Published On:Sunday, November 9, 2014
Posted by Tekman Shakya
गोरखाको लक्ष्मीबजारमा झडप, एक प्रहरीसहित दर्जन बढी घाइते
२३ कार्तिक, गोरखाबजार । गोरखाको लक्ष्मीबजारमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानसहित एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् ।
गोरखाका यातायात व्यवसायीले स्थानीय यात्रुलाई गाडीमा यात्रा गर्न नदिएको विरोधमा सडकमा बन्द गर्दै आएका स्थानीय बासिन्दा र प्रहरीबीच आज बिहान ११ः३० बजेदेखि पटक–पटक झडप भएको थियो ।
स्थानीय बासिन्दाले यातायात व्यवसायी र प्रशासनसँग वार्ता नगर्ने अडानसहित डेढ घन्टा सडक बन्द गरेपछि प्रहरीले सडक खुलाएको हो । बन्दकर्ताले ढुङ्गामुढा गरेपछि लाठी चलाउनुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले हानेको इँटाले लागेपछि प्रहरी जवान बमबहादुर थापा घाइते भएका छन् । उनको देब्रे कन्चटमा इँटा लागेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।
दोहोरो झडपमा परेर एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् । बन्दकर्ताले हानेको ढुङ्गाले ना४ख १४८६ नम्बरको यात्रुबाहक बसको अगाडिको शिशा फुटेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । गोरखा बजारबाट छुट्ने यात्रुबाहक बसहरुले कट्टेलचोक, ठिगुँरेस्वाँरा, लक्ष्मीबजार, टक्सार, बिरेनचोकका स्थानीय बासिन्दालाई यात्रा गर्न नदिएको बन्दकर्ताले बताउँदै आएका छन् । रासस



