Published On:Wednesday, November 12, 2014
Posted by dadad

कठोर शाही दमनका बाबजुद स्थापित नेवि सङ्घ गणतन्त्रको यात्रासम्म

वासुदेव पौडेल,
काठमाडौँ, २६ कात्तिक । पञ्चायती कठोर शाही शासनका क्रममा जन्मेको नेपाल विद्यार्थी सङ्घ विभिन्न आरोह–अवरोह पार गर्दै एघारौँ महाधिवेशनको सङ्घारमा आइपुग्दा यसको आगामी नेतृत्व कसको हातमा जाने भन्ने कुरा यतिखेर चर्चाको विषय बनेको छ ।

तत्कालीन कठोर राजनीतिक दमनका बाबजुत २०२७ सालमा स्थापित नेपाल विद्यार्थी सङ्घले आफ्ना महाधिवेशनका विभिन्न दशौँ शृङ्खला पार गरी एघारौँ शृङ्खलाको तयारीमा लागेको छ ।

नेपालमा जयतु संस्कृतम्, छात्र सङ्घको गठनलगायतका पृष्ठभूमिबाट अघि बढेको नेपालको विद्यार्थी आन्दोलन सुरुमा शैक्षिक मुद्दाभन्दा पनि राजनीतिक मुद्दामा नै केन्द्रित देखिए पनि पछिल्लो समयमा विद्यार्थी आन्दोलन विद्यार्थीका हकहितमा नै बढी केन्द्रित देखिएको छ ।

नेपालमा नेपाल विद्यार्थी सङ्घको स्थापनाको पृष्ठभूमिमा धेरै कुरा प्रत्यक्ष सम्बन्धित भए पनि नवोदित प्रजातन्त्रलाई २०१७ सालमा राजा महेन्द्रले कु गरेसंगै विस्तारै विद्यार्थी वर्गमा आएको चेतनाका जगमा नेपाल विद्यार्थी सङ्घको स्थापना भएको हो ।

सङ्घ स्थापना हुनुमा तत्कालीन अवस्थामा राजनीतिक कारण नै प्रमुख रुपमा देखिए पनि नेपालको राजनीतिक क्रान्तिले विभिन्न चरणका मोडहरु पार गर्दै वर्तमानमा आउँदा यो शैक्षिक आन्दोलनको एउटा प्रवाहका रुपमा स्थापित भएको छ ।

पछिल्लो समयमा नेपालको शैक्षिक आन्दोलन एवम् समग्र विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्दै आएको सङ्घका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंहको भनाइ छ ।

सङ्घको भूमिका वर्तमानमा परिवर्तित भएको बताउँदै उहाँले अबको विद्यार्थी आन्दोलन शैक्षिक गुणस्तरीयता, बेरोजगारीको अन्त्य एवम् आर्थिक क्रान्तितर्फ देशलाई रुपान्तरणका लागि केन्द्रित हुनुपर्छ– सिंहले भन्नुभयो ।

विसं २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको औपचारिक रुपमा स्थापना भएको हो । सङ्घको प्रथम महाधिवेशनका रुपमा स्थापित उक्त महाधिवेशनमा विपिन कोइराला र मार्शलजुलुम शाक्यबीच प्रतिस्पर्धा भएकोमा अध्यक्षमा विपिन कोइराला चयन हुनुभएको थियो ।

सङ्घको दोस्रो महाधिवेशन २०२८ भदौ २८–२९ र असोज १ गते चितवनमा भएको थियो । व्यापक शाही सरकारी दमनका बाबजुद भएको उक्त महाधिवेशनले शेरबहादुर देउवालाई निर्विरोध अध्यक्ष चयन गरेको थियो ।

सङ्घको तेस्रो महाधिवेशन अघि बलबहादुर केसीको अध्यक्षतामा एक तदर्थ समिति गठन भएको पाइन्छ । उक्त समितिले तेस्रो महाधिवेशन २०३६ फागुन २९ र ३० मा जनकपुरमा सम्पन्न ग¥यो । महाधिवेशनले अध्यक्षमा विमलेन्द्र निधिलाई निर्वाचित ग¥यो । निधि नेतृत्वको समितिले २०३९ जेठ २३ मा राजीनामा दिए पछि असार १० गते ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा अन्तरिम समिति गठन गरियो ।

सङ्घको चौथो महाधिवेशन २०४० साल असोज १४, १५ र १६ गते काठमाडौँमा सम्पन्न भयो । व्यापक सरकारी दमनकाबीच भएको उक्त महाधिवेशनले नेतृत्व छान्ने जिम्मा नेपाली काँग्रेसका शीर्ष नेताहरुलाई दिएकोमा महाधिवेशनको छ महिना पछि चैत ३ गते बलबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरियो ।

सङ्घको पाँचौँ महाधिवेशन २०४४ साल पुस ६, ७ र ८ गते काठामाडौँमा भएकोमा उक्त महाधिवेशनले बालकृष्ण खाँडको नेतृत्वमा कार्यसमिति चयन ग¥यो । सङ्घको छैटौँ महाधिवेशन २०४८ असोज १६, १७ र १८ गते बुटवलमा सम्पन्न भई एनपी सावदलाई नेतृत्वमा चयन गरेको थियो ।

सङ्घको सातौँ महाधिवेशन २०५२ सालमा काठमाडौँमा भएकोमा त्यसले सहजरुपमा नेतृत्व चयन गर्न नसकेपछि नेताहरुबाट धनराज गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो ।

विराटनगरमा सर्वसम्मत रुपमा घोषणा गरिएको केन्द्रीय समितिको अध्यक्षमा गोविन्द भट्टराई रहनुभएको थियो । नेपाली काँग्रेसले २०५२ पुस २१ गते केन्द्रीय समिति विघटन गरी गोविन्द भट्टराईको अध्यक्षतामा एक वर्षमा महाधिवेशन सम्पन्न गर्नेगरी तदर्थ समिति गठन ग¥यो ।

