Published On:Saturday, November 1, 2014
Posted by dadad

भोटेकोसीसँग सेयर माग्दै स्थानीय आन्दोलित

१५ कार्तिक, चौतारा । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनासँग ३५ प्रतिशत सेयर तथा प्रभावित गाविसले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै सिन्धुपाल्चोकको तातोपानीका स्थानीय आन्दोलित भएका छन् ।

पन्ध्र वर्षदेखि स्थानीयलाई शोषण गरेको भन्दै जिल्लावासीले सेयर पाउनुपर्ने माग गर्दै पाँच राजनीतिक दलका नेता तथा कार्यकर्ताले कार्यक्रममार्फत माग पूरा नभए विद्युत् उत्पादन गर्न नदिने बताएका छन् । विरोध सभामा राप्रपाका सभासद् रमेशकुमार लामा, नेकपा (एमाले)का केन्द्रीय सदस्य अरुण नेपाल, एमाओवादीका सरल सहयात्रीलगायतले चिलिमेले सेयर दिएर रसुवावासीलाई धनी तुल्याएको प्रसङ्ग उल्लेख गर्दै भोटेकोसीले पनि सेयर दिनुको विकल्प नभएकोमा जोड दिए ।

आयोजनासँग सेयर तथा प्रभावित गाविसले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै तीन महिना अघि नेपाली काँग्रेस, एमाले, एमाओवादी, राप्रपा र नेकपा–माओवादीले माथिल्लो भोटेकोसी सरोकार सङ्घर्ष समिति गठन गरेका थिए । त्यसमा राप्रपा नेपाललगायत दलले पनि ऐक्यबद्धता जनाएका छन् ।

तर त्यसपछि  काँग्रेसले भने १० प्रतिशतमात्र सेयर दिए हुने धारणा राखेपछि काँग्रेसको विरोध सुरु भएको छ । अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता भएको ३६ मेगावाट क्षमताको सो आयोजनाबाट २०५८ साल(सन् २००२) देखि विद्युत् उत्पादन हुँदै आएको छ । अमेरिकी हार्जा कम्पनी र पाण्डा इनर्जीले निर्माण गरेको सो आयोजनामा ३६ मेगावाटको मात्र स्वीकृति पाएको थियो ।

0 comments for "भोटेकोसीसँग सेयर माग्दै स्थानीय आन्दोलित"

Leave a reply

    Popular Posts

    Blog Archive