’
अहिले बिहेपछिको कुराकानीमा दोहोरिने फेरि अर्को एउटै प्रश्न छ ‘५० वर्षको उमेरमा किन बिहे गरेको? अनि मोतीलाल बोहरासँग कस्तो सम्बन्ध थियो?’
फेरि दोहोरिने उत्तर एउटै बनाएकी छिन् उनले ‘त्यस्तो कुनै कथा छैन, प्रस्ताव आयो राम्रो लाग्यो गरेँ।’
नेपाली समाजमा यो उमेरको विवाह अस्वभाविक मानिनु स्वभाविकै हो। मिथिलालाई पनि लागेको थियो‘अब बिहे किन गर्ने हो र?’ मोतिलाल बोहराको प्रस्ताव आएपछि उनले धेरै सोचिन् पनि।
मिथिलालाई लाग्यो ‘हो, जीवन बिताउन अब साथी चाहिन्छ।’ त्यसपछि प्रस्तावलाई ‘ओके’ गरिन् बिवाह भो।
६ महिनाको बीचमा उनी पहिलोचोटी अघिल्लो शुक्रवारमात्रै श्रीमानसँग फिल्म हेर्न गएकी छिन्। ‘धेरैले सोध्छन् बिहेपछि कहाँ कहाँ जानुभो? के के गर्नुभो भनेर’ हाँस्दै सुनाउँदै थिइन् ‘म हिँजो भर्खर त पहिलोपल्ट फिल्म हेर्न गएँ।’
हामी शनिवार बिहान पुगेका थियौँ शुक्रबार उनीहरुले पीके हेरेका थिए।
कसरी यो ‘बुढ्यौली बिवाह’ भयो त? जिज्ञासा स्वभाविकै आउँछ। उनीहरूको सम्बन्धको बारेमा।
‘धेरैले सोधे, सोध्छन् पनि’ उनले केही गुनासोको भावमा भन्दै थिइन् ‘जति पनि मेरो इन्टरभ्यू लिनेहरू हुनुहुन्छ, उहाँहरू सबैले प्रश्न सोध्नुभन्दा अघि नै जवाफ यस्तो आएहुन्थ्यो भन्ने सोँच्नुहुन्छ’ थोरै हाँसो मिसाएर उनले भनिन् ‘ए बाबा! जवाफ त मैले दिने हो नि?’
बोहरासँगको आफ्नो बैवाहिक सम्बन्धलाई उनले दार्शनिक पारामा यतिमात्रै भनिन् ‘दुई नदी आखिर टाढाबाट बग्दै, बग्दै आएर मिसिने त एकै ठाउँमा हो नि!’
उनको निजी जीवनलाई हामीले धेरै खोतल्न पनि चाहेनौँ। जति भन्नुपर्ने थियो, उनले भनिसकेकी थिइन्।
हामीले बाध्य पनि पारेनौँ, त्यो नितान्त व्यक्तिगत कुरा थियो।
‘बोहरा वास’को मधुर उज्यालो छिरेको बैठक कोठाको भित्तामा धेरै तस्विरहरू झुन्डिएका छन्।
ती मध्ये एउटा तस्विर मोतीलालकी स्वर्गीय श्रीमती ‘कला’को छ। त्यसैको मुनि राखिएको एउटा सोफामा बसेर सेतोपाटीसँग भलाकुसारी गर्दै थिइन् मिथिला।
***
दश वर्षकी एउटी फुच्ची राजा विरेन्द्रका अघि नाच्दै थिइन्, ‘वाग्मतीको पानी छोएँ...’ भन्ने गीतमा।
ती फुच्ची थिइन्,‘मिथिला शर्मा।’
त्यो २०३१ सालको कुरा थियो। विरेन्द्रको जन्मोत्सव मनाउने कार्यक्रममा नाच्ने ‘पञ्चकन्या’मध्ये एउटी कन्या थिइन् मिथिला।
अहिले उनी ५० नाघिन् र, पनि जीवनमा नाचिरहेकी छिन्, नचाइरहेकी छिन्।