सङ्घको आठौँ महाधिवेशन २०५७ सालमा चितवनमा सम्पन्न भएकोमा उक्त महाधिवेशनले विश्वप्रकाश शर्मालाई अध्यक्षमा चयन ग¥यो । सङ्घको नवौँ महाधिवेशन २०५९ माघमा वीरगन्जमा सम्पन्न भयो ।  महाधिवेशनले गुरुराज घिमिरेलाई निर्वाचित ग¥यो । केन्द्रीय उपाध्यक्षसहितका विभिन्न पदमा मनोनयनमा तीव्र विवाद भएपछि उक्त कार्यसमितिको छ महिना कार्य अवधि बाँकी हुँदै नेपाली काँग्रेसले समिति विघटन गरी केशव सिंहको अध्यक्षतामा छ महिनामा महाधिवेशन गराउने गरी तदर्थ समिति गठन गरियो ।

समितिले एक वर्ष पछि २०६२ साउन ३०, ३१ र ३२ गते पोखरामा महाधिवेशन गर्ने गरी तयारीमा जुटे पनि उद्घाटन भएको महाधिवेशन प्रतिनिधि विवादका कारण सम्पन्न हुन सकेन । नेपाली काँग्रेसले अनिश्चितकालका लागि महाधिवेशन स्थगित ग¥यो । अध्यक्ष सिंहले तीन महिना पछि राजीनामा दिए पछि महेन्द्रकुमार शर्माको अध्यक्षतामा नयाँ समिति गठन गरियो ।

शर्मा अध्यक्षताको समितिले दशौँ महाधिवेशन चितवनको भरतपुरमा सम्पन्न ग¥यो । महाधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित ग¥यो । महाधिवेशन पश्चात् उक्त समिति पनि अन्तरिक विवादमा जेलिएकोमा २०६७ मा प्रदीप पौडेलले राजीनामा दिएपछि नेवि सङ्घ नौ महिना नेतृत्वविहीन हुन पुग्यो ।

 एघाराँ महाधिवेशन सम्पन्न गर्न भनी रञ्जित कर्णको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन गरिएकोमा उक्त समितिले पटक–पटक महाधिवेशनका लागि मिति तोके पनि पाँच÷पाँच पटकको स्थगनपछि आगामी कात्तिक ३१ र मङ्सिर १ र २ मा महाधिवेशन गर्ने गरी अन्तिम तयारीमा नेवि सङ्घ लागेको छ ।

हालै बसेको पार्टी पदाधिकारीको बैठकले तोकिएकै समयमा महाधिवेशन गर्ने निर्णय गरेसँगै विभिन्न जिल्ला तथा क्याम्पसका विवाद मिलाउन विद्यार्थी नेता तथा पार्टी नेताहरु यतिखेर सक्रिय बनेर लागिपरेका छन् ।

वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गमा हुने भनिएको उद्घाटन समारोह उपत्यकाभित्र भइरहेको सार्क शिखर सम्मेलनको तयारीले गर्दा त्रिभुवन विश्वविद्यालयको गान्धी भवनस्थित मैदानमा हुने भएको छ ।

अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासीहरुले आ–आफ्नो सम्पर्क कार्यालय खोली विद्यार्थी कार्यकर्ता, पूर्व विद्यार्थी नेता तथा पार्टीका नेतालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । नेवि सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षमा बाबुराम कोइराला, मनोजमणि आचार्य, जितजंग बस्नेत, केदार कार्की, नैनसिंह महर, क्षितिज भण्डारी, कुन्दन काफ्ले, दीपक भट्टराई, दीपक अधिकारी, नीलकण्ठ रिजाल, शुभराम बस्नेत, भीम श्रीषलगायतको नाम चर्चामा देखिएको छ ।

पटक–पटक महाधिवेशनको मिति तोकिने र स्थगित हुने क्रमले गर्दा नेपाल विद्यार्थी सङ्घको नेतृत्व विकास प्रक्रिया अवरुद्ध भएको विद्यार्थी नेताहरुको गुनासो रहेको छ । नेपाल विद्यार्थी सङ्घलाई जीवन्त राख्न र नेतृत्व विकास प्रक्रियालाई अघि बढाउन सङ्घको आसन्न महाधिवेशनलाई प्रजातान्त्रिक प्रक्रियाद्वारा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिनुपर्र्ने आसन्न महाधिवेशनका महामन्त्री पदका उम्मेदवार आनन्दराज त्रिपाठीले बताउनुभयो ।

लामो समयसम्म महाधिवेशन हुन नसक्दा नेपाल विद्यार्थी सङ्घको आगामी नेतृत्वका लागि आकांक्षीहरुको सङ्ख्या धेरै भएको विश्वविद्यलाय क्याम्पस त्रिवि कीर्तिपुरका विद्यार्थी नेता रवि खनालले बताउनुभयो ।

यसअघि उद्घाटनको मितिभन्दा दुई दिनअघि मात्र भएको महाधिवेशनको स्थगनले जिल्ला जिल्लाबाट आएका प्रतिनिधि मारमा परेको बताउने महाधिवेशनका लागि तनहुँ जिल्लाका प्रतिनिधि प्रकाश भट्टराई यस पटकको महाधिवेशन कुनै पनि बहानामा रोकिन नहुने विचार व्यक्त गर्नुहुन्छ । रासस

0 comments for "कठोर शाही दमनका बाबजुद स्थापित नेवि सङ्घ गणतन्त्रको यात्रासम्म "

Leave a reply

    Popular Posts

    Blog Archive