Published On:Tuesday, November 11, 2014
Posted by dadad
विद्युतमा लगानीको अवसर सिर्जना भयोः प्रधानमन्त्री
२६ कार्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालार भारतका राजमार्ग तथा सडक यातायात मन्त्री नितिन गड्करीबीच नेपाल¬—भारत सम्बन्ध, पूर्वाधार विकासमा भारतको अनुभव, नेपालको संविधान निर्माण प्रक्रिया र नेपाल—भारत विकास सहयोग लगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच बुधबार भएको भएको शिष्टाचार भेटमा प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपालले निर्धारित समयमा प्रजातान्त्रिक संविधान पाउने विश्वास व्यक्त गरे ।
जवाफमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले प्रजातन्त्रको स्थापना, पुनःस्थापना र यसको संस्थागत विकासको सङ्घर्षमा नै छ दशक समय बिताउन परेकाले विकासतर्फ ध्यानै दिन नपाएको बताए । विकासको निमित्त प्रजातान्त्रिक वातावरणमा शान्ति र स्थायित्व आवश्यक भएको र गत बर्ष सम्पन्न संविधानसभाको निर्वाचनपछि त्यस्तो अनुकूल अवस्था सिर्जना भएको उनले बताए ।
संविधान निर्माणलाई प्राथमिकतामा राख्दा राख्दै पनि वर्तमान सरकार मुलुकमा शान्ति र स्थायित्व कायम गरी विकासको वातावरण बनाउन सफल भएको प्रधानमन्त्री कोईरालाले बताए । नेपाल र भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौता र भारतीय कम्पनी जिएमआरसँग भएको परियोजना विकास सम्झौताको उल्लेख गर्दै प्रधानमन्त्री कोईरालाले विद्युत्मा लगानीको अवसर सिर्जना भएको बताए ।
भेटमा भारतीय मन्त्री गड्करीले निर्धारित समयमा संविधान निर्माण गर्ने सफलता मिलोस् भन्दै नेपालको शान्ति, स्थायित्व र विकासमा भारतको सदा सहयोग र समर्थन रहने शुभकामना व्यक्त गरे ।