राजपाल हाडाका शब्दलाई गोपाल योञ्जनले संगीत भरिदिएका थिए, उनी नाच्ने गीतमा। राजाको अघि मिथिलाको त्यो पहिलो ‘स्टेज पर्फमेन्स’ थियो।
त्यही मञ्चले जीवनमा सफलताको ढोका खोल्यो। ५०सकेको जीवनमा उनीसँग नाच्ने दम भने आज पनि उत्तिकै छ, जति त्यो बेलाको जवानीमा थियो।
सुरुमा रहरले मञ्चमा नाच्न उक्लिएकी थिइन् मिथिला तर, पछि भने नाच नै उनको जीवन बन्यो।
‘सुरुमा रहर बन्यो, त्यसपछि आवश्यकता, अनि जीवनको आदतै भयो’ मिथिला सम्झिन्छिन् ‘हरेकको प्रोफेशन यसैगरी स्थापित हुने त हो नि।’
नाच्दा–नाच्दै उनको यात्रा रंगमञ्चमा उक्लियो। उनी नाटक खेल्न थालिन्। टेलिसिरियल हुँदै ठूला पर्दासम्मै देखिइन्।
२०४२ सालमा चेतन कार्कीले निर्देशन गरेको चलचित्र 'विश्वास'बाट उनी फिल्ममा पनि छिरिन्।
त्यसमा उनको भूमिका ३ मिनेटजतिको मात्रै थियो। त्यसमा पनि उनी ‘डान्स टिचर’कै भूमिकामा थिइन्।
‘त्यही तीन मिनेटले जीवनका २०औं वर्षसम्म डोर्यायो’ मिथिलालाई लाग्छ, ‘त्यही तीन मिनेटले मलाई यहाँसम्म ल्याएको छ।’
त्यहीयात्राका क्रममा उनले एकसयभन्दा बढी चलचित्र, तीन दर्जन टेलिसिरियल अनि १०वटा गिती नाटकमा अभिनय गरिसकेकी छिन्।
सुरुमा ‘नाच्ने केटी’का रुपमा चिनिने मिथिला त्यसपछि फिल्मक्षेत्रबाट पनि चिनिन थालिन्।
सुरुमा शिक्षकको भूमिकामा छिरिन्, त्यसपछिका सिनेमामा उनको भूमिका बदलियो, उनी आमा, अनि सासु वा दिदीको भूमिकाका देखिइन्।
‘तर, कहिल्यै नेगेटिभ भूमिका रोजिनँ’ मिथिला भन्छिन् ‘म कसैको आमा, भएँ, कसैको सासु भएँ, दिदी भएँ कतिको माता पनि भएँ।’
अहिलेसम्म एक सयभन्दा बढी सिनेमा खेलिसकेकी यी अभिनेत्री धेरैजसो ‘दुःखी’ पात्र बनिन्।
दशकअघि शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’बाट उनी धेरै चर्चामा आइन्।
छोराछोरीले दुःख दिएका आमाबुवाको भूमिकामा थिए, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ।
एघार अघिको त्यो भूमिकाले उनलाई अझै उचाइमा पुर्यायो।
‘मलाई चर्चा पनि चाहिएको थिएन तर, मान्छेहरूले त्यो फिल्मलाई धेरै मन पराए’ कारण उनीसँगै स्पष्टै छ ‘समाजको जिउँदो चित्र थियो त्यो, म त्यस्ती आमा थिएँ, जो यही समाजमा दुःख भोगिरहेका छन् छोराछोरीको खुसीका लागि।’
त्यो फिल्मको केही समयपछि उनी एउटा सिनेमा सुटिङका लागि चितवनको राप्ती नदी किनारामा थिइन्।
कुन्नी कताबाट हो, एउटी महिला आइन् मिथिलालाई गम्ल्याङ्ग अंगालो हालिन् अनि अनुहार सुम्सुम्याउँदै भनिन् ‘नानी तिमीले कति दुःख पाएको कठै बरा...!’
