Published On:Tuesday, January 13, 2015
Posted by Unknown
मेरी बास्यैका हनुमानेको काहानी
बदाम बेचे, खुर्सानी बेचे, होटलमा भाँडा माझ्ने काममा छिरेका बुद्दि दुईमहिनामै प्रमोशन खाएर होटलको हर्ताकर्तासम्म बने।
२०५६ सालमा एसएलसी दिएपछि ३२ वर्षीय बुद्दि तामाङ पैसा कमाउने सपना बोकेर काठमाडौं आए। सामान्य किसान परिवारमा काभ्रे जिल्लाको तिमाल डाँडाको कुडिवालमा जन्मेका उनले पैसा कमाउने बाटो थालनी ईटा बनाउने कामबाट सुरू गरे।
एकदिन ईटा पार्दापार्दै उनले सोचेछन, 'यसरी ईटा बनाएर मात्र जीन्दगी बन्दैन। अरू नै केही गर्नुपर्छ।' त्यसपछि जीन्दगीलाई एउटा लक्ष्यमा पुर्याउन उनले के सम्म गरेनन। बदाम बेचे, खुर्सानी बेचे, होटलमा भाँडा माझ्ने काममा छिरेका बुद्दि दुईमहिनामै प्रमोशन खाएर होटलको हर्ताकर्तासम्म बने। यी सारा काममा उनी लामो समय टिकेनन।
जीवनमा मान्छेले खोज्ने कुरा एउटै हो, खुसी। हरेक मान्छे मनमौजी गर्न पाँउदा जति खुसी हुन्छ त्यती अरू केहीले हुन्न। त्यसैले खुसी खोज्ने क्रममा मान्छे म के गर्दा खुसी हुन्छु भनेर आफूलाई परिक्षण गरिरहन्छ। खूसी पाउने आशामा।
कहिले उसको त्यो परिक्षण चाँडै एउटा टुगोंमा आइपुग्छ त कहिले त्यो जीवनको आखिर साससम्म जारी रहन्छ। उनी पनि त्यस्तै हुन्।
त्यसपछि उनी ट्रेकिङ लाइनमा छिरे, भरिया बने। करिब ६ महिना भरिया बनेपछि उनी जीवनलाई पुन:मूल्याङ्कन गर्दे थिए। हैन म सही बाटोमा त छु?
उनी सामाखुसीमा रहेका साथी प्रभातको टियूसन सेन्टरमा गइरहन्थे। त्यस्तैमा एक दिन उनलाई पुराना रगंकर्मी शंकर नारायण प्रजापतिले (जो हाल अमेरिका छन्) नाटक गर्ने हो भनेर सोधे? साथी प्रभातले पनि तिमी त स्कूलमा पनि नाटक गर्ने गर्थ्यौ। गर राम्रो हुन्छ भने पछि उनले नाटक गर्ने निर्णय।
त्यहीबाट आफ्नो जीवनले खास लक्ष्यतर्फको यात्रा सुरू गरेको उनको ठम्याइ छ। उनले विस्मृतिमा फर्किदै सम्झिए, मैले ६ कक्षामा हुँदा एउटा नाटक गरेको थिए। त्यसमा मैले 'च्यान्टे' नामक हाँस्य पात्रको अभिनय गरेको थिए। त्यो मान्छेले खुबै मन पराए। त्यही च्यान्टेको पात्र म तीन गाँऊमा परिचित भए, मेरो नामै 'च्यान्टे' भयो।'
शंकरले उनलाई डबलीका अध्यक्ष एवम रंगकर्मी पुष्कर गुरूङ्कोमा लगे। ईटा बनाउँदा बनाउँदै अन्यासै यसरी जीवन बन्दैन भनेर हिडेका उनले नाटकमा छिरेपछि भने जीवन बनाउने बाटो देखे। डबलीबाट उनले नेपालका ६ जिल्लाका ६३ ठाँऊमा नाटक देखाए। ६ जिल्लाको यात्राले उनलाई नाटकमा आजसम्म टिकाइराखेको छ।
त्यसो त बुद्दिले नाटकबाट पनि झन्डै टाप कसेका रहेछन्। डबली पुगेपछि उनी स्टाफ कलेज जावलाखेलमा प्रशिक्षणका लागि पुगेका उनले सपना प्रधान मल्लहरूबाट विषयगत ग्यान लिदैं रहेछन्। यहाँ उनलाई अंग्रेजीले तनाव दिएछ। उनले अंग्रेजीमा भनेको भुट्टिभाङ केही बुझेनछन्। तेस्रो दिन शंकर दाइलाई भनेछन्। 'दाई म नाटक गर्न सक्तिन।' शंकर दाईले ढाडस दिए 'रिहर्सल शुरू भएपछि सब ठीक हुन्छ,' उनले भने, 'नाटकको रिहर्सल सुरू भएपछि छोरो पड्कि त हालो।'
