दोहोरो जागिर खाने प्राध्यापक अख्तियारको फन्दामा
२६ कार्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखराका उपप्राध्यापक रञ्जितकुमार गुप्ताविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
एउटै समयमा दुई ठाउँमा नोकरीमा बहाल रहेको देखिएपछि अख्तियारले गुप्ताविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । अनुसन्धानका क्रममा गुप्ताले त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गर्नु अघि नै मणिपाल शिक्षण अस्पताल पोखरामा काम गरिरहेको भेटिएकाले पश्चिमाञ्चल क्याम्पसबाट २०५४ माघ १० गतेदेखि २०७१ सालसम्म प्राप्त गरेको तलब, भत्ता, सञ्चयकोष, दशैँ खर्च, अन्य भत्ताबापतको जम्मा रु ३४ लाख ६६ हजार २१४ दोहोरो भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३)द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले गुप्तालाई रु ३४ लाख ६६ हजार २१४ बिगो कायम गरी सोही ऐनको दफा ८(३) अनुरुप हदैसम्मको सजाय माग दाबी गर्दै आरोपपत्र दायर गरिएको हो ।


