Published On:Thursday, October 23, 2014
Posted by dadad
वासिंगटन पोष्टका पूर्वसम्पादकको निधन
९३ वर्षीय ब्राडलीकै सम्पादकत्वमा निस्कने उक्त पत्रिकामा राष्ट्रपति रिचार्ड निक्सनसमेत संलग्न रहेको ‘वाटरगेट’ कान्ड प्रकाशित भएपछि सन् १९७४ मा निक्सनले राष्ट्रपति पद गुमाउनु परेको थियो ।
अमेरिकी इतिहासमा आजका दिनसम्म निक्सन नै त्यस्ता राष्ट्रपति हुन्, जसले यस्तो कान्डमा फसेर राजीनामा गर्नुपरेको छ । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको ३७औं शक्तिशाली राष्ट्रपति बनेका उनले ‘वाटरगेट’ कान्डमा संलग्नता पुष्टिसँगै संसदबाट महाभियोग लाग्ने करिब निश्चित देखेपछि राजीनामा गरेका थिए ।
ब्राडलीको निधन उनकै घरमा प्राकृतिक कारणले भएको पत्रिकाले जनाएको छ । ब्राडलीले आफू सम्पादक रहेको अवधि सन् १९६८ देखि ९१ मा वासिंगटन पोष्टलाई अमेरिकाको एक सम्मानित पत्रिकाका रुपमा स्थापित गरेका थिए ।
सन् २०१३ मा उनलाई अमेरिकाकै सम्मानित नागरिक सम्मान ‘प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम’ प्रदान गरिएको थियो । ब्राडली उनको समयका सबैभन्दा चर्चित र राम्रा सम्पादक रहेको र त्यही समयमा पोष्टले ठूलो फड्को मारेको टिप्पणी राष्ट्रपति बराक ओबामादेखि विभिन्न व्यक्तिहरुले गरेका छन् । (एजेन्सी)