नाटकमै लाग्ने टुङ्गोमा त उनी पुगे तर पैसा छैन, कहाँ बस्ने पनि टुङ्गो भएन। पुष्करले उनलाई डबलीमा बस्ने व्यवस्था मिलाइदिए। त्यहाँ उनले बुझे पनि नबुझेपनि नेपाली भाषामा लेखिएका किताबहरू पढे।
'कति किताब पढिन्थ्यो मात्र, बुझ्दिनथेँ तर पढ्न चाँही जारी नै राखेँ। बालकृष्ण समले लेखेका नाटक एकपटक पढ्दा अलमल पर्थेँ। दोस्रो पटक पढेपछि अलिअलि बुझ्थेँ,' उनले भने।
डबलीबाट उनले फाटफुट सडक नाटक गरिरहे। यतिकैमा डबलीबाट नाटक गर्ने कुरा भयो। उनीहरूलाई हेनेरिक इब्सनको 'लेडी फ्रम द सि' नाटकको लागि राजन खतिवडा 'ट्रेनिङ' दिन आए। त्यस नाटकमा उनलाई राजन खतिवडाले बोलीमा समस्या भएको भनेपछि उनले त्यो नाटक गर्न पाएनन। केही निराश पनि भए तर उनले आफुलाई नाटकका प्राविधिक पाटोतीर ढल्काए।
नाटकमा राजन खतिवडाले नछाने पनि उनको जोसबाट भने आकर्षित भए। उनले अनुप बरालसँग डबलीको सहयोगमा थप प्रशिक्षण लिए। नाटक सिकेपछी उनले विधार्थीहरूको 'स्टुडेन्ट प्रोडक्सन'मा तयार गरोएको सरूभक्तको 'मलामी' नाटकमा ६५ वर्षे 'धर्मे बुढा'को भुमिका गरे जसबाट धेरै राम्रो तारिफ पाए।
एकदिन उनलाई बोलीमा समस्या देखाएर नाटक नराखेका राजनले 'चरणदास चोर' नाटक खेल्न बोलाए। उनले राजनसँग अड्को थापे। 'चरणदास'को रोल दिने भएमात्र। उनले धेर बेर अड्को थापेनन। उनले यस नाटकमा 'हब्लदार'को भूमिका गरे। उनी अहिले राजन घिमिरेको नाट्य समूह 'मण्डला'सँग आबद्द छन, एउटा खम्बाका रूपमा। मण्डाला नाटकघरमा लाइटिङको काम उनी आफै गर्छन्।
त्यसपछि उनले सुनकेशरी, डिग्री माइला, मितज्यू, लोरी, इब्सन ल्याब लागयतका नाटकहरूमा आफ्नो अभिनय देखाइसकेका छन। यति मात्र हैन उनले सिनेमामा पनि आफ्नो उपस्थिति जनाइसकेका छन। उनले साँघुरो, रेड मनसुन, टुल्के, तान्द्रो, वडा नम्वर ६ आदि सिनेमा खेलिसकेका छन। उनको पछिल्लो रिलिज 'टुल्के'मा निभाएको 'हनुमान' पात्रबाट उनले राम्रे तारिफ पाए।
हाल आएर उनको अभिनय यात्र टेलीभिजन तर्फ सोझिएको छ। उनी विगत आठ भागदेखि 'मेरी बास्सै'मा 'हुनुमाने'को चरित्रमा देखिएका छन्। उनी केही समय आगाडि आफन्तको बिहेमा गाँऊ गएका थिए। सबैले उनलाई 'हुनुमाने' भनेर घेरीहाले। यसबाट थप उर्जाशील बनेका उनी अब टेलिभिजनमा पनि आफूलाई निरन्तरता दिने बारेमा सोचिरहेका छन।
अर्को वर्षतीर घरबार बसाउने तरखरमा रहेका उनलाई आगामी योजना के हो? त भन्दा बुद्दिले यस्तो जवाफ दिए। 'हाल नाटकमा व्यवसायिरूपमा दौडाउनुपर्छ भनेर मण्डलामा बाँचिरहेको, संघर्ष गरिरहेको अवस्था छ। त्यसैले अझै सिक्ने र अझै अघि बढ्ने।'
नाटकले उनलाई लक्ष्य दियो। मनमा सन्तुष्टि दियो। सबैभन्दा धेरै उनलाई अनेक चरित्रहरू गर्दा जीवनमा केही स्वाद आएको अनुभव भयो। आफ्नो एउटा जीवनभित्र कयौ जीवन उतार्न पाँउदा उनलाई खुशी लाग्यो। तिमालको डाँडा झरेर काठमाडौंको खाल्डोमा जीवन सघर्षको डाँडो उक्लिरहेका उनीसँग सबैभन्दा ठूलो कुरा खुसी छ।@setopati.com


