Published On:Wednesday, November 12, 2014
Posted by dadad

क्यान्सर अस्पतालमा लागेको ताला खुल्यो

२६ कार्तिक, चितवन । कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएपछि चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा लगाईएको ताला खुलेको छ । कर्मचारीले एक महिनाअघि विभिन्न माग सहित अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा लगाएको थियो ।

अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्ने, राजनीति गर्न नहुनेलगायत आठबुँदे माग राखेर उनीहरु गएको असोज २९ गतेदेखि आन्दोलित थिए । चरणबद्ध आन्दोलन घोषणा गर्दै कर्मचारीले धर्ना र तालाबन्दी गर्दै आएका थिए । 

राति अबेर भएको वार्तामा सहमति निस्किएपछि सबै आन्दोलन फिर्ता भएको काँग्रेस निकट स्वास्थ्यकर्मी सङ्घका प्रतिनिधि रमेश शर्मा पौडेलले बताए । 

सरकारले बढाएको तलब भत्ता अस्पतालले कर्मचारीलाई दिनुपर्ने, अस्पतालका कर्मचारी र कार्यकारी निर्देशकबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, प्रशासनमा सरुवा भएका प्राविधिक सेवाका कर्मचारीको सरुवा खारेज गर्नुपर्नेसहितका माग कर्मचारीले राखेका थिए ।

कर्मचारीको सेवासुविधा बढाउने, कर्मचारीको व्यवस्थापन गर्ने, बिग्रिएका उपकरण मर्मत गरी सञ्चालन गर्नेलगायत २१ बुँदे सहमति भएको पौडेलले जानकारी दिए । अस्पतालमा पटक–पटक विभिन्न खालका आन्दोलन हुँदा बिरामी तथा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।

0 comments for "क्यान्सर अस्पतालमा लागेको ताला खुल्यो "

Leave a reply

    Popular Posts

    Blog Archive