खुसी अनुभूत गराउने यस्ता ‘दुःख’का अनुभव कति छन् कति मिथिलाको जीवनमा।
‘वास्तविक दुःख ती महिलाले गरिरहेकी थिइन्, मैले त अभिनय मात्रै गरेकी थिएँ’ उनले भनिन् ‘तर, पनि उनले आफ्नो दुःख बिर्सिन् मैले फिल्ममा पाएको दुःख उनले उनको मुटु ठटाइरहेको थियो।’
हो, यस्तैमा जीवन देख्छिन् मिथिला।
‘जीवनको सुरुवातै नृत्यबाट भयो, त्यसैले नृत्य मेरो जीवन हो फिल्मले त्यसमा जिवन्तता भरेको छ’ उनी भन्छिन् ‘फेरि घुमिफिरी यी सब कुरा मेरै आफ्नो पनमा आइपुग्छन्।’
जीवनमा मिथिलाका कहिल्यै पनि अवार्ड जित्न अनि प्रतियोगिता जित्नका लागि नाचिनन्। त्यसैले त उनले नृत्यमा जीवन देख्छिन्। अहिलेसम्म उनले जीवन बाँच्नुको रहस्य यसमै देखेकी छिन्।
‘अरुका लागि के हो, थाहा छैन तर, मेरो लागि नाच त जीवन हो, जसलाई म बाँचिरहेकी छु।’
समाजमा ‘नाच्ने’हरूलाई कस्तो नजरले हेर्छन्? त्यो उनलाई पर्वाह भएन, कहिल्यै गरिनन् पनि।
उनी त्यस्तै समाजमा हुर्किन्, प्रकाश सायमी, गोपाल योञ्जन, नारायण गोपालजस्ता हस्तीहरूसँगै हुर्किन्, उनीहरूकै वरिपरि सिकिन्।
फिल्ममा पनि, चेतन कार्की, शिव रेग्मी, तुलसी घिमिरेजस्ता स्थापितहरूसँग जमिन्।
‘त्यसैले पनि म भाग्यमानी मान्छु आफूलाई, कहिल्यै कसैले यो मेरो पेशाप्रति त्यस्तो नराम्रो नजरले हेरेन, हेर्नै सकेन’ उनी भन्छिन् ‘तारादेवी अनि नारायण गोपालजस्ता हस्तीका शब्दमा मैले भाव खोज्थेँ, म उहाँहरूको भावमा नाचेँ।’
२०२१ सालको असोज ३० गते काठमाडौंको राम्रै खानदानमा जन्मिएकी हुन्, मिथिला।
स्कुल पढ्दादेखि नै नाच्न सुरु गरेकी उनलाई कहिल्यै परिवारले छेकेन। कसैले रोकेन। उनी नाचिरहिन्, नचाइरहिन्। सिकिरहिन्, सिकाइरहिन्।
नाच्दा नाच्दै उनले जीवन देखिन्, जीवन सिकिन्।
र त, भन्छिन्‘जीवन पनि नाच नै हो, कोही बनावटी सुरतालमा नाच्छन्, कोही आफ्नै तालमा, जीवनका लयमा सबै बाँचिरहेका हुन्छन्।’
नाच के हो?
‘नाच, एउटा भाषा हो त्यो विश्वव्यापी भाषा, मात्रै संगीतले यसलाई सुर दिन्छ’ नाचसँग अगाध सम्बन्ध गाँसिसकेकी यी नृत्यङ्गनालाई लाग्छ, ‘नृत्यले नै मलाई जीवन सिकएको छ, त्यसैले मैले पूरै जीवन नृत्यलाई दिएकी छु।’
अहिले पनि उनले सेन्ट मेरी स्कूल, अनि जेम्समा केटाकेटीलाई नाच्न सिकाइरहेकी छिन्।
‘म उनीहरू सिकाइरहकी छु, अनि उनीहरूबाट सिकिरहेकी छु पनि’ नाच्नेमात्रै होइन, एउटा असल शिक्षकको समेत छबि बनाइसकेकी मिथिला भन्छिन्‘अहिलेसम्म पनि म यसकारण केटाकेटी, किशोरकिशोरीहरू माझ यसकारण छु, कि म समयसँग टाढा भएकी छैन।’
फिल्मीयात्रा पनि त्यही शिक्षिकाको भूमिकाबाट सुरु भयो।
पछि उनलाई धेरै फिल्ममा ‘नाच्ने’ अफर पनि आयो। तर, उनले फिल्ममा नाच्ने भूमिका रोजिनन्।
