Published On:Thursday, November 13, 2014
Posted by dadad
बेइमानीको विरुद्धमा शान्तिपूर्ण विद्रोह सुरुः प्रचण्ड
२७ कार्तिक, प्युठान । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेइमानीको विरुद्धमा शान्तिपूर्ण विद्रोहको तयारी सुरु भएको जानकारी दिएका छन् । नेपाली काँग्रेस र नेकपा एमाले संविधान नबनाउने खेलमा लागेको भन्दै उनले आन्दोलनको विकल्प नरहेको बताए ।
रोल्पा भ्रमण सकेर राजधानी फर्कने क्रममा प्युठानको जस्पुरमा अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले १२ बुँदे समझदारीबाट पछि फर्किन र बेइमानी गर्न थालेकोे आरोप लगाए । काँग्रेस र एमालेले सहमतिहरु उल्ट्याउने गरी अगाडि बढ्ने लक्षण देखाउन थालेको भन्दै उहाँले शान्तिपूर्ण विद्रोहमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।
आफूले बुधबार बिहान रोल्पाबाट प्रधानमन्त्री सुशील कोइरालासँग फोनमा कुराकानी गरेको र सहमतिका लागि तत्काल काठमाडौँ आउन प्रधानमन्त्रीले आग्रह गरेका कारण भ्रमण दिन छोट्टाएको भन्दै प्रचण्डले प्रधानमन्त्री कोइरालासँग सहमति गर्न आफू तयार रहेको बताए । काँग्रेस र एमालेले प्रस्तुत गरेका सात प्रदेशको प्रस्ताव फिर्ता हुनै पर्ने माग गर्दै उनले प्रदेश, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति खोज्न हदैसम्मको लचकता अपनाउने बताए ।
भोलि बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन र नयाँ सहमति कायम गर्न प्रयास गर्न आफू हतारमा राजधानी फर्कन लागेको उनको भनाई छ । यसैबीच, अध्यक्ष दाहालले नेकपा–माओवादीमा देखिएको विवाद सामान्य भएको भन्दै आफ्नै पुरानो घरमा फर्किए विवाद समाधान हुने धारणा व्यक्त गरे ।



