Published On:Thursday, November 13, 2014
Posted by dadad

देखाउने दाँतका भित्री दुःख

वैकुण्ठ ढकाल
दाजुभाइबीच सबै कुराको अंशबन्डा भयो । गोठमा पालिएको एउटा बकेर्नु गाईको भागबन्डाको विषयमा लामो छलफल भयो । दुवैले आफूले दाबी नछाडेपछि बाठोटाठो दाइले जुक्ति लगायो । 

गाईको अगाडिको भाग भाइलाई लिन राजी गरायो, पछाडिको भाग उसले लिने भयो । दाजुले गरेको तर्क थियो, भाइ तिमी सानै छौ गाईको गू, मूतमा किन फस्छौ, त्यो सबै म व्यहोर्छु । दाइको तर्कले भाइ पग्लियो ।

 सहमतिअनुसार भाइले गाईको अगाडिको भाग रोजेकाले घाँस, पानी कँुडो गर्नुपर्ने भयो । केही समयमै भाइको कामले गाई मोटायो, गाईको दूध–दहीबाट दाइ पनि मोटायो । दाइले गाईको दही दूधबाट आफूलाई बलियो बनाउँदै लग्यो, गोबर र गहुँतले बालीनाली पनि सप्रँदै गयो । भाइ दिनदिनै टाक्सिँदै गयो । मल नभएपछि खेतीबाली पनि राम्रो हुने कुरै भएन । हो, अहिलेसम्म पनि ठुल्दाइहरूले सान्भाइहरूलाई गर्ने व्यवहार यस्तै छ । 

भारतले नेपाललाई गर्ने व्यवहार, अमेरिकाले अन्य राष्ट्रलाई गर्ने व्यवहार, हुने खानेले हुँदा खानेलाई गर्ने व्यवहार, नेताले जनतालाई, व्यापारीले उत्पादक र उपभोक्तालाई गर्ने व्यवहार यस्तै हुन् । नेपालीले बडो महŒव दिएर मनाउने चाड दसँै–तिहारको अवसरमा अहिले सबैजसो व्यापारीले, ठूला उत्पादनगृहले उपहारका नाममा उपभोक्तालाई घाँस कटाउने र दूध आफूले खाने काम गरिरहेका छन् । 

यो मामलामा दूरसञ्चार सेवाप्रदायक संस्था एनसेन सबैभन्दा अगाडि छ । विज्ञापन हेर्दा, सुन्दा र पढ्दा अब नेपालीले दसैँ, तिहार, छठलगायत चाडपर्व मनाउन केही गर्नै पर्दैन, सबै उसैले  टारिदिन्छ । तर, यथार्थमा त्यस्तो हुँदैन, त्यसका पछाडि रामकहानी धेरै छन् । व्यापारीले उपभोक्ताको आँखामा सानो पट्टि बाँधेर ठगिरहेछन् । आँखा छोपिएका उपभोक्ताको आँखा खोल्दा समय धेरै गइसकेको हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघले बेलामौकामा महोत्सव गर्ने गरेको छ । 

माउ संघको सिको गरेर जिल्ला संघले पनि बेलामौकामा महोत्सव गरेका हुन्छन्, विभिन्न समितिले पनि महोत्सव गरिरहेका हुन्छन् । मेरो गृहनगर मकवानपुरको सुन्दर नगरी थाहा नगरपालिकामा पनि भदौ २६ देखि असोज ४ सम्म ‘थाहा महोत्सव’ भयो । आयोजकका साथीहरूले मेला भव्य रूपमा सफल भएको दाबी गरिरहँदा पहिलोपटक आयोजित महोत्सव पहिलाजस्तै थियो । के–के तारतम्य नमिलेको । राजनीतिको सामान्य जानकारलाई रूपचन्द्र विष्टले चलाएको ‘थाहा’ आन्दोलनबारे केही भन्नै परेन । भूगोलको विषयमा जानकारी राख्नेहरूका लागि पालुङ, दामन र बज्रबाराही गाविस मिलेर बनेको नयाँ नगर थाहा नगरबारे स्पष्ट नै छ । 

ऐतिहासिक महत्व र प्राकृतिक सुन्दरताको वर्णन पनि गरिसाध्य छैन । सबै कुराले भरिपूर्ण भए पनि कस्तुरीले आफ्नो बिनाको महत्व थाहा नपाएजस्तो अनि हनुमानले आफ्नो शक्ति थाहा नपाएजस्तै भयो, महोत्सवको उपादेयता । काठमाडौंसहित मुख्य–मुख्य सहरमा हुने महोत्सवबाट भिन्न रहने, पहिलोपटक आयोजना गरिएको थाहा महोत्सव । कृषि, पर्यटनको प्रवर्धन भनिए पनि त्यसो हुन सकेन । सहरका सामान लगेर गाउँमा पसल थाप्ने र कृषकको पैसा टाठाबाठाको हातमा पार्ने काम मात्रै भयो ।