‘नाच्नु त मेरो पेशा छँदैथियो, त्यो मेरो जीवनमै थियो तर फिल्ममा मैले अभिनयलाई नै रोजेँ’ उनी भन्छिन्‘मैले त्यसैमा जीवन्तता पाएँ।’
समय बदलिइसकेको छ। उनलाई ‘आइटम डान्स’का अफर पनि नआएका होइनन्। तर, पनि उनी अभिनयमै जम्न चाहिन्।
‘समय र मेरो सोंच उल्टो भयो, चलचित्रमा नृत्यभन्दा मैले अभिनयलाई महत्व दिएँ र त्यस्तै भूमिका पनि पाएँ’ अभिनयप्रतिको यो लगावले मिथिलालार्ई नेपाली सिनेमामा एउटा विशेष ‘चरित्र’कै रुपमा स्थापित गरिदियो।
‘समाजमा आम महिलाको भूमिकामा मलाई खोज्न थालियो, नेगेटिभ भूमिकामा म कहिल्यै खेलिनँ, त्यस्तो भूमिकामा मलाई खोजिदैनँथियो’ मिथिला भन्छिन् ‘यसअनुसार फिल्मको भूमिका मेरोअनुसार पनि थियो, म फिल्ममा पनि समाजका आम महिलाकै चित्रण गर्न चाहन्थेँ।’
फिल्ममा नाच्नका लागि दवाव यहाँसम्म आउँथ्यो कि कतिपय निर्देशकहरू नाच्ने भएमात्रै फिल्ममा भूमिका दिन्छु भन्थे।
कुनै बेला चलेका एकजना निर्देशकले त उनलाई भनिहाले पनि ‘तिमी नाच्नमै ठिक छ्यौ, अभिनय गर्न सक्दिनौ।’
तर, एक दिन त्यो पनि आयो जुन दिन मिथिला उनै निर्देशकको हातबाट ‘अवार्ड’ पनि लिइन्। एकछिन लामो हाँसेर उनले भनिन्‘त्यो पनि नाचेर होइन, अभिनय गरेर।’
जवानीका रंगीन दिनहरू उनले पूरै अभिनय अनि नाचमै लगाइन्।
एकसय भन्दा बढी फिल्ममा अभिनय गरेकी मिथिला धेरैजसो फिल्ममा सारै दुःख भोग्ने आमा, दिदी, बहिनीजस्ता भूमिकामा छिन्।
यतिधेरै फिल्ममा दुःखीको अभिनय गरेकी मिथिलालाई वास्ताविक जीवनमा दुःखले भने उतिसारो छोएन।
तर, इतिहास बनेको एउटा घटना ‘दरवार हत्याकाण्ड’ले भने उनलाई अझै पनि झस्काइरहन्छ।
‘थाहा छैन, त्यो घटनाले किनकिन आज पनि मुटु चस्स घोंचिरहन्छ’ त्यो दिन सम्झिदाँ अझै पनि उनी एकछिन मौन हुन्छिन् अनि भन्छिन् ‘त्यो घटना सुनेपछि अहिलेसम्म सम्झिदाँ पनि मुटु काप्छ, सायद म धेरै दुखेको त्यही बेला हो।’
राजा वीरेन्द्रकी छोरी श्रुती अनि कान्छा छोरा निराजनसँग मिथिला पनि नजिक थिइन्।
आर्मी क्लब, पुलिस क्लबको कार्यक्रम होस् वा राजदरवारको कुनै सांस्कृतिक कार्यक्रम मिथिला अनिवार्य थिइन्।‘त्यसैले पनि हुनसक्छ, ती बच्चा मेरै आँखा अगाडि हुर्किएका थिए’ उनले त्यो दुखाईलाई यसरी सम्झिन्छिन्।
***
केहीबेरमा हामी पनि बाहिरिदैँ थियौँ। पहेँलो कारमा बाहिँरिदै गरेकी कान्छी छोरीलाई हात हल्लाउँदै मोतिलालसँगै ढोकामा उभिएकी मिथिला भन्दै थिइन्‘छापिएपछि खबर पाम् है हामी पनि पढ्छौँ, बुझ्यो त?’
अनि मोतीलाल जिस्काउँदै थिए ‘मास्टरको बानी जे गरेपनि लास्टमा भन्ने उही हो, ‘बुझ्यौ त?’
तस्विरहरु: प्रकाश लामा\सेताेपाटी @ setopati.com


