Published On:Wednesday, November 5, 2014
Posted by dadad
पार्टी अध्यक्षलाई कार्यालयमै कालोमोसो
राजविराज, २० कात्तिक । मधेसी जनअधिकार फोरम नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवलाई बुधवार राजविराजस्थित पार्टी कार्यालयमै कार्यकर्ताहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका छन् । उक्त समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरुसमेत जलाइदिएको छ ।
अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेको र सप्तरीका ६ वटै क्षेत्रीय समिति तथा विभिन्न भ्रातृ संगठनहरु विघटन गरेको भन्दै आक्रोशित युवा कार्यकर्ताले कालोमोसो दल्नुका साथै हातपात गरेका हुन् ।
सप्तरी कार्यसमितिका उपाध्यक्ष रहेका यादवलाई केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको जिम्मेवारी दिएदेखि नै विवाद बढ्दै गएको पार्टी स्रोतले बताएको छ ।
पार्टीका सप्तरी सचिव उमेश यादवले बुधवार विज्ञप्तिमार्फत पार्टी कार्यालयमा आक्रमणसँगै अध्यक्षमाथि दुर्व्यवहार भएको जनाएका छन् । ‘जिल्लास्थित विभिन्न मधेसवादी दलहरुको सहभागितामा गठन भएको संघीय गणतान्त्रिक मोर्चाको बैठक बोलाएको थियो,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘सोही बखत युवा तथा विद्यार्थीहरुको समूह पार्टी कार्यालय प्रवेश गरी आगजनी र तोडफोड गर्यो ।’ उक्त क्रममा पार्टीका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।