न कृषकको न कृषि उपजको, न त पर्यटनकै प्रवद्र्धन भयो । महोत्सव आयोजना भइरहेका बेला मौसम र अन्य अनुकूलताको कुरा गर्दा आयोजकका एक मित्रले भने–यहाँका मानिससँग यही बेला पैसा हुन्छ, त्यही भएर महोत्सवका लागि यही समय सबैभन्दा उपयुक्त हो । वणिज स्वभावका मित्रसँग थप कुराकानीको औचित्य के रह्यो र ? जब महोत्सवको सार्थकता आयोजना क्षेत्रका मानिसले प्रशस्त पैसा कमाउने हुनुपथ्र्यो, आफ्नो उत्पादन र सीप बेचेर, त्यसो हुन नसके प्रदर्शन गरेर भए पनि स्थानीयले आर्थिकोपार्जन गर्न सक्नुपथ्र्यो । 

तर, आयोजकको योजना र सोचाइ स्थानीयको हित प्रतिकूल थियो । बारीको नास्पाति, खेतको काउली, मूला, गाजर, गुन्द्रुक बेचेर थैलीभरि पैसा गाउँ भित्र्याउनुपर्नेमा डोकोभरि पैसा लिएर थैलीभरि सामान बोकेर महोत्सव क्षेत्रवासी घर फर्किरहेको दृश्य टीठलाग्दो देखिन्थ्यो । मोही लगेर बेच्नुपर्ने महोत्सवमा सहरबाट लगिएको आइसक्रिम, कोक खानुले कसलाई फाइदा भयो ? आयोजकले एकपटक आफैँलाई प्रश्न गर्नुपथ्र्यो कि ? मनोरञ्जनको केही स्टल, लत्ताकपडाको केही, शृंगारका साधनको केही स्टल, खानाको परिकारको केही स्टल राख्ने अनि केही थान कलाकार लगेर चिच्याउन र गोडा उफार्न लगाउने नेपालमा भइरहेका महोत्सवको तौरतरिका यही हो, थाहा महोत्सवमा पनि भएको यत्ति हो ।

 गायकले गायनमा फिटिक्कै मिहिनेत नगर्ने, दर्शकबाट तालीको भीख माग्ने, पुरुष हास्यकलाकारले घटिया शब्दमा महिलाको लवाइखुवाइको उछित्तो काढ्ने, महिलाले पुरुषलाई होच्याउने ! महोत्सवको असली रूप यस्तै देखिँदै आएको छ । यस्तो माहोलले स्थानीयले के सिक्ने ? स्थानीय प्रतिभाले अग्रजबाट ज्ञान, अनुभव सिक्ने अवसर र अन्तरक्रिया गर्न सक्ने स्थिति बन्न सक्नुपथ्र्यो । त्यो माहोल महोत्सवमा बन्न सकेको छैन, कलाकारसँग नारिएर केही तस्बिर खिचाएर फेसबुके ‘नायक’ बन्न खोजेर केही लछारपाटो लाग्नेवाला छैन । आयोजकको पनि आफ्नै बाध्यता छ, त्यो नबुझ्ने कुरा पनि भएन । 

व्यापारीलाई स्टल बेच्न पाए महोत्सव आयोजना सहज होला । व्यापारीले घुमाइफिराई आयोजना क्षेत्रका बासिन्दाबाटै असुल्ने हो । स्थानीय बजारभन्दा महोत्सवमा महँगोमा सामान किन्नुको अर्थ पनि के रह्यो ? आयातित र विलासिताको सामानमा स्थानीयको पैसा स्वाहा पार्न किन गर्नु महोत्सव ? पहिलोपटक महोत्सव गरेका आयोजकलाई अर्कोपटक राम्रो गर्न यहाँ महोत्सवको कमीकमजोरी औँल्याइएको हो । नेपाली चाडपर्वमा धनी छन्, गोजीमा धन नभए पनि चाडपर्वमा खर्च गर्नै पर्ने मानसिकता छ ।

 त्यहीँनेर व्यापारीले प्रहार गर्छन्, पैसा सोहर्छन् । तर, महोत्सवले व्यापारीलाई स्थानीय उत्पादकसामु उभ्याएर वा उपभोक्ताकै मूल्यमा सामान किन्न लगाउन सक्नुपर्छ । स्थानीयले डोकोभरिको सामानको पोल्टाभरि रूपैयाँ हाल्न सक्ने हुनुपर्छ । आयातभन्दा निर्यातको ग्राफ अग्लो भए महोत्सव सफल भएको ठानिनुपर्र्छ । स्थानीयको पसिनाको सम्मान र मूल्य पो महोत्सवको गहना हो ।
(लेखक नेपाल एफएम नेटवर्कसँग आबद्ध छन् ।)

0 comments for "देखाउने दाँतका भित्री दुःख"

Leave a reply

    Popular Posts

    Blog Archive