ओमन पुगेकी युवतीको उद्धार गर्न आग्रह

Posted by dadad | Thursday, October 30, 2014 | Posted in ,

त्रिशूली (नुवाकोट), १३ कात्तिक । घरेलु कामदारका रूपमा ओमन पुगेकी नुवाकोटकी एक युवतीलाई मालिकले यातना दिएको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेको छ ।  चारघरे गाविस–९ गौरीबेँसीकी २१ वर्षीया रिमा तामाङलाई काम गर्ने घरको मालिकले बन्दी बनाई यौनहिंसा गरी मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनको परिवारले उद्धार गरी सहयोग गर्न आग्रह गरेको हो । बुधबार विदुरमा आधिकारकर्मीहरूसँग छोरीको उद्धार गर्न पहलका लागि अनुरोध गर्न आएकी लक्ष्मीले फोनमा छोरीले रुँदै आफूलाई थुनेर राखेको, खाना खान नदिने, कुटपिट गर्ने गरेको भन्ने गरेको बताइन् ।  

“मालिक र मालिकको चारवटा छोराले यौन शोषण गरेको, नमाने मार्ने धम्की दिने गरेका छन्, हामीले तँलाई किनेर ल्याएको भन्दै कुटपिट गर्छन् भन्दै छोरी रुन्छे,” लक्ष्मीले भनिन्, “छोरीलाई पठाउने सुशीलालाई समाउन पुलिसले वास्ता गरेको छैन । आफू केही जान्दिनँ । छोरी मर्छे कि भन्ने पिर लाइरा’छ । हजुरहरूले बचाउन पहल गर्दिनुप¥यो ।” लक्ष्मीले रिमालाई विदेश पु¥याउने चारघरे गाविस–९ गौरीबेँसी माइती भई धादिङको धार्केमा घर भएकी सुशीला रिमाललाई झिकाएर कारबाही र छोरीको उद्धार गर्न आग्रह जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिएकी छिन् । रासस

डिभिजन ३ को उपाधि नेपाललाई

Posted by dadad | | Posted in ,

१३ कार्तिक, काठमाडौं । युगाण्डालाई २६ रनले पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग डिभिजन थ्री क्रिकेट प्रतियोगीताको उपाधि जित्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा रहेको किन्नारा एकेडेमीको क्रिकेट मैदानमा २ सय २४ रनको लक्षलाई युगान्डाले पुरा गर्न नसकेपछि नेपालले उपाधि चुमेको हो ।

 टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपाली टोली ४९ दशमलब ५ ओभरमा २ सय २३ रनमा समेटिएपछि युगाण्डाले  २ सय २४ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले ४४ ओभरमा १ बल खेल्दै १ सय ६१ रन बनाउदा अल आउट भयो । यो सँगै युगान्डासँग समुह चरणको पहिलो खेलको बदला नेपालले लिएको छ । सन् २०१३ मा पनि नेपालले बर्मुडालाई समुह चरणको हारको बदला अन्तिममा गएर लिएको थियो ।

नेपालका लागि सागर पुनले ६४, ज्ञानेन्द्र मल्ले ५६, नरेश बुढाएरले ५१ र पारस खडकाले १३ रन बनाए । अन्य सात जना खेलाडीहरु बिनोद भण्डारीले ९, आरिफ सेखले ८, सोमपाल कामी ७, महेबुब अलाम ६, बसन्त रेग्मी २ र भुवन कार्की र र शक्ति गौचनले दोहोरो रन नबनाई पोभीलीयन फर्केका थिए । नेपाली टोली शुक्रबार दिउसो १२ बजे स्वदेश फर्कने बताईएको छ ।

जब भयो बेला, तब भयो भट्टराईलाई अबेला

Posted by dadad | | Posted in ,

१३ कार्तिक, काठमाडौं । संविधानको विवाद विषयलाई समाधान गर्ने अन्तिम समय सकिन २ दिन मात्रै बाँकि रहँदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले छलफललाई तिब्रता दिएको छ ।
 
 विवादित विषयमा सहमती खोज्न भन्दै समिति सभापती बाबुराम भट्टराईले औपचारिक तथा अनौपचारिक छलफल गरिरहेका छन् । सभापति भट्टराईले विहीबार पनि विभिन्न राजनीतिक दलका नेताहरुसँग परामर्श गर्न भ्याए । तर भट्टराईको परामर्शले भने अन्तिम समयसम्ममा पनि सफलता हात पार्ने सम्भावना भने देखिएको छैन ।
विहानै सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग छलफ गरेका छन् । 
 
छलफलमा विवादित विषयलाई छिटो टुङ्गोमा पुर्याउने छोटो बाटो कसरी अपनाउन सकिन्छ भन्ने विषयमा अनौपचारिक छलफल भएको बुझिएको छ । समितिको मंगलबार बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षहरुसँग अनौपचारिक छलफल गर्ने र १४ गते औपचारिक बैठक बसेर अन्तिम निर्णय लिने निर्णय गरेको थियो । त्यही निर्णयस्वरुप समितिले छलफललाई निरन्तरता दिएको समिति सभापती भट्टराईले जानकारी दिनुभयो ।

