Published On:Saturday, November 15, 2014
Posted by dadad

चाहेर पनि कर तिर्ने वातावरण बनेनः अर्थविदहरु

काठमाडौं, कार्तिक २९ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले सरकारले कर नीतिमा आमूल परिवर्तन गर्नुपर्ने स्पष्ट पारेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले कर दिवसको अवसर पारेर आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालले कर नीति खुकुलो र समयसापेक्ष नभएका कारण अहिले कर तिर्नेहरुले पनि चाहेर पनि कर तिर्ने वातावरण नबनेको गुनासो राखे । 

नेपालले कर तिर्ने जनसंख्या अत्यन्तै कम भएको उल्लेख गर्दै यसले नागरिकको आर्थिक विकासमा समेत असर परेको गुनासो गरे । उनले भने–‘‘ करको दायरा अत्यन्तै फराकिलो पार्नुपर्छ , सरकार कमजोर छ भनेर हेपेर कर नतिर्ने प्रवृत्ति हावी भएको छ, यो तत्काल अन्त्य हुनुपर्छ । नागरिकले आर्जनबाट योगदान गर्न सिक्नुपर्छ ।’

साक्षात्कारमा नेपालले नेपालमा अहिले करिव ११ लाख मानिस करको दायरामा रहेको जानकारी दिए । नेपालले रेमिट्यान्सबाट करिब दुई खर्ब साठी अर्व राष्ट्रिय अर्थतन्त्रमा योगदान भएको उल्लेख गर्दै यसको तुलनामा आन्तरिक राजश्वको योगदान कम रहेको बताए । उनले कर तिर्न सबै पेशागत संघ संस्था तथा व्यक्तिलाई सुसुचित र सचेत गराउनुपर्ने समेत सुझाव दिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले देशको विकास निर्माणमा राजश्वको ठूलो भूमिका रहने भन्दै आफूहरुले आगामी मंसिर १ गतेदेखि साताव्यापी रुपमा ‘‘करदाता मैत्री कर प्रशासन, समृद्धि र सूशासन हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय कर दिवस मनाउने जानकारी दिए ।

शर्माले शासकीय परिपाटी र विकास निर्माणलाई टेवा पु¥याउन पनि कर तिर्नुपर्ने धारणा राखेका छन् । उनले आन्तरिक स्रोत जति बढी भयो त्यति नै मुलुक समृद्धि हुने पनि बताए । शर्माले भने–सामाजिक न्यायको सिद्धान्त अनुसार पनि हुनेखानेबाट लिने र हुँदा खानेलाई दिनको लागि कर उठाईन्छ ।

उनले सुशासन कायम गर्न, कर चुहावटलाई नियन्त्रण गर्न, करको दायारा फराकिलो बनाउन, कर प्रशासनलाई चुस्तदुरुस्त बनाउन, आन्तरिक क्षमता अभिवृद्धि गर्न र संकलित पुँजीको न्यायपुर्ण एवम उत्पादनशील क्षेत्रमा खर्च गर्नपनि कर प्रणालीलाई सशक्त बनाउनुपर्ने बताए ।

उनले भने–‘ त्यसको लागि हामीले नीतिगत सुधार, साँगठनिक सुधार, व्यवस्थापकीय सुधार एवम पर्यावरणीय अनुकुलतामा अभिवृद्धि गर्नुपर्छ ।’’ उनले सूचना तथा प्रविधिको विकासलाई आत्मासाथ गर्दै कर प्रणालीमा पनि ई–ट्याक्सको विकासलाई प्रर्वद्धन गर्नुपर्ने बताए । शर्माले सबै जनतामा समान पहुँच पु¥याउन पनि साँगठनिक संरचनाहरुको व्यवस्था गर्नुपर्ने औल्याँए ।

पूर्व अर्थसचिव एवम स्टाफ कलेजका कार्यकारी निर्देशक युवराज भुषालले करको दायरा अत्यन्तै साँगुरो भएको भन्दै फराकिलो बनाउनुपर्ने धारणा राखेका छन् । भुषालले आफ्नो शान्ति, सूरक्षा कायम गर्न र देश विकास गर्नपनि कर तिर्नुपर्ने बताए । कर तिर्ने प्रणाली सहज र सुलभ  बनाउनुपर्ने समेत उनले सुझाव दिएका छन् ।
उनले भने–‘ करको दर निचार्ने गरी र बनाउनु हुँदैन । यसलाई प्रगातिशील बनउनुपर्छ । त्यसैले हामीले यसपटकको चालु आर्थिक वर्षमा समेत प्यान फोर अल भन्ने योजना लागु गरेका छौं ।’’ भुषालले कर तिरौं सम्मानित होऔं भन्दै सवैलाई करको दायरमा आउन समेत आह्वान गरेका छन् । उनले कर प्रणालीलाई व्यवस्थित् बनाउन पनि ई–ट्याक्स प्रणालीमा जोड दिनुपर्ने सुझाव दिए साथै साताव्यापी हुने कर दिवसलाई सफल बनाउन लागिपर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले कर दिवस सफल पार्नका लागि नीजी क्षेत्रको दायित्ववोध हुनुपर्ने स्पष्ट पारेका छन् । पाण्डेले पनि नेपालमा करिब १२ लाख व्यवसायीहरु करको दायरामा रहेको उल्लेख गर्दै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताए । उद्योग बाणिज्य महासंघ कर दिसको सप्ताहलाई सफल बनाउन पूर्ण रुपमा प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका छन् ।

पाण्डेले कर तिर्नेलाई राज्यले सम्मान गर्नुपर्ने समेत धारणा राखेका छन् । उनले अहिले पनि करिव ९५ प्रतिशत मानिसहरु घर बहाल करको दायरामा नआएको टिप्पणी गरेका छन् । उनले भने–‘कर विना देशको विकास असम्भव छ, त्यसैले सबैलाई करको दायरामा ल्याएर समृद्धि तर्फ अघि बढ्नुपर्छ ।’’ उनले कर तिर्ने व्यवस्था बैकिङ् प्रणाली अनुसार नै गरिनुपर्ने बताए ।

0 comments for "चाहेर पनि कर तिर्ने वातावरण बनेनः अर्थविदहरु"

Leave a reply

    Popular Posts

    Blog Archive