Published On:Thursday, November 6, 2014
Posted by dadad

रक्सी खुवाएर आफ्नो नाममा जग्गा पास गर्ने शंकरेको चाला

२० कार्तिक, खोरखाबजार । गोरखा नगरपालिका एघारकिलोका शंकर धितालले गाउँलेहरूलाई रक्सी खुवाएर उनीहरूको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा पास गरेको खुलासा भएको छ ।

गोरखा नगरपालिका–९ छेपेटार, छोप्राक ९ चोरकाटेका ५० जनाभन्दा बढी स्थानीय बासिन्दाको नाउँमा रहेको जग्गा धितालले आफ्नो नाउँमा पास गरेको रहस्य खुलेको हो ।

२०६२ सालको माघमा धितालले जग्गा धनीहरूलाई रक्सी खुवाएर उनीहरूको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा ल्याएका हुन् ।  ‘छोराछोरी पढाउन ०६२ साल माघ २ गते दुई कित्ता जग्गा धितो राखेर ४० हजार ऋण लिएको थिएँ’– गोनपा–९ छेपेटारका रामकृष्ण कुमालले भने । ‘४० हजारको सावाँ र ब्याजसमेत फिर्ता गर्छु भन्दा धितालले मान्दै मानेनन् । हाम्रो जग्गा आफ्नो बनाइसकेछन् ।’– उनले भने ।

जग्गा बन्धक राख्न जिल्ला मालपोत कार्यालय जानुपर्छ भन्दै धितालले गाउँलेको जग्गा आफ्नो नाउँमा पास गरेका थिए ।  धितालले बन्धकमा राखेको दुई कित्तासहित अन्य पाँच कित्ता जग्गा पनि आफ्नो नाउँमा पास गरेको खुलेको कुमालले बताए । आफूले तिर्नुपर्नेभन्दा बढी रकम बराबरको जग्गा आफ्नो नाउँमा पास गरेपछि अहिले गाउँलेहरू जिल्ला प्रशासन कार्यालय गोरखामा न्याय माग्दै आएका छन् ।

सहायक प्रजिअ दीपेन्द्र पौडेललाई बुधबार निवेदन दिएर उनीहरूले धिताललाई कारबाही गर्न माग गरेका छन् । कुमालसँग ९ बर्षअघि ४० हजारमा लिएको दुई कित्ता जग्गा धितालले हालै २७ लाख रुपैंयाँमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।  धितालले छेपेटारकै महेन्द्र कुमाललाई पनि रक्सी खुवाएर फसाएको खुलेको छ ।
०६३ सालमा महेन्द्रले एक रोपनी ६ आना र एक रोपनी दुई पैसा क्षेत्रफलको जग्गा बन्धक राखेर धितालसँग ४० हजार रुपैयाँ ऋण लिएका थिए । तिर्न बाँकी रकमको सावा, ब्याज तिर्न जाँदा धितालले नमानेपछि आफ्नो अन्य जग्गा पनि धितालले आफ्नो नाउँमा बनाएको थाहा पाएको महेन्द्रको भनाइ छ ।

रामकृष्ण र महेन्द्र ठगिएको हल्ला फिजिँदै गएपछि अहिले छेपेटार र छोप्राक–९ चोरकाटेका गरी ५० जना किसानले आफूहरू पनि धितालबाट ठगिएको भन्दै कारबाहीको माग राख्दै सदरमुकाम आएका छन् । रासस

0 comments for "रक्सी खुवाएर आफ्नो नाममा जग्गा पास गर्ने शंकरेको चाला"

Leave a reply

    Popular Posts

    Blog Archive