छलफल पश्चात सभापति भट्टराईले भने,–‘उहाँहरुसँग संविधानका विवाद टुंग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषय र अर्को चाहीँ हामी आफैंले निर्धारित गरेको समयसीमा पटक पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ ।
 
 उहाँहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ ।’ यस्तै सभाति भट्टराईले अन्य पक्षहरुसँग पनि बिहीवार नै व्यक्तिगत र सामूहिक छलफल गर्ने बताईएको छ । समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत निरौला निलम्बित

Posted by dadad | | Posted in , , ,

१३ कार्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला निलम्बनमा परेका छन् । 

बोर्डको संचालक समितिको विहीबार विहान बसेको बैठकले कार्यकाराी अधिकृत निरौलालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यसअघि व्यवस्थापिका संसद अन्तर्गत लेखा समितिले बोर्डमा करोडौं रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गर्दै निरौलालाई निलम्वन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । 

करोडौं भ्रष्टाचारमा निरौलाको प्रत्यक्ष संलग्नता रहेको ठहर सहित समितिले पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निलम्वन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
निरौलाको निलम्वनसँगै निमित्त प्रमुख कार्यकारी अधिकृतमा नन्दिनी लाहे थापालाई नियुक्त गर्ने संचालक समितिले निर्णग गरेको छ । यस्तै समितिले सञ्चालक समिति सदस्यको जिम्मा अध्यागमन विभागका महानिर्देशकलाई दिएको छ ।

दाहसंस्कार गरेको तीन दिनपछि शव उत्खनन्

Posted by dadad | Wednesday, October 29, 2014 | Posted in

खोटाङ, १२ कात्तिक । दाहसंस्कार गरेको तीनदिनपछि खोटाङमा एक व्यक्तिको शव उत्खनन् गरिएको छ । आफ्नै श्रीमतीले खुकुरी प्रहार गरी हत्या गरेको खुलासा भएपछि सुङ्देल–४ का ४६ वर्षीय जीतमान राईको शव उत्खनन् गरिएको हो । घरायसी विवादमा राईका श्रीमती राधिका राईले आइतबार खुकुरी प्रहार गर्दा मृत्यु भएको पत्ता लागेपछि प्रहरीले बुधबार शव उत्खनन् गरेको हो । 

दाहसंस्कार गरिएको राईको शव उत्खनन्पछि जाँच गर्दा घाँटीमा खुकुरीको चोट देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिए । श्रीमानको हत्या गरेको खुलासा भएपछि प्रहरीले राधिकालाई आजै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी उनले आफैले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका श्रीमानलाई खुकुरी प्रहारगरी हत्या गरेपछि सोमबार बिहान आफैले मृत घोषणा गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार जीतमानको शव सोमबार दाहसंस्कार गरिएको थियो । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिने छ ।

श्रीलङ्कामा पहिरोबाट चौधको मृत्यु, १५० बेपत्ता

Posted by dadad | | Posted in

१२ कात्तिक, कोलोम्बो । मध्य श्रीलङ्कामा बुधबार  गएको भिषण पहिरोबाट १४ जना व्यक्तिको शव तानेर निकालिएको छ । भारी वर्षापछि आएको सो पहिरोमा परी अझै १५०  भन्दा बढी व्यक्ति हराइरहेका स्थानीय अधिकारीहरुले बुधबार  जानकारी दिएका छन् ।
बाडुउल्ला जिल्लाको हाल्डुम्मुल्लाह सहरको पहाडी इलाकामा सो पहिरो गएको बताइएको छ । सो पहिरो प्रभावित इलाकाबाट १४ व्यक्तिको शव बाहिर निकालिएको प्रहरी प्रवक्ता आजित रोहानाले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भएको छ ।
   
पहिरो प्रभावित सो स्थानमा उद्धारकार्य प्रहरी, सैनिक र प्रकोप व्यवस्थापन केन्द्रको सहयोगमा जारी रहेको बताइएको छ ।
सो गाउँमा कम्तीमा ५०० घरपरिवारको बसोवास रहेको जनाइएको छ । ती मध्ये महिला बालबालिकासमेत गरी कम्तीमा ५ सय व्यक्ति फसेका प्रहरीको आशङ्का रहेको छ । सिन्ह्वा  

तीस भन्दा बढी सिरियाली सैनिकको मृत्यु

Posted by dadad | | Posted in

१२ कार्तिक, दमासकस । सिरियाको होमस् प्रान्तको प्रमुख ग्यास केन्द्रनजिकै इस्लामिक स्टेटका लडाकू र सैनिकबीच भएको झडपमा ३० भन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको छ । होमस् प्रान्तको पूर्वी भागमा पर्ने अल साएर ग्यास केन्द्रनजिकै सिरियाली सैनिक र आइएस  लडाकूबीच भएको सो झडपमा ३० भन्दा बढी सैनिकको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमान राइट्स समूहले जनाएको छ ।

होम प्रान्तमा अवस्थित ‘द अल साएर नैचरल  ग्यास फिल्ड’ आईएस लडाकूको गत १७ जुलाईमा कब्जामा लिएका थियो । तर सिरियाली सैनिकले २६ जुलाई  मा सो  क्षेत्र पुनः नियन्त्रणमा लिएको बताइएको छ । सिन्ह्वा

    Popular Posts