Published On:Wednesday, November 5, 2014
Posted by dadad

लोकमानले किन दिनुपर्यो अर्थसमितिलाई स्पष्टिकरण ?

१९ कार्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारले कुनै विकास विरोधी कार्य अघि नबढाएको दाबी गरेका छन् ।

पछिल्ला कामकारबाहीलाई लिएर उठेका टीकाटिप्पणीलाई लिएर सभासदहरुले स्पष्टिकरण मागेपछि कार्कीले आयोगले विकास विरोधी नभई विकास सहयोगी काम गरिरहेको दाबी गरेका हुन् ।

व्यवस्थापिका–संसद्, अर्थ समितिको बुधबारको बैठकमा अख्तियार प्रमुख आयुक्त कार्कीले विकास निर्माण कार्यमा परेका बाधा व्यवधान हटाउन र अनियमिततालाई नियन्त्रण गर्न आयोग गम्भीर रहेको जिकिर गरे ।

आयोगका पछिल्ला कतिपय गतिविधिले क्षेत्राधिकारमाथि प्रश्न उब्जिएको तथा सार्वजनिक निजी साझेदारीमा अन्तर्राष्ट्रिय लगानीमा निर्माण प्रक्रिया थालिएका आयोजनामा हात हाल्दा विदेशी झस्किन गई ऊर्जाको विकासमा लगानी आकर्षण गर्ने बाटामा व्यवधान सिर्जना भएको भन्दै बैठकमा सभासदहरुले आपत्ति जनाएका थिए । जवाफमा कार्कीले देशमा व्याप्त भ्रष्टाचारजन्य क्रियाकलापको न्यूनीकरण गर्दै नागरिक हक र अधिकारको संरक्षण गर्न र सरकारी सेवा प्रवाहीकरणको सहज र सरल प्रत्याभूति दिलाउने कामलाई प्राथमिकतामा राखेर आयोगले काम गरिरहेको जानकारी दिए ।

बैठकमा कार्कीले भने, ‘कावेली जलविद्युत् आयोजनाले वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौताको काम पूरा गर्नुपर्ने सर्तअनुरुप काम नगरेकाले कारबाहीका लागि सरोकार भएको ऊर्जा मन्त्रालयलाई लेखी पठाएको मात्र हो, आयोजना रोक्न भनेर निर्देशन दिइएको होइन ।’

झोलामा खोला हालेर लामो समयसम्म आयोजना विकासमा अवरोध तुल्याउने जस्तो कार्यलाई निरुत्साहन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

0 comments for "लोकमानले किन दिनुपर्यो अर्थसमितिलाई स्पष्टिकरण ?"

Leave a reply

    Popular Posts

    Blog Archive